• ३ माघ २०८२, शनिबार

विपद् न्यूनीकरणका लागि सहकार्य आवश्यक

blog

राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागीहरू। तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी, माघ ३ गते। गुल्मीको तम्घासमा भएको कार्यक्रमका सहभागीहरूले विपद् जोखिम न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ। विशेषगरी स्थानीय तह र समुदायबिच सहकार्यमा विपद् जोखिम न्यूनीकरण गर्न सकिने बताइएको हो। 

“सबै तहका सरकार, सबै नागरिकको तयारी, भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी” भन्ने राष्ट्रिय नारासहित तम्घासमा भएको २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले विपद् जोखिम न्यूनीकरणका लागि पूर्व तयारी अत्यन्त महत्त्वपूर्ण रहेको बताउनु भएको छ। उहाँहरूले भूकम्प प्राकृतिक विपद् भए पनि अव्यवस्थित बसोवास र मानवीय लापरबाहीका कारण ठुलो जनधनको क्षति हुने गरेको बताउनु भयो। 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले आयोजना गरेको भूकम्प जोखिम न्यूनीकरण तथा जनचेतनामूलक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सबै तयार हुन आवश्यक रहेको बताउनु भयो। 

भूकम्पीय जोखिम न्यूनीकरणका लागि सबै तयारी हुन आवश्यक रहेको भन्दै भूकम्पबाट हुने क्षति कम गर्न पूर्व तयारीमा सबै लाग्नु पर्ने प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनु भयो। उहाँले सुरक्षित घर निर्माण, आपतकालीन सामग्रीको व्यवस्था र नियमित अभ्यासले जनधनको क्षति घटाउन भूमिका खेल्ने बताउनु भयो। कार्यक्रमका सभापति राधा पन्थीले रेडक्रसले समुदायस्तरमै पुगेर भूकम्पसम्बन्धी सचेतना, उद्धार तालिम र विपद् प्रतिकार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताउनु भयो। 

कार्यक्रममा भूकम्प आउँदा र भूकम्पपछिका समयमा अपनाउनुपर्ने सावधानी, सुरक्षित बसाइँसराइ, खुला स्थानको प्रयोग, प्राथमिक उपचार र आपतकालीन सम्पर्क प्रणालीका विषयमा प्रस्तुति राखिएको थियो।