फुटबल खेलहरूको राजा हो यो त सबैलाई थाहा नै छ तर विश्वमा फुटबल खेल फरक संरचना र स्वरूपमा पनि खेलिन्छ भन्ने ज्ञात भने सायद सबैलाई नहुन सक्छ । हामीले प्रायः एक टिममा एघार–एघार जना खेलाडी सामेल फुटबल हेर्छौं तर पाँच–पाँच जनाबीच खेलिने फुटबल फाइभ ए साइड फुटसल पनि लोकप्रिय छ ।
नेपाल पनि यो निकै लोकप्रिय छ । फुटसल अहिले खेलाडीको मात्र होइन बच्चा, युवा, महिला अझ प्रौढहरूको पनि रोजाइ बनेको छ । अझ अहिले धेरै स्कुलले आफ्नै प्राङ्गणमा फुटसल मैदान बनाएका छन् सायद तिमीहरूमध्ये कसैको स्कुलमा पनि फुटसल छ होला । अहिले स्कुल स्तरमा नै धेरै फुटसल प्रतियोगिता हुने गर्दछ । काठमाडौँजस्ता सहरमा खेल्ने मैदानको अभाव छ । त्यसैले अहिले खोलिएका फुटसल मैदान फुटबल क्रेजीका लागि ठूलो प्लाटफर्म बनेको छ ।
आज फुटसलबारे तिमीहरूलाई जानकारी दिन खोज्ने छौँ । यसमा प्रत्येक टोलीमा पाँच खेलाडी रहन्छन् । इन्डोर मैदानमा खेलिन्छ । फिलिङ र नन फिलिङ दुई प्रकारका मैदान हुन्छन् । मैदानको लम्बाइ ४० मिटर र चौडाइ २० मिटरको हुन्छ ( हामीकहाँ भने प्रायः २५ मिटर लम्बाइदेखि १६ मिटर चौडाइसम्मको फुटसल मैदान रहेका छन्) । फुटसल मैदानमा उचाइले खासै महìव राख्दैछ । बल पनि साधारणभन्दा भारी र कम आकारको हुन्छ । फुटसलमा ४ नम्बरको बल खेलाइन्छ ।
अहिले त नेपालका सहरी इलाकामा फुटसलको क्रेज थामी नसक्नु छ । प्रत्येक एक/दुई किलोमिटरमा अहिले फुटसल मैदान देख्न सकिन्छ । त्यसैले नेपालमा फुटसल खेल्नेको जमात ठूलै छ । नेपालमा फुटसल प्रतियोगिता पनि अनगिन्ती हुन थालेका छन् । क्लब स्तरका मात्र होइन विद्यालय, कर्पोरेट, महिला, भेटरान फुटसल प्रतियोगिता निरन्तर भइरहेका छन् । यी प्रतियोगिताले नेपालमा छोटो समयमा नै फुटसलका धेरै खेलाडी उत्पादन भएका छन् ।
अहिले त नेपालमा राष्ट्रिय फुटसल टिम पनि छ । नेपालले हरेक वर्ष एएफसी फुटसल एसियन कप छनोटमा भाग लिने गर्दछ । नेपाली फुटसल टिमले आफ्नो छाप पनि छोडेको छ तर पनि यस्ता ठूला फुटसल प्रतियोगितामा नेपाल अहिले पनि सिकारु नै छ ।
फुटसलले एसियाली प्रतियोगितासम्मको यात्रा तय गरे पनि यो खेल अहिले पनि एक मनोरञ्जन र व्यवसायकै रूपमा फस्टाएको छ । सामाजिक सञ्जालले गर्दा पनि अहिले फुटसलको लोकप्रियता ह्वात्तै बढेको छ । हरेक फुटसल मैदानले आफ्नो जानकारी र गतिविधि इन्टरनेटमा राखेका हुन्छन् । यसले गर्दा उनीहरूलाई विज्ञापन गर्न पैसा तिर्नुपर्दैन । प्रायःले फेसबुकमा सूचना राखेर त्यसलाई सेयर गरेर आफ्नो मार्केटिङ गरेका हुन्छन् ।
अब यसको इतिहासबारे अलि जानौँ है । ब्राजिल र उरुग्वेबाट सन् ४० को दशकमा फुटसलको विकास भएको मानिन्छ । बाह्रै महिना खेल्ने सक्ने इन्डोर खेल फुटसल त्यसपछि लोकप्रिय बन्दै गयो र यसको विश्व च्याम्पियनसिप तथा अन्य प्रतियोगिता हुन थाले । नेपालमा करिब एक दशकअघि पहिलो पटक ठमेलस्थित जिएहलमा पहिलो पटक फुटसल मैदान खुलेको हो । अहिले त काठमाडौँ र नेपालका ठूला सहरमा छ्यासछ्यास्ती फुटसल मैदान भेट्टाइन्छ ।
काठमाडौँजस्ता सहरका टोलटोलमा कम्तीमा एउटा फुटसल मैदान भएको पाइन्छ ।
फुटसलका केही फरक नियम
एक समयमा दुई प्रतिस्पर्धी समूहबीच खेलिने यस खेलमा पाँच/पाँच जना खेलाडी हुन्छन् । तीमध्ये एक जना गोलरक्षकको भूमिकामा रहन्छन् । खेलाडी परिवर्तन फिफाको नियमअनुसार नै हुने गर्दछ । प्रशिक्षक अथवा टिम प्रबन्धकले पहिले नै रेफ्रीलाई सूचना दिनुपर्दछ । तब मात्र खेलाडी मैदान पस्न पाउँछ । एक पटक स्थानापन्न भइसकेको खेलाडी पुनः मैदानमा छिर्न पाउँछ । यसमा रातो कार्ड देखाएर खेलाडीलाई आउट गर्ने नियम छैन तर रेफ्रीले खेलाडीलाई केही समयका लागि खेलबाट अलग्याउन सक्छ ।
प्रायः फुटबलमा फ्रिकिक दुई प्रकारका हुन्छन् । ‘डाइरेक्ट’ र ‘इन्डाइरेक्ट’ फ्रिकिक । यसमा डाइरेक्ट फ्रिकिक हुँदैन । फ्रिकिकमा बललाई सिधै गोलपोस्टमा प्रहार गर्न सकिँदैन । गोल गर्नका लागि दोस्रो खेलाडीले पनि बल छोएको हुनुपर्छ । पेनाल्टीमा भने सिधै प्रहार गर्न सकिन्छ । यस खेलमा अफसाइड हुँदैन ।
फुटसलमा निर्धारित समय २०/२० मिनेटको हुन्छ । निर्धारित समय बराबरीमा सकिएमा पाँच/पाँच मिनेटको अतिरिक्त समय थप गरिन्छ । सो समयमा पनि खेल बराबर भएमा पेनाल्टी सुटआउटमा जितहारको निर्णय गरिन्छ । बल निर्धारित घेराभन्दा बाहिर गएमा थ्रो हुँदैन । खुट्टाले नै बल सञ्चालन गर्नुपर्ने हुन्छ ।