• १४ पुस २०८१, आइतबार

विज्ञापन आचारसंहिता

blog

वर्तमान सञ्चार युगमा उत्पादित वस्तु वा सेवाको बिक्री प्रवद्र्धनका निम्ति विज्ञापनको विशिष्ट महत्त्व रहँदै आएको छ । यो अति नै प्रतिस्पर्धात्मक समयले विज्ञापनका कारण सेवा वा वस्तुले लक्षित उपभोक्ताको ध्यानाकर्षण गर्ने मात्र नभई पृथक् पहिचान कायम गर्न पनि सक्षम हुन्छन् । फलस्वरूप ठूला उद्योगहरूले निश्चित प्रतिशत विज्ञापन खर्चका रूपमा छुट्याएका पाइन्छन् तर हिजोआज विज्ञापनका नाममा विभिन्न नकारात्मक गतिविधिले पनि प्रश्रय पाइरहेको छ । यो आमउपभोक्ताले महसुस गर्दै आएका तथ्य पनि हुन् । सञ्चारका विभिन्न माध्यमबाट गरिने श्रव्य, दृश्य, छापा तथा अन्य विज्ञापनहरूको भाषा, शैली, प्रस्तुति आपत्तिजनक पनि रहने गरेका छन् । 

विगतमा कतिपय वस्तु वा सेवाका विज्ञापनका कारण जातीय, धार्मिक तथा सांस्कृतिक सद्भावमा खलल पर्ने आशङ्कामा रोक लगाइएका उदाहरण पनि पाइन्छन् । यस अर्थमा विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी विषयवस्तुलाई नियमन गर्नु अति आवश्यक भइसकेको स्थितिमा सरकारले विज्ञापन आचारसंहिता सार्वजनिक गरेको छ । आइतबारदेखि लागू गरिएको आचारसंहितमा राष्ट्र, राष्ट्रियता, जातीय विविधता, महिला, दलित, जनजाति, यौनिक अल्पसङ्ख्यकका विरुद्ध विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारण गर्न नपाउने व्यवस्था गरिएको छ । यसले विज्ञापन व्यवसाय अझ मर्यादित हुनेछ ।

प्रेस काउन्सिल आचारसंहिताले पत्रकार तथा समाचारको सत्य, तथ्यका सम्बन्धमा जिम्मेवार तुल्याएजस्तै विज्ञापन आचारसंहिताले पनि विज्ञापन उत्पादक, वितरक, प्रकाशक तथा प्रसारकलाई आफ्ना सञ्चार माध्यममले प्रवाहित गर्ने विज्ञापनप्रति जिम्मेवार तथा सन्तुलित बनाउन मार्ग निर्धारण गर्नेमा विश्वस्त हुन सकिन्छ । यसैगरी सहरी सौन्दर्यमा प्रतिकूल प्रभाव पर्ने गरी भित्ते लेखन, पम्लेट टाँस्ने, विश्व सम्पदा सूचीमा अङ्कित स्थल ढाक्ने गरी होर्डिङ बोर्ड राख्नेजस्ता पक्षलाई समेत वर्जित गरेको छ । यसमा राजधानीलगायत सहरी सौन्दर्यको क्षयीकरण नियन्त्रणमा योगदान पुग्नेमा आशावादी हुन सकिन्छ । 

विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणमा निकै ठूलो मात्रामा आर्थिक कारोबार हुने तथा ती प्रायः अपारदर्शी हुने गरेकोमा विज्ञापन आचारसंहिताले विज्ञापनदाता, विज्ञापन एजेन्सी तथा सञ्चार माध्यमबीचको त्रिपक्षीय सम्झौता हुनुपर्ने अनिवार्य गरेको छ । यसबाट कोही पनि ठगिने अवस्था आउने छैन । राज्यलाई पारदर्शी रूपमा राजस्व प्राप्त हुनेछ । कानुनतः बाहेक अन्य तवरबाट विज्ञापनमा आर्थिक लाभ लिन दिन नपाइने प्रावधान राखिएबाट आर्थिक कारोबार अझै सङ्लो हुनेमा विश्वस्त हुने आधार निर्माण भएको छ । 

वर्तमानमा निकै चल्तीका रूपमा रहेको विद्युतीय विज्ञापनको एक माध्यम डिजिटल बोर्डका सम्बन्धमा यो आचारसंहितामा नसमेटिनु यसको एक कमजोरीका रूपमा लिनुपर्दछ । यस सम्बन्धमा विज्ञापन बोर्डबाट चाँडै नै केही व्यवस्था भए उपयुक्त हुनेछ । विशेषगरी विज्ञापनमा अतिरञ्जित तवरलेकुनै पनि सेवा वा वस्तुको गुणस्तरका सम्बन्धमा उल्लेखित गरिएको पनि पाइन्छ । यस सन्दर्भमा त्यस्ता अतिरञ्जित पक्षका सम्बन्धमा नियमन गर्न बोर्डले उपयुक्त अधिकार पाए विज्ञापनका माध्यमबाट उपभोक्तालाई दिग्भ्रमित गर्ने कार्य नियन्त्रणमा आउन सक्दथ्यो ।

विज्ञापन पैसा तिरेर गर्ने सञ्चार हो तर यसको मर्यादा र सीमालाई भुल्दा समाजमा प्रतिकूल असर पर्छ । व्यवसाय प्रवद्र्धन गरिने विज्ञापनले कतिपय अवस्थामा व्यवसायलाई नै प्रतिकूल असरसमेत पार्न सक्छ । आचारसंहिताले यी मननीय पक्षलाई प्रभावकारी रूपमा ध्यान दिने विश्वास गर्न सकिन्छ ।अहिले आएको विज्ञापन आचारसंहिता वर्षौंदेखि नेपाली विज्ञापन बजारमा अपेक्षित नै थियो । ढिलो आएको तथा केही अपुग भए पनि विज्ञापनका धेरै पक्षलाई 

समेट्नेतर्फ यसको प्रयास रहेको देखिन्छ । नेपाली विज्ञापन बजारलाई पारदर्शी, स्वच्छ, मर्यादित बनाउन यसले सकारात्मक भूमिका खेल्न सके यसको महत्ता प्रमाणित हुनेछ । मुख्यतया यो विज्ञापन आचारसंहिताको उपयुक्त कार्यान्वयन नै यसको सफलता तथा असफलताको कारक तìव हुने देखिन्छ ।

यसर्थ सरकार, विज्ञापन बोर्ड, विज्ञापनदाता, सञ्चार माध्यमबाट यो आचारसंहिताको इमानदार कार्यान्वयन, अनुगमन तथा नियमन हुन सके भविष्यमा यसको प्रभावकारिता पुष्टि हुँदै जानेछ । यसका अतिरिक्त यस्ता विषयवस्तुमा समयक्रम तथा प्रविधिको विकास क्रमसँगै क्रमिक तवरले सुधार गर्दै जानु वाञ्छनीय हुन्छ । समय, समाज र परिस्थिति तथा विकसित प्रविधि र माध्यम विकासले विज्ञापन व्यवसायलाई नयाँ युगमा प्रवेश गराउँदैछ । नयाँ युगमा विज्ञापन व्यवसायको अझ फराकिलो बनाउनसमेत यो आचारसंहिता उपयोगी हुने निश्चित छ ।