• ७ चैत २०८२, शनिबार

मोदी गाउँपालिकामा ‘डिजिटल स्मार्ट कृषि प्रणाली’ सुरु

blog

पर्वतको मोदी गाउँपालिका

साजन परियार
पर्वत, चैत ७ गते ।
पर्वतको मोदी गाउँपालिकाले कृषिको आधुनिकीकरण र उत्पादन वृद्धि गर्न लक्षित गरी ‘डिजिटल स्मार्ट कृषि प्रणाली परियोजना’ सुरु गरेको छ। मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालनमा आएको यस परियोजनाले कृषकलाई आकर्षक अनुदानसहित विभिन्न प्रविधिमैत्री सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ।

गाउँपालिकाका अनुसार आठवटै वडामा सुन्तला, कफी र अलैंचीको उत्पादन विस्तारका लागि बिरुवा, रोपाइँ र मलखाद व्यवस्थापनमा अधिकतम ७५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइनेछ। उत्पादनको मूल्य अभिवृद्धि गर्न प्रशोधन केन्द्र स्थापना गर्न पनि सोही अनुपातमा अनुदान दिइने व्यवस्था गरिएको छ।

प्रधान प्रशासकीय अधिकृत बाबुराम पुरीका अनुसार सिँचाइ व्यवस्थालाई प्रभावकारी बनाउन लिफ्ट, साना र थोपा सिँचाइजस्ता प्रविधिमा अधिकतम ९० प्रतिशतसम्म अनुदान उपलब्ध हुनेछ। आधुनिक कृषि औजार खरिदमा पनि कृषकले ७५ प्रतिशतसम्म अनुदान पाउनेछन्।

सुन्तला, कफी र अलैंचीका नर्सरी तथा डेमोन्स्ट्रेशन प्लट स्थापना गर्न पनि समान अनुदान दिइनेछ। अदुवा, बेसारजस्ता रैथाने तथा नगदे बालीका लागि बीउ, रोपाइँ र मलखादमा ९० प्रतिशतसम्म अनुदान उपलब्ध गराइने छ भने उच्च मूल्यका बाली उत्पादनलाई प्रोत्साहन गर्न प्लास्टिक टनेल निर्माणमा ५० प्रतिशत अनुदान दिइने व्यवस्था गरिएको छ।

परियोजनाअन्तर्गत अनुदान लिन कृषकले खेती क्षेत्र विस्तार गरिएको हुनुपर्ने शर्त पुरा गर्नुपर्नेछ। इच्छुक कृषक, समूह वा कृषि फर्मले दर्ता तथा नवीकरण प्रमाणपत्र, पान दर्ता, कर चुक्ता प्रमाणपत्र, लेखापरीक्षण प्रतिवेदन, वडा सिफारिस र जग्गाधनी प्रमाणपत्र वा दीर्घकालीन भाडा सम्झौतासहित प्रस्ताव पेश गर्नुपर्नेछ।

गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले परियोजनाले डिजिटल प्रविधि र आधुनिक कृषि अभ्यासमार्फत उत्पादन वृद्धि, लागत न्यूनीकरण र बजार पहुँच विस्तार गर्ने लक्ष्य राखेको बताउनुभयो। उहाँले यसले स्थानीय कृषकको आयआर्जनमा सुधार ल्याउने अपेक्षा राख्दै कृषकलाई अवसरको सदुपयोग गर्न आग्रह गर्नुभएको छ।