गङ्गाराज अर्याल
तुलसी अथवा तुल्सी प्राकृतिक, पवित्र तथा बास्नादार वनस्पति हो । हिन्दु धर्मावलम्बीहरूको घरको आँगनमा सानो मन्दिर (मठ) बनाई तुलसी रोपिन्छ । वास्तवमा तुलसी भारतीय खण्डमा उत्पत्ति भएको मानिन्छ तर दक्षिण–पूर्व एसियाका प्रायः मुलुकहरूमा धार्मिक एवं परम्परागत रूपमा तुलसीको खेती गरी अर्चना गरिन्छ । तुलसीलाई विष्णुको अवतारका रूपमा लिइन्छ भने लक्ष्मीको प्रतिमूर्तिका रूपमा मानिन्छ । त्यसकारण तुलसीलाई सफा मन्दिर बनाई रोपेर पूजा गरिन्छ । तुलसी रोप्ने स्थान (सानो स्थल)लाई ‘मैरी’ वा ‘मठ’ पनि भनिन्छ । भगवान् हरि आषाढ शुक्ल पक्षको एकादशीका दिनदेखि शयन गर्ने हुँदा सोही दिनको शुभसाइतमा तुलसी रोपिन्छ भने कात्तिक शुक्ल पक्ष एकादशीका दिन भगवान् विष्णुसँग तुलसीको विवाह गरिन्छ ।
भाइबहिनीहरू । हामी सबैले देखेकै कुरा हो, प्रायः सबैको घरको आँगनमा सानो तर राम्रो मन्दिर बनाइएको हुन्छ, त्यस मन्दिर वा मठमा तुलसीका बिरुवा हलक्क बढेका देखिन्छन् किनभने तुलसीको महिमा ठूलो छ । घरको वरिपरि तुलसीको वृक्ष रोपिएमा यसले सकारात्मक ऊर्जा
पैदा गर्छ । तुलसीको बीउलाई ज्येष्ठ शुक्ल पक्षमा (यस वर्ष जेठ २७ गते) पर्ने निर्जला एकादशीका दिनको साइत पारेर रोपिन्छ । अनि आषाढ शुक्ल पक्षमा (यस वर्ष आषाढ २६ गते) पर्ने एकादशीका दिन तुलसी रोपिन्छ, यसै दिनदेखि भगवान् हरि शयन गर्नुहुन्छ, त्यस कारण यसलाई हरिशयनी एकादशी भनिएको हो । हरिशयनी एकादशीका दिन रोपिएका तुलसीलाई भगवान् शयनबाट ब्युँझेको दिन अर्थात् हरिबोधिनी एकादशीका दिन ठूलो, लामो साल, सल्लो वा बाँसको लिङ्गो तुलसीको मठको नजिकै गाडिन्छ, अनि बेमरा, फूलको मालासहित तुलसीको विवाह गरिदिने प्रचलन छ, यसलाई ‘तुलसी विवाह’ भनिन्छ । तुलसीले सो घरको अवस्था, आउन सक्ने सङ्कटबारे जानकारी गराउँछ । यदि तुलसीको बोट मर्न थाले वा पात काला हुन थाले भने सङ्कट वा खराब अवस्था आउन सक्ने सङ्केत हुन्छ । त्यसकारण तुलसी रोप्दा यसको मठ वरिपरि सफा गर्नुपर्छ, सिन्दूरको सहयोगले स्वस्तिक चिन्ह बनाउनुपर्छ, मैरीमा शालिग्रामको मूर्ति राख्नुपर्छ र घिउको दियो बालेर बिरुवा रोपी बिहान–बेलुका आराधना गर्नुपर्छ ।
भाइबहिनीहरू, अब तुलसी कहिले र कसरी रोपिन्छ आदिबारे खोतलौँ ! आषाढ शुक्ल पक्षको एकादशीका दिन अर्थात् भगवान् हरि शयन गर्ने दिन बिहान नुहाई तुलसी रोप्ने मैरी वा मठलाई कमेरो वा रातो माटोले लिपपोत गरी राम्ररी सिँगारिन्छ, त्यसपछि ‘प्रसीद मम देवेशि कृपया परया सदा, अभीष्ट फलसिद्धिञ्च कुरुमे माधवप्रिये’ मन्त्र उच्चारण गरी तुलसीको बिरुवालाई शुद्ध माटोमा रोपिन्छ । यस दिन हिन्दु समुदायले दूध, चिया तथा फलफूल मात्र सेवन गरी व्रत बस्ने गर्दछन् ।
अब हामी तुलसीको महत्त्व वा फाइदाबारे छलफल गरौँ । तुलसी आयुर्वेदिक औषधियुक्त प्रतिजैविक जडीबुटी हो । यसको जरादेखि काण्ड, पात, फूलका साथै बीउसमेतले विभिन्न स्वास्थ्य समस्यामा फाइदा पु-याउँछ । तुलसीका पातलाई मह तथा अदुवामा मिसाएर सेवन गरेमा रुघाखोकी, श्वासप्रश्वासलगायत फोक्सोको सङ्क्रमणमा अत्यन्त फाइदा हुन्छ । तुलसीका पात चियामा राखेर खाएमा पनि फाइदा हुन्छ । तुलसीका हरेक भागले पखाला, आउँ–रगत, औँलो ज्वरो, बाथ, चर्मरोग, आँखाको सङ्क्रमण, कीटजन्य रोगमा औषधिको काम गर्छन् । तुलसीमा रोगसँग लड्नसक्ने क्षमता हुनेहुँदा मुखमा देखिन सक्ने सङ्क्रमण, दुर्गन्ध, गिँजामा सङ्क्रमण, पाचन प्रणाली, खानाको रुचिमा वृद्धि, कलेजोको समस्या, पाचनक्रियामा आवश्यक रस उत्पादन, दमको समस्या, मुटुरोग, रगतमा चिनीको समस्या, क्यान्सर, चिन्ता तथा मनोरोगमा समेत लाभदायक छन् । तुलसी भिटामीन ए, सी, के तथा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, प्रोटिन, फलाम, पोटासियम तथा फाइबर (रेशा) प्रशस्त पाइने अत्यन्त फाइदाजनक वनस्पति हो । काँचको खाली ग्लासमा तुलसीका पाँचवटा पात राखेर पानी भरी राखेर सुत्ने कोठामा राख्ने र भोलिपल्ट बिहान पानी पिउनुका साथै पात चपाउँदा शारीरिक एवं मानसिक फाइदासमेत हुन्छ । तुलसीले हाम्रो शरीरलाई रसायन, विषाक्त, धातुबाट उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यामा निकै फाइदा हुन्छ । यो वनस्पति दीर्घ शारीरिक तथा मानसिक थकानमा पनि अत्यन्त उपयोगी हुन्छ । तुलसीका डाँठ पनि दियो बाल्न उपयुक्त हुन्छ । त्यति मात्र नभई मृत्युशय्यामा पुगेका वा प्राणत्याग गर्न लागेकालाई तुलसीको जल खुवाएमा मृत्युपछि वैकुण्ठमा बास हुने किंवदन्ती छ ।
थाहा छ, तुलसीको सेवन गर्भवती, मधुमेहका बिरामी, रगत पातलो गराउने ओषधि सेवन गर्नेहरू, रगत जम्न नदिने औषधि सेवन गर्नेका लागि फाइदाजनक नहुनसक्छ । तुलसीको मठ वरिपरि चिसो कपडा कहिल्यै सुकाउनु हुँदैन । मैरीमा फोहोर गर्न र फोहोर पदार्थ राख्नै हुँदैन, मैरीमा गणेशको मूर्ति, शिवलिङ्ग राख्नु हुँदैन भने तुलसीमा रातिमा जल चढाउनु हुँदैन ।