• ८ मंसिर २०८१, शनिबार

ऐठन [लघुकथा]

blog

नाताले उनी मेरा मामा पर्थे । लामो समय अमेरिकातिरै बसेका थिए । अकस्मात मेरै टोलको गल्लीमा फाटेका किताबहरूको झोलासहित प्रकट भए । उनको अनुहारमा थकान र खिन्नता थियो । भोकै छन् कि क्या हो भनेर मैले उनलाई अनुरोध गरेँ– “मामा यतिबेला भइसक्यो, खाना खानुभएको छैन होला, हिँड्नुहोस् घरमै जाऔँ, खाना खाऔँ ।” 

“हैन, हैन नजाऔँ,” उनले भने ।

मैले उनको हात समातेर “ऊ त्यो कर्नरको घर त हो नि भन्दै देखाएँ ।” उनले आफ्नो खल्तीबाट गुज्मुजिएको पाँच सयको नोट निकालेर यो पैसाले बियर किनेर ल्याऊ भान्जा, यहीँ बसेर खाउँला भने । मलाई उनीप्रति झन्झन् माया र दया जाग्यो । उनलाई घरमै लगेँ ।

उनी सरासर मेरो अध्ययन कक्षमा गएर डङ्रङ्ग पसारिए । मैले पल्लो कोठामा गएर श्रीमतीलाई मामा आउनुभएको छ, खाना खानुभएको छैन भनेँ । के गर्ने ? मलाई सन्चो छैन, जेसुकै गर्नुहोस् श्रीमतीको रेडिमेड जबाफलाई बेवास्ता गर्दै म बजारतिर हानिएँ । साँझ छिप्पिसकेको थियो । बाटोमा एउटा चिनजानको भाइ फेला प-यो र भन्यो दाइ यो अँध्यारो गल्लीमा कता हो ? मैले कपाल कन्याउँदै भनेँ “हेर न भाइ घरमा पाहुना आएका छन्, यसो बियर खुवाऊँ कि भनेको के भएका यी पसल पनि कहीँ फेला पर्दैन ।” 

उसले चिनेको पसलसम्म ल्याइदियो । म बियर किनेर घर फर्किंदै थिएँ, अकस्मात मलाई सम्झना आयो ती मामा पर्ने त दुई चार महिनाअघि मरिसकेको र अखबारमा तस्बिरसहित समवेदना छापिएझैँ लाग्यो । मनभित्र डर र त्रासको आँधी आयो । पूरै शरीर गल्यो, म पसिनै पसिना भएँ । दुई बोतल बियर मेरा लागि ठूलो भारी साबित हुँदै थियो । बल्लतल्ल घर पुगेँ । श्रीमती निदाएकै थिइन् तर मेरो अध्ययन कक्ष खाली थियो । न त्यहाँ मामा थिए न मामाका फाटेका पुराना किताब । मैले श्रीमतीको निधार छामेँ । गाला सुमसुम्याएँ बिस्तारै डराई डराई नाकको प्वालमा हात लगेँ र गम्लङ्ग अगालो हालेँ । उनले भक्भकाउँदै भनिन्, तपाईंलाई फेरि ऐठन भए जस्तो छ । म लामो सुस्केरा हाल्दै ब्युँझिएँ । शरीर पसिनै पसिना भएको थियो ।