रामकृष्ण बोहरा
बागलुङ, माघ ३ गते । धौलागिरिको एकमात्र आङ्गिक क्याम्पस धौलागिरि बहुमुखी क्याम्पस बागलुङले शैक्षिक तथा प्रशासनिक गतिविधिलाई प्रभावकारी बनाउन ‘आदेश शृङ्खला’ नीति लागु गर्ने भएको छ ।
क्याम्पसले सेवासुविधा र कार्यसम्पादन मूल्याङ्कनका लागि गुणस्तरमा ख्याल गर्ने, गुणस्तरीय शिक्षामार्फत क्याम्पसलाई मानित विश्वविद्यालय बनाउने नीति अबलम्बन गर्दै अगाडि बढेको क्याम्पस प्रमुख सहप्राध्यापक डा. सुदर्शन सिलवालले बताउनु भयो ।
‘आदेश शृङ्खला’ अन्तर्गत सबै विभाग, शाखा र प्रशासनलाई उत्तरदायी र जवाफदेही बनाउने लक्ष्य छ । अघिल्लो वर्ष क्याम्पसले क्युएए प्रमाणपत्र पाइसकेको छ । यो प्रमाणपत्र पाएपछि क्याम्पसबाट उत्तिर्ण हुने विद्यार्थीले पाउने प्रमाणपत्र अन्तर्राष्ट्रिय बजारमा उचित सम्मान पाउने गर्छ । यो प्रमाणपत्र पाएपछि चालु शैक्षिकसत्रमा गत वर्षको तुलनामा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या समेत बढेको सिलवालले जानकारी दिनु भयो ।
क्याम्पस प्रशासनको तथ्याङ्क अनुसार गत वर्ष स्नातक तहमा ३ सय ५६ जना विद्यार्थी भर्ना भएकोमा चालु शैक्षिकसत्रमा ६ सय ४४ जना भर्ना भएका छन् । उत्तीर्ण प्रतिशत पनि बढ्दो छ । स्नातकमा ३३ प्रतिशत मात्र उत्तीर्ण भएकोमा स्नातकोत्तर तहमा ५४ प्रतिशत र दुवै तर्फको हेर्दा ३६ प्रतिशत उत्तीर्ण दर रहेको छ ।
सहायक क्याम्पस प्रमुख डिल्लीराज गौतमका अनुसार क्याम्पसमा शैक्षिक रूपमा विद्यार्थी उत्पादन गर्ने मात्र नभइ उत्पादन र बजारसँग विद्यार्थी जोड्ने लक्ष्य राखिएको छ । त्यसका लागि आर्थिक चुनौती रहेको छ । क्युएए प्रमाणपत्र पाएपछि अद्यावधिक गर्नेसहित स्वायत्तताको मूलमर्म बमोजिम आवश्यक जनशक्तीको व्यवस्थापन गर्ने चुनौती छ ।
२०१९ सालमा स्थापित क्याम्पसमा अहिले स्नातकोत्तर तहसम्मको पठनपाठन भैरहेको छ । विज्ञान र बिबिएतर्फ नेपालमै उत्कृष्ट नतिजा ल्याउन क्याम्पस सफल भएको छ ।
स्थापनाको ६३ औं वर्षगाँठलाई विशेष पर्वको रूपमा मनाइरहेको क्याम्पसले छात्रछात्रा फुटबल, क्रिकेट, म्याराथुन, एथ्लेटिक्ससहितका खेलकुद गतिविधि, पूर्व विद्यार्थी, प्राध्यापक र कर्मचारीबिच भेट, वादविवाद, राजनीतिशास्त्र विभाग र इतिहास विभागको आयोजनामा शैक्षिक बहस, अन्तर विद्यालयस्तरीय थिम प्रतियोगिता समेत आयोजना गरिएको छ ।