• २ असार २०८१, आइतबार

नगर प्रमुखद्वारा प्रहरीमा आत्मसमर्पण

blog

शिवराज ढुंगाना 

अछाम, असार १९ गते । बालक हत्या आरोपमा फरार रहनुभएका पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेले अछाम प्रहरीमा आत्मसमर्पण गर्नुभएको छ । चलाउनेसँगै घटनाका अर्का आरोपी नेत्रबहादुर शाहीले पनि प्रहरीमा आत्मसमर्पण गर्नुभएको अछामका प्रहरी प्रमुख डीएसपी नारायण डाँगीले जानकारी दिनुभयो । 

आत्मसमर्पण गर्नुभएका मेयर चलाउनेसहितलाई हाल अछाम प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पञ्चदेवल विनायक नगरपालिका –४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको हत्याका योजनाकार भन्दै चलाउने र शाही र अन्य ११ जना हत्यामा संलग्न भएको भन्दै पीडित पक्षले १३ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको थियो । हत्याको आरोपमा कालिकास्थानकै पाँच जना यसअघि पक्राउ परेका थिए । अन्य छ जना हालसम्म फरार रहेको प्रहरीले जनाएको छ ।  

प्रहरीले अनुसन्धान गरेर घटनालाई आइतबार नै जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी भइरहेको बताइएको छ । “२४ दिन पुगिसक्यो, हामीले घटनालाई सरकारी वकिलमा बुझाउँदै छौं” डीएसपी डाँगीले भन्नुभयो । सरकारी वकिल कार्यालयको निर्णयअनुसार घटना अदालत पेश गर्ने बताइएको छ । 

जेठ १७ गते बेलुकीबाट वेपत्ता भएका विनोद पाँच दिनपछि पञ्चदेवल क्याम्पस नजिक मध्यपहाडी सडकभन्दा तल खोंचमा मृत अवस्थामा फेला परेका थिए । जेठ २१ गते मृत फेला परेका शाहीका आफन्तले हत्यारालाई कार्वाही नभएसम्म शव उठाएका थिएनन् । गत जेठ २५ गते घटनास्थलबाट शव उठाएका थिए ।