• ७ चैत २०८२, शनिबार

बाँकेमा आगलागी, हावाहुरी र लु रोकथामका लागि प्रतिकार्य योजना स्वीकृत

blog

जिल्ला विपद् व्यवस्थापनको नेतृत्व गर्दै जिल्ला प्रशासन कार्यालय, बाँके । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, चैत ६ गते ।
बाँकेमा गर्मीयाम सुरु भएपछि तातो हावा (लु), आगलागी, हावाहुरी तथा वन डढेलो घटनाका जोखिम घटाउन तयार पारिएको प्रतिकार्य योजना स्वीकृत गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा बसेको बैठकले आगलागी, वन डढेलो, तातो हावा (लु) र हावाहुरीबाट हुनसक्ने क्षति रोकथाम तथा न्यूनीकरण गर्न पूर्वतयारीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो ।

तामाङका अनुसार बैठकले यसअघि भएका निर्णयको कार्यान्वयन अवस्था समीक्षा गर्दै आगामी दिनमा जोखिम व्यवस्थापनका लागि स्पष्ट कार्ययोजना अघि बढाउने सहमति पनि गरेको छ ।

बैठकमा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रले तयार पारेको आगलागी, तातो हावा (लु) तथा वन डढेलो पूर्वतयारी र प्रतिकार्य योजना २०८२ माथि विस्तृत छलफल भएको र सो योजना स्वीकृत गरिएको उहाँले बताउनुभयो ।

गर्मी बढेसँगै आगलागी तथा वन डढेलोको जोखिम बढ्ने भएकाले डिभिजन वन कार्यालयलाई छुट्टै कार्ययोजना तयार गरी लागू गर्न निर्देशन दिइएको छ । साथै वन डढेलो नियन्त्रणका लागि प्रचारप्रसार तथा सचेतना अभियान सञ्चालन गर्ने र आवश्यक उपकरण व्यवस्थापनका लागि जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रसँग समन्वय गर्ने निर्णय पनि भएको छ ।

गर्मी सुरु भएलगत्तै हावाहुरीको मौसम पनि सुरु हुने भएकाले हरेक वर्ष नरैनापुर र डुडुवा क्षेत्रमा आगलागीका धेरै घटना हुने गरेको बताइएको छ ।