• ८ जेठ २०८१, मङ्गलबार

योगदानमा आधारित सामाजिक सुरक्षा कोष

अनलाइनमा आधारित स्वास्थ्य सेवा सुरु

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असार २१ गते । योगदानमा आधारित सामाजिक सुरक्षा कोषका योगदानकर्ताका लागि स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्यसेवा प्रवाहको शुभारम्भ भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सोमबार अनलाइनमार्फत उक्त सेवाको शुभारम्भ गर्नुभएको हो ।

सो सेवा सुरु भएसँगै योगदानकर्ताले उपत्यकाका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन र काठमाडौँ मेडिकल कलेजलगायत देशभरका २६ वटा अस्पतालमा बिनाझन्झट स्वास्थ्यसेवा लिन सक्नेछन् । यी अस्पतालमा सेवा लिन योगदानकर्ताले कोषमा योगदान गरेको नम्बरसहितको परिचयपत्र देखाए मात्र पुग्नेछ । 

यसअघि योगदानकर्ताले अस्पतालमा लाग्ने रकम आफैँ तिर्नुपर्थ्यो र बिल कोषमा पेस गरेपछि भुक्तानी प्राप्त हुन्थ्यो । अब भने परिचयपत्र देखाएपछि उपचार खर्चको २० प्रतिशत रकम मात्रै बिरामीले तिर्नुपर्छ । दुर्घटनाबापतको सुविधामा शतप्रतिशत उपचार खर्च कोषबाट सम्बन्धित स्वास्थ्य संस्थालाई भुक्तानी गर्ने व्यवस्था छ । 

सो प्रणाली कार्यान्वयन हुँदा योगदानकर्ताले स्वास्थ्य उपचारका लागि ठूलो रकमको जोहो गरी स्वास्थ्य संस्था जानुपर्ने र रकम शोधभर्नाका निम्ति कागजातसहित कोषको कार्यालयमा जानुपर्ने झन्झटको अन्त्य हुने कोषले जनाएको छ ।योगदानकर्ताको सुविधालाई ध्यानमा राखी परीक्षणका रूपमा यो स्वचालित विद्युतीय प्रणाली सञ्चालनमा ल्याइएको र यसमार्फत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षालगायतका सेवा लिन सकिने बताइएको छ ।

उपत्यकाका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, राष्ट्रिय ट्रमा  सेन्टर, पाटन र काठमाडौँ मेडिकल कलेजलगायत देशभरका २६ वटा अस्पतालमा बिनाझन्झट स्वास्थ्य सेवा लिन सकिने

कोषका अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका तीन लाख ४४ हजार ५३१ योगदानकर्ताले कोषले उपलब्ध गराएको सामाजिक सुरक्षा नम्बरसहितको परिचयपत्र देखाएर ती अस्पतालबाट वार्षिक एक लाख रुपियाँको स्वास्थ्य उपचार सेवा लिन सक्नेछन् । 

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले योगदानकर्ताले कोषमा सूचीकृत अस्पतालबाट मात्र तोकिएको सुविधा प्राप्त गर्न सक्ने जानकारी दिनुुभयो । उहाँका अनुसार पछिल्लो तीन महिना योगदान रकम नियमित रूपमा कोषमा जम्मा गरेका व्यक्तिले कोषमा सूचीकृत जुनसुकै अस्पतालबाट सेवा लिन सक्नेछन् । 

दुर्घटना भएको अवस्थामा भने सूचीकृत भएको दिनमै दुर्घटना भए पनि पनि स्वास्थ्य सेवा लिन सकिने कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिनुभयो । योगदानकर्ताले एक आर्थिक वर्षमा एक लाख रुपियाँ नबढ्ने गरी उपचार खर्च प्राप्त गर्नेछन् । कोषका अनुसार कोषमा सूचीकृत भएका १२६ वटा अस्पतालबाट स्वास्थ्य सेवा लिन सक्नेछन् । यस्तै कोषमा योगदान गरेको नम्बरसहितको परिचयपत्र देखाएर २६ अस्पतालबाट सेवा लिन सक्नेछन् । 

२०७५ मङ्सिर ११ मा यो कार्यक्रमको औपचारिक घोषणा गरिएकामा हालसम्म करिब ३२ हजार जनाले कोषले प्रदान गर्ने विभिन्न सुविधा लिइसकेका छन्, जसमध्ये करिब ११ हजार पाँच सयले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गतको सुविधा, ७३४ ले दुर्घटना तथा अशक्तता सुविधा, २२४ ले आश्रित परिवार सुविधा र १९ हजारले वृद्धावस्था सुविधा लिएका छन् ।यस अवधिमा योगदानकर्ताको करिब २० अर्ब रुपियाँ जम्मा भएको छ भने कोषले एक अर्ब ५७ करोड रुपियाँ भुक्तानी गरिसकेको छ । 

नेपालको संविधानको धारा ३४ ले प्रत्याभूत गरेको श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक कार्यान्वयन गर्न योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४, नियमावली, २०७५ र कार्यविधि २०७५ तर्जुमा भई सामाजिक सुरक्षा कोषमार्फत कार्यक्रम कार्यान्वयनमा छ ।