• १४ असार २०८१, शुक्रबार

विश्वविद्यालयमा तालाबन्दी गर्नु राम्रो होइन : शिक्षामन्त्री पौडेल

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार २० गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी लगाउने काम हुन नदिन सरकार सचेत रहेको बताउनुभएको छ । मन्त्री पौडेलले विश्वविद्यालयमा तालाबन्दी लगाउने काम सदाका लागि अन्त्य गर्न सरकारले समयमा परीक्षा लिने, परिणाम निकाल्ने र विद्यार्थीले पठनपाठनसम्बन्धि उठाएका अन्य मागको सम्बोधन गर्न गम्भिर छलफल र संवाद भइरहेको बताउनुभयो । 

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले विश्वविद्यालयमा तालाबन्दी लगाउन नहुने विषयमा सांसदहरुले राखेको धारणा जायज रहेको प्रतिक्रिया दिनुभयो । मन्त्री पौडेलले सांसदहरुले तालबन्दीको विरोध गरेपछि त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालयमा लगाइएको तालाबन्दी खुलेको पनि स्मरण गराउनु भयो । 

उहाँले भन्नुभयो, ‘विश्वविद्यालयसँग सम्बन्धित पठनपाठनमा केही समस्या आयो भने वार्ता, सहमति र संवादको माध्यामबाट हल गर्ने हो । चाबी लगाउने, तालाबन्दी गर्ने, डिष्टर्व गर्ने, प्रशासनिक काम गर्न नदिने, परीक्षा प्रणालीलाई विथोल्न खोज्नु राम्रो हँुँदैन ।”

अहिले रहेका कतिपय विश्वविद्यालय बन्नेक्रममा रहेको उहाँको भनाइ छ । “चालू रहेका विश्वविद्यालयलाई उहाँहरुको इक्ज्याम प्रणाली, परीक्षा निकाल्ने समय अवधि र त्यसलाई नियमन र नियमित गर्नका निम्ति हामी उहाँहरुसँग गम्भिर रुपमा छलफल, संवाद र कुराकानीमा छौं” उहाँले भन्नुभयो । 

लामो समयपछि त्रिभुवन विश्वविद्यालयको तालाबन्दी पनि यसैसँग सम्बन्धित रहेर सदनमा यो विषयमा कुरा उठेको हुनाले कतिपय तालाबन्दी गर्ने पक्षलाई नैतिक दवाव भएको हुनाले अहिले त्रिभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालयमा तालाबन्दी नरहेको उहाँले बताउनुभयो । तालाबन्दी नहोस् भन्ने कुरा  जायज रहेको उहाँले बताउनुभयो । मन्त्री पौडेलले विश्वविद्यालयको पठनपाठनमा अवरोध हुनेखालका कुनै पनि गतिविधि राम्रो नभएको बताउनुभयो ।