इस्लामाबाद (पाकिस्तान), मङ्सिर १६ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले पाकिस्तानको पूर्वी भूमध्यसागरीय क्षेत्रमा ह्युनन इम्युनोडेफिसियन्सी भाइरस (एचआइभी)को महामारी बढेको उल्लेख गर्दै पछिल्लो १५ वर्षमा नयाँ सङ्क्रमण २०० प्रतिशतले बढेको जनाइएको छ ।
सन् २०१० मा १६ हजार एचआइभी सङ्क्रमितको सङ्ख्या भएकोमा २०२४ मा यो सङ्ख्या बढेर ४८ पुगेको डब्ल्युएचओले जनाएको छ । यो जानकारी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र युएनएड्सले विश्व एड्स दिवस मनाउन आयोजना गरेको कार्यक्रमका सहभागीबिच सार्वजनिक गरेको हो ।
एचआइभीले विगतमा मुख्यतया उच्च जोखिममा रहेको मानिसलाई असर गरेको भएता पनि हाल बालबालिका र वृद्धवृद्धा लगायत समग्र समुदायलाई असर गरिरहेको जनाइएको छ । मुख्यतया असुरक्षित रक्त आदान प्रदान इन्जेक्सन, सङ्क्रमण रोकथाम र नियन्त्रणमा कमी, असुरक्षित यौन गतिविधि लगायतका कारणले एचआइभी को सङ्क्रमण बढ्दै गएको डब्लुएचओले जनाएको छ ।
डब्लुएचओ र युएनएड्सले पाकिस्तानको स्वास्थ्य मन्त्रालयसँग मिलेर यो दिवस मनाउन सहयोग गरेको जनाइएको छ । स्वास्थ्य मन्त्रालयका महानिर्देशक आयशा इसानीले यो रोगलाई एक्लैले सम्बोधन गर्न नसक्ने बताउँदै यसमा समुदाय र स्वास्थ्य नियामक अधिकारी संलग्न हुनुपर्ने बताउनु भएको छ । इन्जेक्सन र रगत सङ्क्रमणमा असुरक्षित अभ्यास हटाउन सामूहिक प्रयास आवश्यक रहेको बताउँदै उहाँले चिकित्सकलाई पनि संलग्न गरी पाकिस्तानी नागरिकलाई स्वस्थ र एचआइभी मुक्त भविष्य प्रदान गर्ने बताउनु भएको छ ।
पाकिस्तानमा करिब तीन लाख ५० हजार व्यक्ति एचआइभी सङ्क्रमित भएर बाँचिरहेको भएता पनि ८०% प्रभावितलाई उनीहरूको आफ्नो स्थितिको बारेमा अन्जान रहेको जनाइएको छ । पछिल्लो दशकमा, पाकिस्तानमा एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) प्राप्त गर्ने एचआइभी सङ्क्रमितको सङ्ख्या आठ गुणाले बढेको तथा सन् २०१३ मा करिब छ हजार ५०० बाट २०२४ मा ५५ हजार ५०० पुगेको जनाइएको छ ।
एन्टिरेट्रोभाइरल थेरापी केन्द्रको सङ्ख्या पनि सन् २०१० मा १३ बाट बढेर सन् २०२५ मा ९५ पुगेको जनाइएको छ । सन् २०२४ मा, डन पत्रिकाले एड्स रोगका कारण एक हजार १०० भन्दा बढीको मृत्यु भएको रिपोर्ट गरेको थियो । पछल्लो समयमा नयाँ केसमा वृद्धि हुनुका साथै बच्चामासमेत यो रोगले असर गरेको जनाइएको छ भने एचआइभी सङ्क्रमणको जोखिममा बाँचिरहेका ०-१४ वर्षका ३८ प्रतिशत बच्चाले मात्र उपचार प्राप्त गरिरहेको डनले जनाएको छ । रासस/एएनआई