जनार्जन खत्री
सर्लाही, फागुन १८ गते । यही बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा मतदान अधिकृतहरु धमाधम मतदान केन्द्रमा पुग्ने क्रम जारी रहेको छ ।
सोमबार नै अधिकांश मतदान अधिकृतहरु मतदान सामग्रीसहित आ–आफूलाई खटाइएको मतदान केन्द्रमा पुगिसकेका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट नजिकै रहेका मतदान केन्द्रमा खटाइएका केही मतदान अधिकृतहरु भने अब मङ्गलबार बिहानसम्ममा आफूलाई खटाइएको ठाउँमा पुगिसक्ने बताइएको छ ।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख एवम् जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलका अनुसार जिल्लामा ६२८ मतदान केन्द्रमध्ये अधिकांश मतदान अधिकृतले मतपेटिकासहितका निर्वाचन सामग्री बुझेर लगिसकेका जानकारी दिनुभयो । मतदान अधिकृतले मतदान केन्द्रमा पुगेर निषेधित क्षेत्र तोकिएको, मदिरा निषेध गरिएको लगायतका सूचनासमेत टाँस गरिसकेका पौडेलले बताउनुभयो ।
क्षेत्र नं. १ का निर्वाचन अधिकृत टीकाबहादुर थापाका अनुसार क्षेत्र नं. १ का अधिकांश मतदान केन्द्रमा सोमबार नै पुगेका मतदान अधिकृतले सूचना टाँस गर्ने र सर्वपक्षीय बैठक राख्ने काम धमाधम गरिरहेका जानकारी दिनुभयो । उहाँका अनुसार मतदान केन्द्रमा अब मतपत्र मात्र पुग्न बाँकी छ ।
मतदान केन्द्रमा पुगेका कर्मचारी तथा सुरक्षाकर्मीले अब आजदेखि मतदानस्थलसमेत बनाउन सुरु गर्ने छ । सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले मतदान केन्द्रमा पुगेका मतदान अधिकृतलाई सुरक्षाकर्मीसँग समन्वय गरी आफूले लिएर गएको निर्वाचन सामग्री सुरक्षित राख्न र मतदानअघि अपनाउनुपर्ने सम्पूर्ण प्रक्रियागत काम क्रमवद्ध रुपमा सम्पन्न गर्न निर्देशन दिइएको बताउनुभयो ।
मतदान केन्द्रमा खटाइएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीसमेत मतदान अधिकृतसहित आ–आफूलाई खटाइएको मतदान केन्द्रमा पुगिरहेका छन् । मतदानको दिन नजिकिएसँगै जिल्लामा सुरक्षा व्यवस्थासमेत अत्यन्त कडा पारिएको छ ।
बिहीबार हुने निर्वाचनलाई लक्षित सोमबार राति १२ बजेदेखि सर्लाहीमा नेपाल–भारत सीमा नाकासमेत बन्द गरिसकिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी गएराति १२ बजेदेखि निर्वाचन सम्पन्न नहुन्जेलसम्मका लागि नेपाल–भारत सीमा नाका शील गरी आवतजावत पूर्णरुपमा बन्द गरिएको जानकारी दिनुभयो ।