• ७ चैत २०८२, शनिबार

लाइन मर्मतका कारण बर्दीबासमा तीन दिन विद्युत आपूर्ति बन्द

blog

मर्मतको चरणमा रहेको विद्युत टावर । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दीबास, चैत ७ गते ।
नेपाल विद्युत प्राधिकरणले प्रसारण तथा वितरण लाइनको मर्मत र स्तरोन्नतिको कामका लागि बर्दीबास क्षेत्रमा शुक्रबारदेखि तीन दिन विद्युत आपूर्ति बन्द गरेको छ ।

प्राधिकरणको गौशाला शाखाका अनुसार किसाननगर फिडरअन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्ग उत्तरका चारवटा वडामा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म नौ घण्टा विद्युत आपूर्ति बन्द गरिएको हो ।

गौशाला शाखा प्रमुख उमेश यादवले १३२ केभी प्रसारण लाइनको कन्डक्टर अपग्रेड आयोजना अन्तर्गत टावर नं. ३८५ देखि ३९१ सम्म मर्मत कार्य चलिरहेको बताउनुभयो । पुरानो तार हटाएर नयाँ तार फेर्ने काम भइरहेकोले टावर आसपासका ११ केभी, ३३ केभी र ६६ केभी पोलबाट वितरण हुने फिडरहरूमा अस्थायी रूपमा विद्युत आपूर्ति बन्द गर्नु परेको हो ।

बर्दीबास उपशाखा प्रमुख घनश्याम साहका अनुसार मर्मतका कारण किसाननगर फिडरबाट वितरण हुने बर्दीबासका १, ३, ४ र ५ नं. वडामा सेवा प्रभावित भएको छ । खाना पकाउने ग्यासको अभावका बेला लाइन अवरुद्ध हुँदा एक हजारभन्दा बढी ग्राहकको दैनिकी प्रभावित भएको छ ।

विद्युत सेवा ठप्प हुँदा भातभान्सा, बैंक तथा सरकारी कामकाज, वाइफाई सेवा, कुटानीपिसानिका मिल र समाचार सम्प्रेषण लगायतका सेवा प्रभावित भएका छन् ।

उमेश यादवले युद्धस्तरमा मर्मत कार्य जारी रहेकाले तोकिएको समयअगावै काम सम्पन्न भएमा विद्युत सेवा यथासक्य छिटो सुचारु गरिने प्रयास भइरहेको जानकारी दिनुभयो ।