• १३ असोज २०८१, आइतबार

मनसुन फेसनमा बुट्टेदार स्कर्ट

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १८ गते । हावाको वेग सरी फेसन पनि परिवर्तन भइरहेको हुन्छ । कहिले कुन फेसन आउँछ त कहिले कुन । अहिले युवतीमाझ बुट्टेदार स्कर्ट फेसनमा आएको छ । लामो स्कर्ट, चेक प्रिन्ट, बेल्ट र फूलबुट्टा डिजाइनमा निकै रुचाइएको व्यापारीहरूको भनाइ छ । 

गर्मी तथा मनसुन मौसममा सजिलो तथा शीतलता प्रदान गर्न यसको माग धेरै बढेको छ । कटन, सिफन र सिल्क कपडा (फेब्रिक)मा लङ स्कर्ट उपलब्ध छन्, व्यापारी सम्झना तामाङले बताउनुहुन्छ । उहाँले कटनको कपडा धोएपछि घट्ने भएकाले सिल्क कपडामा बढी बिक्री हुने बताउनुभयो । 

अहिले युवतीमा सजिलो र फेसनेवल लुगाको माग बढी हुने भएकाले पनि यस प्रकारका स्कर्ट रोजाइमा परेको बताउनुभयो । फूलबुट्टे धेरै रङ उपलब्ध भएकाले गर्मीमा शीतलता प्रदान गर्ने नीलो, बैजनी, हल्का पहेँलो रङ बढी रुचाइएको तामाङले जानकारी दिनुभयो । 

मय्जु बुटिकका सञ्चालक रुविना महर्जनका अनुसार अहिलेको समरमा स्कर्ट एकदमै फेसनमा रहेको जानकारी दिनुभयो । धेरै प्रकारका स्कर्ट बजारमा छन् तर युवतीले भने बुट्टेदार स्कर्टलाई बढी रुचाएका छन् । अघिल्लो वर्ष घुँडाभन्दा तलसम्म आउने स्कर्ट बढी चलेको थियो भने अहिले त्यही बुट्टेदार स्कर्ट घुँडाभन्दा माथिको बढी रुचाइएको उहाँ बताउनुहुन्छ । महर्जनका अनुसार घुँडाभन्दा माथिको स्कर्टमा पनि कसिलो र खुकुलो दुईवटा डिजाइन बढी चलेको छ । 

कटन र सिफन कपडाका स्कर्टहरू रुचाइएको तथा सेतो रङको स्कर्ट बढी चल्तीमा रहेको बताउनुभयो । मिनी स्कर्ट पनि अहिले किशोरीहरूको रोजाइमा पर्ने गरेको छ, कक्षा १२ मा अध्ययनरत निता अधिकारीलाई मिनी स्कर्ट नै मनपर्ने बताउनुभयो । उहाँले जिन्सको मिनी स्कर्ट, चेक मिनी स्कर्ट र प्रिन्ट मिनी स्कर्ट गर्मी मौसममा सजिलो र शीतलता प्रदान गर्ने भएकाले खरिद गरेको बताउनुभयो । 

उहाँ मात्र होइन व्यवस्थापनमा स्नातकोत्तर गरिरहनुभएकी रसिका मकाजु पनि स्कर्ट लगाउन सजिलो भएको बताउनुहुन्छ । सिफन र सिल्क कपडाको वान पिस, स्कर्ट सजिलो हुने भएकाले अहिले यस्तै प्रकारको लुगा लगाउने बताउनुभयो । त्यसका साथै घुँडाभन्दा थोरै तलसम्मको स्कर्ट पनि रुचाइएको छ । फ्लोरल प्रिन्ट भएको स्कर्ट उहाँलाई मनपर्ने जानकारी दिनुभयो । 

फ्लोरल प्रिन्टसँगै रिङ्कल डिजाइन र सादा डिजाइनको स्कर्ट पनि बजारमा भर्खरै भित्रिएको छ । गुलाबी, सेतो र पर्पल रङ बढी चलेको छ । फ्लोरल प्रिन्ट स्कर्टको बढी माग छ । फ्लोरल प्रिन्ट स्कर्टमा साइड कट स्कर्ट, बटन स्कर्ट, लेयर स्कर्ट, नि लेन्थ र लङ लेन्थलगायतका डिजाइन उपलब्ध छन् ।