चन्द्र पन्दाक
ताप्लेजुङ, चैत ७ गते । ताप्लेजुङको उच्च हिमाली भेगमा हिमपात भएको छ । शुक्रबार साँझपछि परेको वर्षासँगै उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो ।
जिल्लाको उच्च हिमाली भेग फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले र वडा ७ ओलाङ्चुङगोलासहितका क्षेत्रमा हिमपात भएको छ । त्यस्तै मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोला क्षेत्र, मैवाखोला र आठराई त्रिबेणी गाउँपालिकाको माथिल्लो भेग मिल्के जलजले क्षेत्र, सिदिङ्वा गाउँपालिकास्थित तिम्बुङ पोखरी क्षेत्रलगायतमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् ।
यस्तै तीन हजार ७९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा समेत बाक्लो हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा धाम र फेदी बजार, गुराँसे डाँडा क्षेत्रसम्म नै हिउँ परेको छ । शनिबार पनि बिहानैदेखि मौसम धुम्मिएकाले वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यता उच्च हिमाली भेगमा हिमपात भएपछि जिल्लामा चिसो निकै बढेको छ । हिमाली भेगअन्तर्गत ओलाङ्चुङगोला, याङ्मा, फले, घुन्सासहितका बस्तीमा निकै चिसो बढेको फलेकी स्थानीय फुटी शेर्पाले जानकारी दिनुभयो । सदरमुकाम फुङ्लिङ बजारमा समेत निकै चिसोको महशुस गरिएको छ ।