• ३ माघ २०८२, शनिबार

गेग्य्रान थुप्रिँदा उकासियो कालीगण्डकी नदी

blog

मुस्ताङ हुँदै बग्ने कालीगण्डकी नदीमा नदीजन्य वस्तु थुप्रिएर बनेको बगर र आसपासको क्षेत्र । तस्बिरः हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), माघ ३ गते । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कालीगण्डकी नदीमा नदीजन्य वस्तु थुप्रिँदा तटीय क्षेत्रमा जोखिम बढेको छ ।

वर्षाैंदेखि ढुङ्गा, गिट्टी, बालुवा थुप्रिएर बनेको विशाल बगर बनेको छ । बगरको नदीले उचाइ लिने क्रममा बस्तीको सतहभन्दा उच्च हुने जोखिमका कारण तटीय क्षेत्र आसपासका खेतीयोग्य जमिन मासिएको छ । बस्ती जोखिममा परेका छ । नदीमा पानी कम भएको र फराकिलो बगर भएर बग्दा तल्लो मुस्ताङको तटीय क्षेत्रमा कालीगण्डकी उकासिए पनि उचित व्यवस्थापन हुन सकेको छैन । 

बाराजुङ मुक्ति क्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाको तटीय क्षेत्रमा थुप्रिएको नदीजन्य वस्तुका कारण बर्खाको समयमा उर्लिएर आउने कालीगण्डकीले बस्ती क्षेत्र समेत कटान गरेको छ । केही बस्ती विस्थापित हुने जोखिमका कारण बर्सेनि तटबन्धनलाई बजेट विनियोजन गर्नुपर्ने बाध्यता रहेको छ । 

जिल्लामा कालीगण्डकी नदीमा थुप्रिएको गेग्य्रानको उत्खनन् गरी नदीको गहिराइमा बग्ने वातावरण बनाउन गएको मङ्सिर ४ गते जिल्लास्थित स्थानीय तहका प्रमुखले प्रधानमन्त्री शुसिला कार्कीलाई १० बुँदे ज्ञापनपत्र समेत बुझाएका थिए । 

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले कालिगण्डकी र सहायक नदीमा थुप्रिएको ग्रेग्य्रानको उचित व्यवस्थापन र तटीय क्षेत्रमा फैलिएको नदी नियन्त्रणमा लागि तटबन्धन आवश्यक रहेको बताउनु भयो । अध्यक्ष लालचन भन्नु हुन्छ, ‘‘वर्षौदेखिको माग पूरा भएको छैन, गेग्रानले तटीय क्षेत्रमा रहेको बस्तीसँगै खेतीयोग्य जमिनमा असर गरेको छ, अब पनि ढिलाइ भएमा झन जोखिम बढ्छ ।’’

कालीगण्डकी नदीको गहिराइसँगै नदीजन्य वस्तुको बिक्रीबाट समेत राज्यले अरबाैं आम्दानी गर्न सकिने अध्यक्ष लालचनको भनाइ छ । गेग्य्रान थुप्रिएको क्षेत्रमा बर्सेनि नदीले धार परिवर्तन गर्दा तटीय क्षेत्रका बासिन्दाको खेतीपाती नै नष्ट हुन थालेपछि क्षर्तीपूर्तीको माग गर्ने गरिएको छ । 

जलवायु परिवर्तनका कारण माथिल्लो क्षेत्रबाट आउने बाढीले समेत समस्या हुने गरेको बारागुङ मुक्तिक्षेत्र–४, का वडा अध्यक्ष कर्म घ्यचो गुरुङले बताउनु भयो । वडाध्यक्ष गुरूङले भन्नु भयो, “नदीजन्य वस्तु उत्खननकाे सुविधा दिएमा सहज हुन्छ, कानुनी झन्झटका कारण स्थानीयले समेत घरायसी कामका लागि उत्खनन गर्न पाउँदैनन् ।’’ 

कागखोला र कालीगण्डकी नदीले कागबेनीमा कटानसँगै तटीय क्षेत्रमा समेत असर गरेको वडाध्यक्ष गुरूङको भनाइ छ । बि.स. २०८० साउन २८ गते कागखोला थुनिएर आएको बाढीले क्षति पुगेको थियो । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढ्दै जाँदा पछिल्लो समय बेमौसमी बाढी आउने खतरा छ । 

तल्लो मुस्ताङको छुसाङ, कागबेनी, तिरी, जोमसोम, मार्फा, टुकुचे, कोवाङ, धम्पु, खन्ती, सौरु, लार्जुङ, कोखेठाँटी, क्षेत्रमा गेग्य्रानका कारण बस्ती जोखिममा परेको छ । कुनै स्थानमा नदी र घरको दूरी करिब ८ देखि १५ मिटर छ भने केही स्थानमा नदीभन्दा घर होचो ठाउँमा छ । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्र पर्ने भएकाले कालीगण्डकी नदीबाट जथाभाबी ढुङ्गा, गिट्टी, बालुवा निकाल्न पाइँदैन । स्थानीयले घर बनाउनु परे निकाल्न सक्ने तर व्यावसायिक प्रयोजनले उत्खनन गर्न प्रतिबन्ध छ । 

ढुङ्गा, गिट्टी, बालुवा तथा माटोजन्य पदार्थको संशोधन गरी स्थानीय तहलाई अधिकार सम्पन्न नबनाएसम्म समस्या समाधान नहुने मुस्ताङका स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ । नदी कटान र गेग्य्रान व्यवस्थापनका लागि प्रचलित ऐन, नियम र कानुनहरू संशोधन गर्न समेत माग गरिएको छ ।