काठमाडौँ, मङ्सिर १६ गते । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका १५ वटा निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्यका १५ वटा निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको हो।
सरकारले स्वास्थ्य सेवा विभाग, औषधी व्यवस्था विभाग, स्वास्थ्य बीमा बोर्ड, वीर अस्पताल, डडेलधुरा अस्पताल, गेटा अस्पताल, कान्ति अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बूढानीलकण्ठ, भरतपुर अस्पतालमा बनिरहेको ट्रमा सेन्टर, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, सिंहदरबार वैद्यखाना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र र राष्ट्रिय औषधी प्रयोगशालाको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति दिएको हो।
यसैगरी, मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतम भारत भ्रमणलाई समेत स्वीकृति प्रदान गरेको छ ।
डा.शर्मा पुस २ देखि ४ गतेसम्म भारतको नयाँदिल्लीमा आयोजना हुने दोस्रो डब्लूएचओ ग्लोबल समिट एण्ड ट्रेडिसनल मेडिसिन एण्ड हाइलेभल मिनिष्टरियल डाइलग वन इम्प्लीमेन्टेसन अफ दि डब्लूएचओ ग्लोबल स्ट्राटेजी, २०२५-२०३४ कार्यक्रममा भाग लिन दिल्ली जान लाग्नुभएको हो ।