गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ७ गते । गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) ले मुलुकको समृद्धिका लागि नयाँ सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको छ ।
कार्य समितिका नवनिर्वाचित उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मीले झन्डै दुई तिहाइ जनमतमार्फत बन्ने आगामी सरकारले राजनीतिक स्थायित्व कायम गर्न सफल हुने बताउँदै मुलुकको समृद्धिका लागि अब बन्ने सरकारसँग सहकार्य गर्न एनआरएनए तयार रहेको बताउनुभयो ।
मुलुकमा लामो सयमदेखि व्याप्त राजनीतिक अस्थिरताका कारण नेपाल आर्थिक तथा सामजिक रूपमा निकै पछाडि परेको बताउँदै डा. रेग्मीले भन्नुभयो, “राजनीतिक अस्थिरताका कारण विगत ३० वर्षमा ३० जना प्रधानमन्त्री बन्ने अवस्थाका कारण मुलुकमा अपेक्षित आर्थिक विकास हुन सकेको थिएन । झन्डै दुई तिहाइ जनमत प्राप्त आगामी सरकारले राजनीतिक स्थिरता कायम गर्छ भन्नेमा हामी विश्वस्त छौँ ।” उहाँले विदेशमा आर्जन गरेको रकम, ज्ञान, सिप आफ्नै मातृभूमिमा लगानी गर्न हरेक एनआरएनए इच्छुक रहेको बताउँदै त्यसका लागि सरकारले सामाजिक र आर्थिक अधिकारसहितको नागरिकता प्रदान गर्न ढिला गर्न नहुने बताउनुभयो ।
विगतमा एनआरएनएको नेतृत्व चयनमा देखिएका केही त्रुटि र राजनीतिक हस्तक्षेपका कारण अन्योल सिर्जना भएको बताउँदै उहाँले विगतका सबै कमजोरीलाई अन्त्य गर्दै एनआरएनएको नयाँ कार्यसमिति चयन भएको र नेपालमा पनि नयाँ जनादेशसहितको सरकार गठनसँगै सहकार्य गर्न आफूहरू इच्छुक रहेको बताउनुभयो । विगतका कार्यसमिति चयनको विवाद र समानान्तर समिति बन्ने अवस्थाका कारण एनआरएनएले सोचे जस्तो काम गर्न नसकेको स्वीकार गर्दै डा. रेग्मीले भन्नुभयो, “यसको दीर्घकालीन समाधानका लागि यस पटक प्रत्यक्ष मतदानबाट कार्यसमिति चयन गरेका छौँ । अब एनआरएनए र सरकार दुवैमा स्थिरता कायम हुने भएकाले मुलुकको समृद्धिका लागि हामी हातेमालो गर्न चाहन्छौँ ।”
उहाँले विदेशमा रहेका नेपालीको हकहितको रक्षा गर्नु एनआरएनएको प्रमुख दायित्व रहेकाले मध्यपूर्व तथा खाडी क्षेत्रमा बसोबास गर्ने नेपाली र बर्मा, कम्बोडियालगायतका देशमा लामो समयदेखि बसोबास गर्ने नेपालीको हकहितका लागि विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो । एक पटकको नेपाली सधैँको नेपाली नीति लागु गर्न सके विदेशमा रहेको सिप र धन नेपाल भित्रिन सुरु हुने उहाँले बताउनुभयो ।
अस्ट्रेलियमा बसोबास गर्दै आएका डा. रेग्मीले बेरोजगारी समस्या अस्ट्रेलियमा पनि देखा पर्न सुरु हुँदा नेपाली विद्यार्थीमा पनि समस्या सिर्जना हुने भएकाले स्वदेशमा नै रोजगारीको सिर्जना अपरिहार्य रहेको बताउनुभयो ।
नयाँदेखि विगतमा स्थापित नेपालीको आफ्नो सिप र लगानीलाई स्वदेशमा लगानी गर्न चाहेको बताउँदै उहाँले विभिन्न क्षेत्रमा सफल व्यक्तिको कथा नेपालका लागि प्रेरणा र मार्गदर्शन बन्न सक्नेमा जोड दिनुभयो ।
नेपाल सूचना प्रविधि र पर्यटन र हस्पिटालिटीका लागि आकर्षक लगानीको गन्तव्य रहेको बताउँदै उहाँले युवापुस्ताको पलायन रोक्ने सरकारले विशेष कार्यक्रमसहित विदेशमा अनुभव प्राप्त नेपाली विज्ञलाई स्वदेशमा आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो ।