• ८ मंसिर २०८१, शनिबार

अक्षरबाटै शिखर आरोहण

blog

साढे तीन दशकअघिको कुरा सम्झँदै छु यतिखेर, त्यतिखेर साहित्यकारहरूलाई भेटेर उहाँहरूकै हस्ताक्षरमा परिचय सङ्ग्रह गर्ने रहर पालेको थिएँ । सङ्ग्रहको काम अघि बढ्दै जाँदा डा. तारानाथ शर्माको लेखन सम्झेर उहाँलाई भेट्ने आँट पलाएन, कस्ता कस्ता साहित्यकारलाई समालोचनाको झटारो हानेर झाँको झारेर लेख्न सक्नेले म भर्खर साहित्यमा चासो राख्नेले भेटेर कुराकानी गर्नु भनेको त्यतिबेला बुताबाहिरको ठान्थेँ ।  गोविन्द गोठाले, कमल दीक्षित, दयाराम सम्भव, आनन्ददेव भट्ट, प्रेमा शाह आदि स्रष्टालाई भेटेपछि अलि हौसिएको पनि थिएँ । मलाई त्यतिखेर नाट्यकर्मी दाजु अशेष मल्लले डा. तारानाथ शर्मासँग आफ्नै मोटरसाइकलमा राखेर बानेश्वरस्थित उहाँको डेरामा लगिदिने भनेपछि लाग्छ, त्यसको २–४ रात म सुत्न सकिनँ । तारानाथजस्ता साहित्यकारलाई भेट्दैछु भन्ने एक किसिमको गौरवबोधले पनि होला, एक किसिमको डर पलाएको पनि थियो ।

ढुकढुक गर्दै २०४४ को बिहान डा. तारानाथ शर्माको डेरामा पुगेर भेटेपछि डा. तारानाथ शर्माप्रतिको हेराइ नै अलग भयो । यति ठूला विद्वान्, यति ठूला लेखक पनि यतिसारो सहज हुँदा रहेछन् भन्ने लाग्यो । बेलाइततिर बरालिँदा पढेर फ्यान बनेको म उहाँकै स्वभावको पनि फ्यान पो बन्न पुगेँ । उहाँको ‘पश्चिमका केही महान साहित्यकार’जस्तो बेजोड कृति पढेपछि त मेरा लागि तारानाथ शर्मा महान साहित्यकार नै हुन पुग्नुभयो, विश्वसाहित्यको बारेमा अलि बुझ्ने पनि भएको थिएँ । नेपाली साहित्यको इतिहास नपल्टाएको दिनैै हुँदैनथ्यो । लेख्ने र बोल्ने शैलीले भुतुक्क पार्ने खुबी थियो उहाँको । विविध भाषाको ज्ञान, आकर्षक शैली, हक्की स्वभाव, विविध विधामा कलम चलाउन सक्ने खुबी, विश्वसाहित्यलाई राम्ररी बुझेको एउटा सशक्त र सफल साहित्यकारको रूपमा उहाँको ख्याति । सम्पादनमा समेत त्यत्तिकै सिद्धहस्त उहाँको अर्को विशेषता । बानेश्वरबाट सरस्वतीनगर चाबहिल सर्दासम्म म पुगिरहन्थे उहाँको घर । राइजिङ नेपालको प्रधान सम्पादक बनेर आएपछिका दिन त एउटै अफिस भएर पनि होला बरोबर भेट हुने अवसर जुथ्र्यो । एक किसिमको आकर्षण थियो र पुग्थेँ होला बरोबर, कोपुण्डोलदेखि सरस्वतीनगरसम्म । 

डा. तारानाथ शर्माको लेखन शैली सिको गर्न खोजेँ, सक्दै सकिएन । उहाँले जति लेख्न सक्छु कि भन्ने त सोच्न पनि सकिनँ र पनि आफूले लेखेका फुटकर रचना र कृतिको सूची बनाएर राख्न भनेँ सिकेँ उहाँँबाट । हरियो रङको इगल कपीमा आफ्ना रचना कहाँ, कुन पत्रिकामा, कहिले छापियो र पारिश्रमिक दिएको भए सोको पनि उल्लेख गरेर राखेको उहाँको इगल कपी अहिले पनि होला । 

सम्झेर साध्य छैन उहाँसँगका संस्मरणहरू, पढेर कहिले नसकिएलान् जस्ता कृतिको चाङ, उहाँले सम्पादन गरेका पठनीय र सङ्ग्रहणीय कृति–ग्रन्थले सधैँ पछ्याइरहने । 

समय सधैँ एकनास कहाँ रहन्छ र ? देशमा २०४६ को राजनीतिक परिवर्तनपछि मान्छेका सोचाइमा पनि परिवर्तन आयो, साहित्यकारलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन, यसैको चेपुवामा पर्नुभयो उहाँ । आफूलाई मन परेको, त्यसमा पनि विशिष्ट साधकप्रतिको व्यवहार पटक्कै चित्त नबुझेर लेखियो पनि साहित्यकारलाई सम्मान कि अपमान भनेर । बगर द्वैमासिक (२०४८, साउन–कात्तिक) हो यही लेखनले उहाँको झम्ट्याइमा परेको थिएँ म, सम्मान गर्न खोज्दा अपमान भएको उहाँले अनुभूत गर्नुभएछ । यसपछिका केही वर्ष मैले मानेका, सम्मान गरेका साधकसँग अलि टाढिनुप¥यो, यसो भनौँ नजिक परेँ भने हुर्मत लिनुहोला भन्ने हाउगुजी ।  

यता केही वर्षदेखि डा. तारानाथ शर्मा  साहित्यिक समाजबाट चाहिनेभन्दा बढी उपेक्षित भइरहनुभएको छ । नेपाली साहित्यका विद्वान्, अन्वेषक, साहित्यकार, भाषाशास्त्री आज उपेक्षित भइरहनुभएको छ । सोच्नेले उहाँका लेखनलाई, गहन योगदानलाई सम्झन सकेनन्, कति कञ्जुस्याइँ ? कति सङ्कुचित ? जहाँसम्म चाकडीबाज, स्तुतिगायकको प्रश्न छ । त्यसबारे उहाँ भन्नुहुन्छ– नेपाली साहित्यमा कविशिरोमणि लेखनाथ, महाकवि देवकोटा जस्ता प्रतिभाहरूले त चाकडीपरक कविता लेखेका छन् भने अरूको  त के कुरै नगरौँ । मभन्दा बढी चाकडीबाज लेखक, साहित्यकार, समालोचक यहाँ मनग्य नभएका होइनन् । फरक यत्ति हो, मेरो राम्रा लुगामा छिट्टै प्रष्ट दाग देखियो, उनीहरूको मैलो लुगामा दाग देखिन सकेन– त्यसमा पनि मेरो तीव्र लेखनका कारण रूष्ट भएकाहरू पनि ममाथि यसरी जाइलागेका हुन् । हुन पनि मेरो कलमले अधिकांश सिर्जनशील लेखकहरूलाई छोएको छ, धेरैको विषयमा निर्धक्क लेखिदिएको छु, बस यही कारण हो ममाथि जाइलाग्नुको । (बगर)

कलम जस्तै उहाँको बास पनि एकनास रहेन, इलामको बरबोटेमा जन्मेर, भारतको पटना, बनारस, बेलायत, अमेरिकामा पढेर उहाँ डाक्टर हुनुभयो । घरमै चण्डी, रुद्री पढेर शिक्षा आरम्भ गरेको मान्छे मिसिगन स्टेट युनिभर्सिटीमा आगन्तुक प्राध्यापक बनेर देशी विदेशीलाई चार वर्ष पढाउनुभयो, अमेरिका बसेर सुखको सास फेरिरहेको मान्छे नेपाल फर्केर भाषा साहित्यमै लाग्छु भनेर हाड घोटे पनि सन्तोषको जीवन भने सधैँ हातलाग्यो शून्य जस्तै बन्न पुग्यो । निजी कलेजमा पढाएर धानेको जीवन बेलाबखत खेप्नुपर्ने आलोचना र उपेक्षाले तारानाथ शर्माको जीवन योगदान र सिर्जनाको तुलनामा सधैँ कमजोर रह्यो । नेपालका विद्यालय, कलेजमा त पढाएरै बित्यो उहाँको जीवन । 

 तारानाथ शर्माको कलम विविध विधामा चलेको पाइन्छ, लेखनमा पनि विविधता पाइन्छ । स्तुतिपरक समालोचना मात्र होइन, खरा र दरा समालोचना लेखेर कैयौँ साहित्यकारको झाँको झार्नुभएको छ, कतिपयलाई चर्चाको शिखरमा पु-याउनु भएको छ, नेपाली साहित्यको इतिहास लेखेर लाउनुसम्मको गुन लाउनुभएको छ । उहाँले, सुन्दर र आकर्षक निबन्ध, स्तरीय समालोचना, उत्कृष्ट उपन्यास, गतिला कथा पनि लेख्नुभएको छ । गुरुप्रसाद मैनालीको नासो कथा सङ्ग्रह, गोपालप्रसाद रिमालको आमाको सपना, पच्चीस वर्षका नेपाली निबन्ध, समसामयिक साझा कविता जस्ता उत्कृष्ट कृति–ग्रन्थको  पनि सम्पादन गर्नुभएको छ । पाठ्यपुस्तक लेखन, अनुवाद पनि उहाँका सबल पक्ष हुन् । बेलाइततिर बरालिँदा, पाताल प्रवास जस्ता नियात्राका उत्कृष्ट कृति सिर्जना गर्ने पनि उहाँ नै हो । नमस्ते, जीवनका छालहरू, जमर्काहरू, आँसु छचल्किँदै जान्छ, श्रद्धा सुमन, चरी भरर, मेरो कथा, ओझल पर्दा, सुली, झभल्को, नेपालदेखि अमेरिकासम्म, दुई पोका चुरा, घोत्ल्याइँहरू, भानुभक्तदेखि तेस्रो आयामसम्म, नेपाली साहित्यको इतिहास, नेपाली साहित्यको ऐतिहासिक परिचय, सम र समका कृति, सुम्पन ल्याएँ उहाँका उल्लेख्य कृति हुन् । 

तारानाथ शर्माले जन्मथलो सम्झेर मेरो प्यारो बरबोटे लेख्नुभयो । आफैँले मागेर डोटी, डडेलधुराको यात्रा गरेर त्यहाँको जीवनलाई संस्मरणमा उतार्नुभयो । पढ्न बेलायत गएको मान्छे बेलाइततिर बरालिँदा लिएर आउनुभयो नियात्राको मनक कृति नै बन्न पुग्यो । अमेरिका बसेर फर्केपछि पाताल प्रवास लेख्नुभयो त्यत्तिकै चर्चित जति लेखे पनि त्यत्तिकै सबल, सशक्त । समयको प्रवाहमा २०२२ सालमा तीन महिना जेल पनि पर्नुभयो । सिर्जनामा रमाउने, लेखेर नथाक्ने साधकको कलमबाट जेल जीवनमा पनि मेरो कथा र ओझल पर्दाजस्ता उपन्यास सिर्जिए ।

राजनीतिको आँखाले स्रष्टालाई हेर्नेहरूले खेदे पनि लेखनमा निरन्तर लागिरहनुभयो, बेलायत बस्दा होस्, अमेरिका बस्दा होस्, चाहे वनारस बस्दा नै किन नहोस् लेखन र आन्दोलनमा उहाँ लागिरहनुभयो । झर्रोवादी आन्दोलनका सक्रिय व्यक्तित्वका रूपमा पनि आफ्ने चिनारी बनाउन सक्षम डा. तारानाथ शर्मा, जीवनको ७० वर्ष लेखनमा, सम्पादनमा, अनुवादमा बिताएको मान्छे बिरलै भेटिएलान् यो धरामा ।  त्यो पनि उत्कृष्ट लेखन र सशक्त प्रस्तुतिका धनी ।

इलामको भूमिमा वि.सं १९९१ सालको असार ९ गते जन्मिनुभएका तारानाथ शर्मा २००८ सालमा प्रबन्ध छपाएर साहित्यकारक रूपमा जन्मनुभयो, त्यसपछिका दिन उहाँको जीवन लेखनमै बिते, २०७८ सम्म । २०७८ को फागुन ३ गते यो धराबाट बिदा हुनुभएका डा. तारानाथ शर्मा अक्षरका माध्यमबाट बाँचिरहनुभएको छ । उहाँले लेखेका कैयौँ कृतिले उहाँको उपस्थिति अक्षरका माध्यमबाट भई नै रहन्छ । पृथ्वी प्रज्ञा पुरस्कार, मदन पुरस्कार, साझा पुरस्कार, सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार, रत्नश्री स्वर्ण पदकलगायत कैयौँ पुरस्कार र सम्मानबाट सम्मानित  तारानाथ शर्मा नेपाली साहित्यको उल्लेख्य प्राप्ति, गौरव गर्नलायक साधक जसको कलमले धेरैको मन मुटु छोएको छ, जसका सिर्जनाले नेपाली साहित्य समृद्ध बन्न पुगेको छ । यतिखेर आँसु छचल्किँदै गएको छ, श्रद्धासुमन चढाएर भावपूर्ण श्रद्धाञ्जलि भन्नुबाहेक अर्थोक के नै रह्यो र ? अक्षरबाटै धेरैको मन जित्ने, सफलताको शिखर आरोहण गर्न सफल साधकलाई गुमाएको नमीठो वर्तमान बाँच्दाको पीडा यतिखेर नेपाली साहित्यले भोग्दैछ ।