• १२ साउन २०८१, शनिबार

मुटुको उपचार नपाउँदा बालक पीडामा

blog

विरामी बालकको उपचारका लागि सहयोग माग्दै आमा निर्मला ठगुन्ना । तस्बिरः गोकर्ण दयाल

गोकर्ण दयाल 

बैतडी, असार १७ गते । तीन वर्षीया मोहन ठगुन्नालाई मुटु रोगले च्यापेको करिब चार महिना भयो । बैतडी अस्पताले उपचारका लागि रेफर गरेको तीन महिना बितिसकेको छ । बालकका आमाबुवासँग उपचार गर्ने रकमको जोहो नहुँदा मुटु रोगी बालकको उपचार हुन कठिन भएको हो ।  

दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने आमा निर्मला ठगुन्ना बिरामी छोरो काखी च्यापेर उपचारका लागि याचना माग्दै भौतारिरहनु भएको छ । बालकको पीडा र आमाको रोदन सुनेर केही मनकारीले दुई चार हजार रुपियाँ सहयोग दिए पनि उपचारका उक्त रकम नपुग्ने बालकका आमा निर्मलाले बताउनुभयो ।  

“दैनिक ज्याला मजदुरी गरेर चुलो बाल्दै आएका छौं”, निर्मलाले आँसु झार्दै भन्नुभयो, “मुटु रोगको उपचार गर्न लाखौं रुपियाँ कहाँबाट जुटाउने होला ? छोरा बचाई दिने भगवान कहाँ होला ?”      निर्मलाका श्रीमान दैनिक ज्याला मजदुरी गर्ने भरिया हुनुहुन्छ । तीन वर्षअघि छोरा जन्मिदा खुसी भएको यो मजदुर परिवार बालकलाई मुटु रोगले च्यापेपछि आँसुको आहालमा छ ।

बालकले छाती दुःख्योभन्दा निर्मला ठगुन्ना भक्कानिएर रुने गर्नुभएको छ । भोकभोकै सहयोगको याचना माग्दै बैतडी सदरमुकाममा भौतारिदा उपचार खर्च नजुटेपछि बिरामी बालक काखी च्यापेर नगरपालिका पुग्दा सात हजार रुपियाँ सहयोग पाएको निर्मलाले बताउनुभयो । 

नगरपालिकाले दिएको सात हजार रुपियाँले बिरामी बालक बोेकेर श्रीमान श्रीमती कसरी काठमाडौं पुग्ने ? अन्यौलमा पर्नुभएको छ । डाक्टरले बालकको उपचार समयमै गर्न सुझाव दिएपनि ठगुन्ना दम्पतीको आर्थिक अवस्था दयनीय हुँदा बालकले समयमै उपचार पाउन सकेका छैनन् । बालकको उपचारका लागि स्थानीय सरकारले गरेको  पहलकदमीका विषयमा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशीले नगरपालिकाबाट आवश्यक सहयोग हुने आश्वासन दिनुभयो । 

मुटुरोगी बालकका विषयमा स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टसँग कुरा गर्दा उहाँले स्वास्थ्य कार्यालयसँग उपचारका लागि आर्थिक सहयोग दिने कुनै अधिकार नभएको बताउनुभयो ।       स्वास्थ्य प्रमुख भट्टले भन्नुभयो, “स्वास्थ्यको सबै अधिकार स्थानीय तहको सरकारसँग छ । प्रदेश सरकारले पनि विपन्न नागरिकको उपचारका लागि सहायता कोष स्थापना गरेको छ । बिरामी बालकका आमा बुवाले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा सम्पर्क गर्न अनुरोध गर्छु ।”