• १३ साउन २०८१, आइतबार

अदालतको आदेशपछि मिर्गौला प्रत्यारोपण

blog

काठमाडौं, असार १७ गते। उच्च अदालत पाटनको आदेशपछि हरिगोपाल प्रजापतिले दिदी राधा महर्जनलाई दिएको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण भएको छ। 

दाता र ग्रहणकर्ताको नागरिकता प्रमाणपत्रमा भाइको उमेर दिदीको भन्दा बढी जनिएका कारण रोकिएको मिर्गौला प्रत्यारोपण उच्च अदालत पाटनको आदेशपछि बिहीबार भएको हो। उच्च अदालत पाटनको असार ८ गतेको फैसला अनुसार बिहीबार किष्ट मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपण भएको हो।

एकै आमाको कोखबाट जन्मिएका दिदी र भाइको नागरिकता प्रमाणपत्रमा उमेरको फरक जम्मा २३ दिन भएकोले उपचारमा बाधा पुगेको भनी जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा नागरिकता प्रमाणपत्रमा जन्म मिति सच्चाउन निवेदन दिइएको थियो। 

जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रमाणपत्र सच्याउन नमान्दा दिदी राधा महर्जनले असार ७ गते किष्ट मेडिकल कलेज, जिल्ला प्रशासन कार्यालय, काठमाडौंसहित ६ जनालाई विपक्षी बनाई उपचारको माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दिनुभएको थियो। 

शंखरापुर नगरपालिका वडा नम्बर ६, साँखुमा जन्मनुभएकी राधा महर्जनका दुई दिदी र दुई भाइ छन्। दिदी राधालाई मिर्गौला दिन हरिगोपाल प्रजापति किष्ट मेडिकल कलेज पुगेपछि नागरिकतामा उनीहरुको उमेर नमिलेको खुलेको हो। 

स्थानीय तहबाट साक्षी सर्जमिन गरी नाता सम्बन्ध खुलेको कागज आइसकेपछि उपचार प्रक्रिया अगाडि बढाएको किष्ट मेडिकल कलेजले मिर्गौला प्रत्यारोपण स्वीकृति समितिले सिफरिसको लागि नागरिकता सच्चिनुपर्ने अडान लिएपछि प्रत्यारोपण कार्य रोकिएको थियो। 

मिगौला प्रत्यारोपण स्वीकृत समितिको सुझाव अनुसार नागरिकता प्रमाणपत्रमा जन्ममिति संशोधन गर्न जिल्ला प्रशासन कार्यालयले सर्जमिन मुचुल्कासमेत गरेर दिदी भाइको नाता सम्बन्ध र जन्ममिति खुलिसकेपछि पनि नागरिकता संशोधन गरेन्। 

मिर्गौला प्रत्यारोपण स्वीकृति समिति स्वायत्त समिति भएको र त्यसमा कानुन व्यवसायीसहित जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसमेत सदस्य रहने गर्छन्। चार जनाको स्वीकृति समितिले नाता सम्बन्ध खुल्ने कागजातसहित नागरिकता संशोधन गर्न वा जिल्ला प्रशासन कार्यालयबाट प्रत्यारोपण अनुमतिसहित सिफारिस लिएर आउनु भने पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले नागरिकता संशोधन वा सिफारिस पत्रसमेत दिन अस्वीकार गरेको थियो। 

न्यायको खोजी गर्दै उच्च अदालत पाटनमा दायर रिट निवेदकको तर्फबाट अधिवक्ता विनोद फुयाल र निमराज बुढाले बहस गर्नुभएको थियो। 

निवेदकको हकमा मिगौला प्रत्यारोपण कार्य नरोक्नु भनी विपक्षीको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश जारी भएको हो। सोही आदेशको सम्मान गर्दै किष्ट मेडिकल कलेजले उपचार प्रक्रिया अगाडि बढाएको हो। 

अहिले दाता र ग्रहणकर्ताको मिर्गौला प्रत्यारोपण कुशलतापूर्वक सम्पन्न भएको र बिरामी र दाताको स्वास्थ्यमा उल्लेख्य सुधार भएको किष्ट मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत अक्षयप्रसाद गौतमले जानकारी दिनुभयो।