• १५ कात्तिक २०८१, बिहिबार

मुस्कुराइरहेको नाम्चे

blog

भित्ता कोपेर बनाएका घरहरू । घरको झ्यालबाटै हिमाल मुस्कुराइरहेको देखिने मनमोहक र रोमाञ्चक दृश्य । सबै घरमा प्रकृतिसँग मिल्ने हरियो रङको छाना । ढुङ्गा छापिएको सिनित्त गोरेटो बाटो । पानीले घुमाइरहेका माने र नयाँ नयाँ छोर्तेन । देख्दै अद्वितीय मनमोहक र आनन्दको अनुभूति हुन्छ । यो हो, सगरमाथाको प्रवेशद्वारअन्तर्गतको नाम्चे बजार । बजार देख्दा मन प्रफुल्ल हुन्छ ।आल्हादित बनाउँछ । यो हो चारैतिर अग्ला अग्ला हिमालले घेरिएर फेदीमा चिटिक्क परेका सुन्दर बस्ती । मनोरम वातावरणले लिएर जो कोहीलाई पनि स्वागत गर्दै बसेको सोलुखुम्बुको नाम्चे बजार । 

बाटोभरि रङ्गीचङ्गी कपडाका बौद्ध परम्पराको ध्वजापताका र ठाउँठाउँमा ढुङ्गामा कुँदेर राखिएका माने, बुद्धका मूर्ति र अभिलेखले जसलाई पनि एकैछिन भए पनि शान्ति र सद्भावप्रति उत्प्रेरित गर्छ । आरोहणको मौसमका बेला नाम्चे भएर सगरमाथा आरोहण गर्न हिँडेका पर्वतारोही देख्दा बेहुली लिएर फर्केको जन्ती जस्तै देखिन्छ । 


यहाँ आउने पदयात्री र आरोहीलाई शेर्पा जातिको संस्कृतिले उस्तै आकर्षण थपेको छ । वर्षौंपिच्छे यहाँ आयोजना हुने ल्होसार, डुम्जी र माणिरुम्डु पर्व पर्यटकका लागि थप पर्यटकीय प्रोडक्ट बनेको छ । त्यही हेर्न पनि कतिपय पर्यटक विदेशीबाट लाखौँ खर्च गरी यहाँ बर्सेनि आउने गरेको राष्ट्रिय सभा सदस्य सोनाम गेल्जेन शेर्माले बताए । नाम्चेमा तराई र पहाडमा बस्नेहरू हिमाली क्षेत्रमा पाइने चौँरीगाई र याक देख्न पाउँदा अझ रमाउने उनले बताए ।

खुम्बु क्षेत्रमा एभरेस्ट डेका दिन मे २९ तारिखमा गरिने ओलम्पिक स्ट्यान्डर्डको ४२ किमि लामो म्याराथन दौड र ६० किमि लामो अल्ट्रा म्याराथनले पनि नाम्चेको पर्यटकीय आकर्षण बढाएको छ । जुन सगरमाथा बेस क्याम्पबाट सुरु भई नाम्चे आएर सकिन्छ । ‘विश्वमै सबैभन्दा अग्लो ठाउँमा हुने दौडले संसारकै ध्यान तानेको छ’ । नेपालका पर्यटन इलमी विक्रम पाँडे काजीले भने, “यो साहसिक दौडमा भाग लिन बर्सेनि दुई सयभन्दा बढी विदेशी आफै नाम्चे पुग्छन् ।” यो दौडले पनि एक महिना पर्यटकीय सिजन बढाएको छ ।


समुद्र सतहदेखि तीन हजार चार सय ४० मिटर उचाइमा नाम्चे पर्छ । त्यहाँबाट नाकै ठोक्किने उकालो चढेपछि तीन हजार सात सय ९० मिटर अग्लो ठाउँ खुम्जुङ उपत्यका पुगिन्छ । सगरमाथा र गोक्यो आरोहणमा जानका लागि नाम्चे मुख्य बिसौनी हो । समुद्र सतहबाट जति जति माथि छिचोलिन्छौँ, उति उति आनन्दको छुट्टै अनुभूति पाइन्छ । 

शेर्पाको ऐतिहासिक आतिथ्यताको परम्पराले सबैलाई लोभ्याउँछ । यहाँको शेर्पा समुदायले आफ्नो परम्परालाई यथावत् राख्दै आधुनिकतासँग राम्रो सामञ्जस्यता मिलाएर आफैँमा नयाँ आयाम थपेका छन् । बजार उस्तै सफा छ । बिजुली तार असरल्ल छैन् । भूमिगत वायरिङ छ । सफा घोरेटो बाटो छ । घर निर्माणमा नियम पालना गरिएको छ । लोडसेडिङ छैन् । नाम्चे युवा र आमा समूह पनि फोहोरमैला व्यवस्थापन र सरसफाइको काम गर्छन् । ठाउँ ठाउँमा राखिएको बौद्ध झन्डा र लुङ्गदाले चिरिच्याट्ट देखिन्छ नाम्चे बजार । लाग्छ बेहुली अन्माउन बसेको घरजस्तै नाम्चे । यहाँ रहेको बौद्ध गुम्बाले पनि सबैलाई र्भातृत्व, करुणामैत्री र सद्भाव दिने गरेका छ । सबै सामान लुक्लासम्म जहाजमा र त्यहाँबाट भरिया, याक र खच्चडले ढुवानी गरेर नाम्चे पु-याइन्छ । त्यस्तै कतिपयले फाप्लुबाटै भरिया र खच्चडबाट ढुवानी गरेर सामान नाम्चे पु-याउँछन् ।