गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ३ गते । सम्पादक समाज नेपालले संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा शनिबार विभिन्न अग्रज तथा सक्रिय पत्रकारलाई सम्मानित तथा पुरस्कृत गरेको छ ।
समाजको कार्यालय शिवपुरी ७ सुरइरेचौरस्थित आफ्नै भवन गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रमा आयोजित विशेष समारोहबिच पूर्व राष्ट्रपति डा. रामवरण यादवले पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभयो ।
सो क्रममा डा. यादवले वियोगीको स्मरणमा स्थापना गरिएको वरिष्ठ पत्रकार शरदचन्द्र वस्ती र सुदर्शन आचार्यलाई सम्पादक समाज नेपाल सम्मानले सम्मानित गर्नुभयो ।
वस्ती नेपाली भाषा विज्ञ हुनुहुन्छ । आचार्य स्तम्भकार हुनुहुन्छ । त्यस्तै, ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०८२’ बाट रत्न राज्यलक्ष्मी क्याम्पस, पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. जगत नेपाल पुरस्कृत हुनुभयो । उक्त पुरस्कार प्रमाणपत्रसहित नगद २५ हजार एक रुपियाँ राशिको रहेको छ ।
यस्तै, गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार वातावरण संरक्षण तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणमा कलम चलाउँदै आउनुभएका गोरखापत्र दैनिककी पत्रकार चाँदनी हमाल सम्मानित हुनुभयो ।
नेपाल भाषामार्फत पत्रकारिता क्षेत्रमा योगदान पु¥याउँदै आउनु भएका ‘शुक्रवाः या तँसापौ’ साप्ताहिकका स्तम्भकार राजेन्द्र मानन्धरलाई पनि विशेष पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । दुबै विशेष पत्रकारिता पुरस्कारको राशी जनही १५ हजार एक रुपियाँ नगद र प्रमाणपत्र रहेको छ ।
महासचिव श्याम डोटेलका अनुसार सम्पादक समाज नेपालको २०८२ पुस २७ गते बसेको बैठकले निर्णय अनुसार पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।
सम्मान तथा पुरस्कार वितरणपछि सम्बोधन गर्नुहुँदै प्रथम राष्ट्रपति यादवले देशको जटिल अवस्थामा पत्रकारहरुले पत्रकारिताको धर्म नछाडि आफ्नो भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
पत्रकारिता क्षेत्रमा पत्रपत्रिकासमेत निकै थोरै प्रकासन हुने पुरानो कालखण्डमा वियोगीको यस क्षेत्रमा निर्वाह गर्नु भएको भूमिका निकै उदाहरणीय रहेको उहाँले चर्चा गर्नुभयोे ।
कार्यक्रममा समाजका अध्यक्ष पुरु रिसाल र गोरखापत्र दैनिकका प्रधानसम्पादक जुनारबाबु बस्नेतले संस्थाले पत्रकारिता तथा पछिल्लो समयको ज्वलन्त विषय जलवायु परिवर्तनको सवालमा वकालत गर्दैआएको औल्याउनुभयो ।
त्यस्तै संस्थाका महासचिव श्याम डोटेल वरिष्ठ पत्रकार तीर्थ कोईराला, टंक पन्त लगायतले पत्रकारितामा देखिएको पछिल्लो प्रवृतिबारेमा चर्चा गर्नुभएको थियो ।