• ३ माघ २०८२, शनिबार

विशेष महाधिवेशनलाई आयोगको वैधता,कांग्रेस सभापतिमा गगन थापा

blog

काठमाडौँ, माघ ३ गते  । निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिक र आधिकारिक मान्यता प्रदान गरेको छ । आयोगको यो निर्णयसँगै नेपाली कांग्रेसभित्र रूपान्तरण र परिवर्तनको बहस अन्ततः निष्कर्षमा पुगेको छ । योसँगै नेपाली कांग्रेस पार्टीको बागडोर दोस्रो पुस्तामा आएको छ । 

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन ‘कांग्रेस बदल्नका लागि, बदलिएको कांग्रेसमार्फत देश बदल्नको लागि’ नाराका साथ भदौ २७ देखि ३० गतेसम्म काठमाडौँमा आयोजना गरिएको थियो । महाधिवेशनले पार्टीको नेतृत्व, नीति र विधान परिवर्तनको निर्णय गरेको छ । कांग्रेसको पहिलो विशेष महाधिवेशन २०१४ जेठ १० र ११ गते विराटनगरमा सम्पन्न भएको थियो ।

२०१२ माघ ९ देखि १३ गतेसम्म आयोजित छैटौँ महाधिवेशनबाट सभापतिमा निर्वाचित कांग्रेसका संस्थापक सुवर्णशमशेरले पहिलो विशेष महाधिवेशनमार्फत संस्थापक बिपी कोइरालालाई नेतृत्व हस्तान्तरण गर्नुभएको थियो । सोही एकताको जगमा कांग्रेसले २०१५ को आमनिर्वाचनमा १०९ मध्ये ७५ सिटमा जितेर दुई तिहाइ मत हासिल गरेको थियो । 

दुई हजार ४८८ जना अर्थात् ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै गत असोज २९ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएका थिए तर निवर्तमान केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ गतेको बैठकले बहुमतका आधारमा २०८३ वैशाख २८, २९, ३० र ३१ गते पार्टीको १५ औँ महाधिवेशनको मिति तय गरेपछि तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको प्रव्रिmया अघि बढाउनुभएको थियो । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको अनुपस्थितिमै विशेष महाधिवेशन सम्पन्न भयो । 

कांग्रेसलाई एकताबद्ध बनाउँछु : सभापति थापा 

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकताबद्ध बनाएर साझा दृष्टिकोणका साथ अघि बढ्ने बताउनुभएको छ । निर्वाचन आयोगको निर्णयपछि सङ्क्षिप्त प्रव्रिmया दिँदै उहाँले विशेष महाधिवेशनमा सहभागी भएका र नभएका सम्पूर्ण नेता कार्यकर्ता पङ्क्तिलाई एकताबद्ध बनाएर अघि बढ्ने बताउनुभएको हो । 

यसै गरी सभापति थापाले शुव्रmबार विज्ञप्तिमार्फत कांग्रेस एकाकार निर्वाचनमा होमिने बताउनुभएको छ । उहाँले सबैलाई विश्वास र भरोसा राख्न अनुरोध गर्दै कांग्रेस नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अगाडि बढेको बताउनुभएको छ । उहाँले रूपान्तरणको यात्रा सुरु भइसकेको र अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आसन्न निर्वाचनमा एकढिक्का भई लाग्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “विशेष महाधिवेशनमा सहभागी हुनुभएका÷नहुनुभएका, सहमत हुनुभएका÷नहुनुभएका सबै नेपाली कांग्रेसमा आबद्ध वडादेखि केन्द्रसम्म, देश विदेशमा रहनुभएका सम्पूर्ण अग्रज तथा साथीलाई आग्रह गर्न चाहन्छु, यो विधिविधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन, कुनै अलमलमा नपरौँ, सबै संयम होऔँ, जिम्मेवार बनौँ, एकताबद्ध रहौँ ।” सभापति थापाले पार्टीमा कुनै गुट नरहेको र गुटगत भागबन्डा नहुने प्रस्ट पार्नुभएको छ । उहाँले भन्नुभएको छ, “जिम्मेवारी फरक होला तर भुइँ तहमा रहेका सदस्य र केन्द्रीय सभापतिको समान हैसियत हो, हुने छ । तपाईंहरूको चाहना नै हाम्रो निर्णयको आधार हुने छ ।”

कांग्रेस पार्टी नेता र यसका सीमित सदस्यको मात्रै नभई आममानिसको सार्वजनिक पुँजी भएको बताउँदै सभापति थापाले यो यात्रामा लोकतन्त्र र समुन्नतिका निम्ति रूपान्तरित कांग्रेस देख्न चाहने तमाम देशभित्र र बाहिर रहेका लाखौँ शुभेच्छुकजनप्रति विशेष आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्मालोचना गर्दै समीक्षा गरेको छ, अहिलेसम्मका उपलब्धिलाई समयको पदचाप अनुसार थप संस्थागत गर्ने सङ्कल्प गरेको छ, अब कांग्रेस बदलिएको छ, बदलिने छ ।” 

सभापति थापाले कांग्रेस आमनेपालीको अपेक्षा र नवयुवाको परिवर्तनको आकाङ्क्षा अनुरूप अगाडि बढ्ने उद्घोष गर्नुभएको छ । उहाँले लोकतान्त्रिक र जनमुखी पार्टी जस्तो हुनु पर्छ, त्यस्तै बनाउने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “अब कांग्रेसले मूल्य र सिद्धान्तविपरीत गएर कुनै सम्झौता गर्ने छैन, सत्ताका लागि जोसंँग जहिले पनि अप्राकृतिक गठबन्धन गर्ने कुरा अन्त्य हुने छ । जसरी विगतमा हाम्रा अग्रजले लोकतन्त्र र जनअधिकारका लागि अग्रसरता लिनुभयो, त्यसरी नै अब कांग्रेसले यो संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्ने छ ।”

सभापति थापाले कांग्रेसमा विधिविधान र पद्धति स्थापित भएको र निर्वाचन आयोगले संविधान, प्रचलित कानुन र पार्टीको विधान अनुसार निर्णय गरेको बताउँदै यसप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँले यो कांग्रेसका सदस्य र शुभेच्छुकजनले कांग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमानदार प्रयत्नको साझा प्रतिफल भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “पार्टी नेताको चाहनाले मात्र होइन, आमसदस्यको चाहनाले चल्छ, बन्छ । अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्यमान्यता र आदर्शमा फर्केको छ ।” उहाँले यस परिस्थितिमा कांग्रेसलाई अगाडि बढाउन पार्टीका पूर्वसभापति शेरबहादुर देउवासहित पार्टीमा विभिन्न तह र निकायमा रहेका नेता कार्यकर्ताबाट पार्टीको लोकतान्त्रिक प्रव्रिmयालाई सहज रूपमा लिई पूर्ण साथ रहने विश्वास व्यक्त गर्नुभएको छ । 

‘आयोगको निर्णय अमान्य’

कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णय अमान्य रहेको बताउनुभएको छ । उहाँले आयोगको निर्णय संविधान, राजनीतिक दलसम्बन्धी कानुन र नेपाली कांग्रेसको विधानविपरीत रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचन आयोगको निर्णय षड्यन्त्रपूर्ण छ । हामीलाई अमान्य छ । यसविरुद्ध हामी राजनीतिक, कानुनी सबैखाले लडाइँ लड्छौँ ।”

यसअघि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले शुव्रmबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति नै आधिकारिक भएको दाबी गरेको थियो । निवर्तमान कार्यवाहक सभापति खड्काले नेपाली कांग्रेस पार्टीको विधानले कुनै पनि तहको अधिवेशन र केन्द्रीय महाधिवेशनसम्बन्धी निर्णय गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र प्रदान गरेको बताउनुभएको थियो । पत्रकार सम्मलेनमा कांग्रेसका पूर्वपदाधिकारी विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, नेता डा. शेखर कोइरालासहितको उपस्थिति थियो । 

‘विधान अनुसारै विशेष महाधिवेशन’ 

नेपाली कांग्रेसले पुस ३० गते विशेष महाविधेशनबाट सभापति गगनकुमार थापा नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमिति आधिकारिक भएको र विशेष महाधिवेशन विधान अनुसारै आयोजना गरिएको प्रस्ट पारेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले विशेष महाधिवेशन असोज २९ गते पार्टी कार्यालयमा दर्ता हुँदा कुल दुई हजार ४८८ महाअधिवेशन प्रतिनिधिको हस्ताक्षर संलग्न भएको र दर्तापछि २९ जनाले हस्ताक्षर फिर्ता लिएको जानकारी दिनुभएको छ । उहाँले केन्द्रीय कार्यालयमा हाल कायम चार हजार ६३५ मध्ये दुई हजार ६५२ महाअधिवेशन प्रतिनिधि उपस्थिति रहेको जानकारी दिनुभएको छ । 

गालीगलौजमा नउत्रिन निर्देशन 

कांग्रेसको नवनिर्वाचित कार्यसमितिले निवर्तमान सभापति देउवा पक्षबारे गालीगलौज र अनावश्यक टीकाटिप्पणी नगर्न निर्देशन दिएको छ । सहमहामन्त्री मुक्ताकुमारी यादवले कांग्रेस पार्टीलाई एकताबद्ध राख्न, आपसी सद्भाव र विश्वास कायम राख्न गालीगलौजमा नउत्रिन आग्रह गरिएको बताउनुभयो । उहाँले लोकतान्त्रिक संस्कार प्रस्तुत गर्दै तार्किक बहस गर्न आग्रह गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अग्रज पुस्ताको आशीर्वाद लिएर कांग्रेसलाई रूपान्तरण गर्ने दायित्व हामीमाझ आइपुगेको छ । त्यसैले एकआपसमा भिड्ने होइन, सद्भाव राखेर अघि बढ्न सबैलाई अनुरोध गरिएको छ ।” 

केन्द्रीय कार्यसमिति बैठक बस्ने 

नेपाली कांग्रेसका निवर्तमान सभापति देउवा पक्षले पूर्वकेन्द्रीय कार्यसमितिका पदाधिकारीको बैठक आह्वान गरेको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार निवर्तमान कार्यवाहक सभापति खड्काको निर्देशन अनुसार शनिबार बिहान बैठक बस्ने छ ।