• १० मंसिर २०८२, बुधबार

पीडामा गाउँका विद्यालय

blog

  • गुणस्तरीय शिक्षामा कतिपय प्रश्न स्वाभाविक भए पनि विद्यालय विस्तारले शिक्षा र चेतना बढाउन ठुलो सहयोग भएको यथार्थ बिर्सन मिल्दैन । यताका वर्षमा गाउँसम्म पूर्वाधार विकास पुग्दै छ । 
  • कृषि अर्थतन्त्रमा आधारित देशका अधिकांश गाउँमा परम्परागत खेतीबालीले दैनिक जीवन चलाउन धेरै स्थानीयवासीलाई समस्या पारेको छ । जङ्गली जनावरले उब्जनी नष्ट गरेपछि कृषिबाट पलायन बाध्यता जस्तै भएको छ ।
  • गाउँलाई योजनाबद्ध तवरले रोजगारी र अवसरको केन्द्र बनाउनु आवश्यक छ । गाउँमा आर्थिक अवसर स्थापना गर्न सक्दा मात्रै विद्यालय चल्न सक्छन् । गाउँ गलजार हुँदा मात्र देश समृद्ध हुन सक्ने छ । 

राणा शासनको सय वर्षभन्दा बढी नेपाली समाजले शिक्षामा पहुँच पाउन सकेन । शिक्षा सीमित राणा र दरबारिया सम्भ्रान्तका निम्ति मात्र थियो । विश्व शिक्षा, चेतना, भौतिक तथा आर्थिक विकासमा अगाडि पुगे पनि नेपाल भने अन्धकारमै रह्यो । राणा शासन हटाउने २००७ सालको क्रान्तिले प्रजातन्त्र स्थापनासँगै शिक्षाको ढोका खुलायो । सर्वसाधारणमा शिक्षा पुग्ने क्रम सुरु भयो । शिक्षामा सबैका पहुँचका निम्ति भने लामै समय लाग्यो । ग्रामीण तहसम्म शिक्षाको विस्तार २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि मात्र सम्भव हुँदै गयो । गाउँ गाउँमा धेरै विद्यालय खुल्न थाले । गुणस्तरीय शिक्षामा कतिपय प्रश्न स्वाभाविक भए पनि विद्यालय विस्तारले शिक्षा र चेतना बढाउन ठुलो सहयोग भएको यथार्थ बिर्सन मिल्दैन । यताका वर्षमा गाउँसम्म पूर्वाधार विकास पुग्दै छ । सडक विस्तार हुँदै छ । देशका सबै जिल्ला सदरमुकाममा सडक पुगेको छ । सबै पालिका सडकले छुने क्रममा छन् । स्वास्थ्य चौकी हरेक पालिकामा पुग्दै छन् । पिउने पानीको विस्तार हुँदै छ । शतप्रतिशत घरमा बिजुली पु¥याउने क्रम अन्तिम चरणमा छ । गाउँसम्म शिक्षा, स्वास्थ्य, पिउने पानी, सडकलगायतका पूर्वाधार पुग्न थाले पनि गाउँबाट बाहिरिने क्रमले भने झनै तीव्रता पाउन थालेको छ । कुनै बेला हिंसाका कारण विस्थापन बाध्यता जस्तै थियो तर शान्ति स्थापनापछि पनि गाउँमा अडिने अवस्था भएन । विस्थापनले झनै तीव्रता पाएको बैतडीबाट सम्पे्रषित समाचारले अवस्था गम्भीर देखाएको छ ।

गोरखापत्र दैनिकमा मङ्गलबार प्रकाशित ‘गाउँसँगै विद्यालय पनि रित्तिँदै’ समाचार नीतिनिर्माताका निम्ति गम्भीर बन्नुपर्ने खालको देखिन्छ । समाचार अनुसार द्वन्द्वका बेलासमेत नरित्तिएका गाउँ अहिले रित्तिन थालेका छन् । घरमा ताल्चा लगाएर धमाधम खाली हुन थालेका छन् । बेरोजगारीका कारण गाउँका धेरै मानिस बालबच्चा लिएर भारत पलायन हुँदै छन् । यस्तो अवस्थाले बैतडीका ११४ वटा आधारभूत विद्यालयले विद्यार्थी पाउन कठिन भएको छ । अभिभावकसँगै बालबालिका बाहिर गएपछि विद्यालय बन्द हुँदै छन् । आश्चर्यलाग्दो तथ्याङ्क त के छ भने एकै वर्षमा सात हजारभन्दा बढी विद्यार्थी घटेका छन् । सामुदायिक विद्यालयका विद्यार्थी गत वर्षको तुलनामा यो वर्ष सात हजार ८५४ जना विद्यार्थी घट्नु सामान्य होइन । बैतडीको पुर्चौडी नगरपालिका–७, ऐराडीगाउँका दलित अभिभावक बालबच्चासहित रोजगारीका लागि भारत पलायन भएपछि २०५० सालमा स्थापना भएको लटिनाथ आधारभूत विद्यालय पूर्ण रूपमै बन्द भयो । यस्तै अवस्था अन्य पालिकामा पनि देखिएको छ । सोही जिल्लाको मेलौली नगरपालिका–४ को सुनौलो आवि तिताबै र भूमिराज आवि बेउराडी पनि बन्द भए । मेलौलीले यो वर्ष १० वटा आधारभूत विद्यालय मर्ज गरे पनि विद्यार्थीको सङ्ख्या बढ्न सकेको छैन । जिल्लाका १० वटा स्थानीय तहका ११४ वटा विद्यालय विद्यार्थी नपाएर बन्द हुने अवस्थामा पुग्नु गम्भीर समस्याका रूपमा हेरिनु पर्छ ।

कृषि अर्थतन्त्रमा आधारित देशका अधिकांश गाउँमा परम्परागत खेतीबालीले दैनिक जीवन चलाउन धेरै स्थानीयवासीलाई समस्या पारेको छ । जङ्गली जनावरले उब्जनी नष्ट गरेपछि कृषिबाट पलायन बाध्यता जस्तै भएको छ । गाउँघरमा वैकल्पिक रोजगारीको अवसर पर्याप्त नभएपछि गाउँ छोड्नुपर्ने बाध्यता छ । यताको दुई दशकमा गाउँबाट सहर तथा बिदेसिने क्रममा तीव्रता आएको विदितै छ । पश्चिमी पहाडी भेगमा भने सहर र तेस्रो मुलुक जान नसक्ने भारतका विभिन्न सहर पस्ने गरेका छन् । बैतडीलगायत त्यस क्षेत्रका अधिकांश गाउँबाट भारतमा रोजगारी गर्न जानेको सङ्ख्या बढ्दो छ । यसले अनेक प्रभावसँगै गाउँ गाउँमा खुलेका विद्यालय बन्द हुँदै छन् । बैतडीकै दोगडाकेदार गाउँपालिकामा २२ वटा विद्यालय पनि बन्द हुने अवस्थामा पुगेका छन् । त्यस्तै डिलासैनी गाउँपालिकामा १५, पाटन नगरपालिकामा १५, मेलौली नगरपालिकामा १०, सुर्नया गाउँपालिकामा ११, सिगास गाउँपालिकामा ११, पञ्चेश्वर गाउँपालिकामा नौ, शिवनाथ गाउँपालिकामा चार, पुर्चौडी नगरपालिकामा छ र दशरथचन्द नगरपालिकामा १२ वटा आधारभूत तहका विद्यालय पनि बन्द हुने जोखिममा छन् । यो अवस्था बैतडीमा मात्र होइन, देशभरिकै धेरै गाउँको गम्भीर समस्या भएको छ । हुन त गाउँबाट बसाइँ सर्ने प्रवृत्ति संसारभर नै पाइन्छ । इटली, स्पेन जस्ता विकसित देशमा पनि गाउँमा बस्न जानेलाई अनेक प्रोत्साहन दिने गरेको समाचार यदाकदा पढ्न पाइन्छ । गाउँलाई योजनाबद्ध तवरले रोजगारी र अवसरको केन्द्र बनाउनु आवश्यक छ । गाउँमा आर्थिक अवसर स्थापना गर्न सक्दा मात्रै विद्यालय चल्न सक्छन् । गाउँ गलजार हुँदा मात्र देश समृद्ध हुन सक्ने छ ।