पछिल्ला दशकमा नेपाली अर्थतन्त्रको मियो विप्रेषण नै भएको छ । देशको सीमाबाहिर गएर आर्जन गरेको रकम स्वदेशमा पठाएपछि त्यसलाई विप्रेषण अर्थात् रेमिट्यान्स भन्ने गरिन्छ । नेपालको वार्षिक बजेटकै हाराहारी विप्रेषण औपचारिक रूपमा आउने गरेको छ । नेपाली श्रमिकले बाहिर गएर आर्जन गरेको पैसा नेपाल पठाउँछन् । विदेशी मुद्रामै पठाएको पैसा नेपाली घरपरिवारले भने नेपाली रुपियाँ हात पार्छन् । केन्द्रीय बैङ्कले त्यो पैसा सटही गरी नेपाली मुद्रामा दिन्छ । आवश्यक कर, विनिमय लागत लिन्छ । यो प्रक्रियाले देशको केन्द्रीय ढुकुटीमा विदेशी मुद्रा राम्ररी सञ्चय पनि भएको छ । देश आयातमा आधारित अर्थतन्त्रमा निर्भर छ । कुल व्यापारको झन्डै ९० प्रतिशत आयात छ भने १० प्रतिशतभन्दा न्यून मात्र निर्यात छ । विदेशबाट मालवस्तु आयात गर्न विदेशी मुद्राको आवश्यकता पर्छ । नेपाली रुपियाँमा मात्र आयात गर्न सकिन्न । विदेशबाट आयात गर्न विदेशी मुद्राको सञ्चय हुनुपर्ने छ । त्यो विदेशी मुद्रा अहिले विप्रेषणले पर्याप्त जोहो गरेको छ । कुनै पनि देशको अर्थतन्त्रमा सामान्यतया छ/सात महिनाको आयात धान्ने विदेशी मुद्रा भए अर्थतन्त्रमा विदेशी मुद्राको सञ्चिति राम्रो भएको मानिन्छ । नेपाली मौजुदा अर्थतन्त्रमा झन्डै डेढ वर्षको आयात धान्न सक्ने गरी विदेशी मुद्राको जोहो छ । यो विदेशी मुद्राको मूल आर्जनको स्रोत भनेकै विप्रेषण हो । यो विप्रेषणभित्रको पीडा र व्यथा गहिरो छ ।
देशका ६० लाखभन्दा बढी युवा विदेशमा काम गर्न गएका छन् । उनीहरूले पठाएको विप्रेषण नै अर्थतन्त्रको मूल स्रोत भएको स्पष्टै छ । विप्रेषणकै भरमा अर्थव्यवस्था टिकिरहेको खुसी नेपाली घरपरिवारमा देख्न सकिन्छ । विप्रेषणको आर्जनले बजारमा बढेको चलायमानले राजस्व सङ्कलन भई सरकारी आयसमेत टिकिरहेको छ । वैदेशिक रोजगारीमा गएका सबै जना सुविस्ताले घर फर्कन पाउँदैनन् । कति गम्भीर बिरामी पर्छन् । कति अङ्गभङ्ग हुन्छन् । कति जीवन उतै त्याग गरेर घरपरिवारलाई आँसुको सागरमा पनि डुबाउँछन् । सरसाउँदो गएको युवा फर्कंदा अनेक रूपमा आउने पीडा वैदेशिक रोजगारीको अँध्यारो पक्ष हो । कतिले अकालमै ज्यान गुमाएका हुन्छन् । उतै निधन हुन्छ । निधन हुनेको पनि सङ्ख्या ठुलै देखिन्छ । निधन भएपछि उनीहरू बन्द बाकसमा फर्कन्छन् । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा मात्र ५१० युवाले विदेशमै ज्यान गुमाएको देखिएको छ । चार महिनाको सङ्ख्या हेर्दा महिनामै औसतमा १२७ युवाको शव बन्द बाकसमा आउने गरेको भन्न सकिन्छ । यो सङ्ख्या चार महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको औपचारिक सङ्ख्या मात्र हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका पनि हुन सक्छन् । त्यसैले विदेशमा रहेका अझ धेरै युवाको ज्यान पनि गएको हुन सक्छ । अङ्गभङ्ग हुने, बिरामी परेर स्वदेश फर्कने, दीर्घकालीन रोग लाग्नेको सङ्ख्या पनि ठुलै हुन सक्छ ।
विदेशमा ज्यान गुमाउनेलाई वैदेशिक रोजगार बोर्डले आर्थिक सहायता दिने गरेको छ । बोर्डका अनुसार यस अवधिमा बोर्डको कल्याणकारी कोषको ५१ करोड रुपियाँ मृतक श्रमिकका परिवारका सदस्यले आर्थिक सहायता लिएका छन् । पर्याप्त तालिम, सिप र सुरक्षाको सुनिश्चितबिनै वैदेशिक रोजगारीमा जाँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिकको मृत्यु हुने कतिपयको भनाइ छ । तथ्याङ्क अनुसार दैनिक औसतमा चार जनाको शव विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेको छ । श्रम स्वीकृति लिएर गएका नेपाली श्रमिकको मृत्यु भएमा श्रमिकका परिवारले प्रतिमृतक बराबर १० लाख रुपियाँ आर्थिक सहायता दिइँदै आएको छ । बोर्डबाट आर्थिक सहायता पाउने मापदण्डमा नपरेका श्रमिकको सङ्ख्या पनि कम नहुन सक्छ । यसरी हेर्दा त विदेशमा हुने मृत्युको सङ्ख्या अझ बढी छ । आवको पहिलो चार महिनामै वैदेशिक रोजगारीका क्रममा विभिन्न कारणले अङ्गभङ्ग भएका २९५ श्रमिकले न्यूनतम एक लाखदेखि बढीमा १० लाख रुपियाँसम्म आर्थिक सहायता दिइएको देखिएको छ । यसले अङ्गभङ्ग हुनेको सङ्ख्या पनि सानो देखिन्न । बोर्डले राखेको तथ्याङ्क अनुसार आव २०६५/६६ साउनदेखि चालु आवको कात्तिकसम्म १५ हजार ३५८ जनाले विदेशमै ज्यान गुमाएका छन् । यसले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्ने चुनौती थपेको स्पष्ट देखिन्छ ।