• ७ चैत २०८२, शनिबार

दाउन्ने सडक खण्डमा वर्षा र लेदो माटोले यात्रा कठिन

blog

दाउन्ने सडक खण्ड ।

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, चैत ७ गते ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा वर्षाका कारण यातायात सञ्चालनमा समस्या देखा परेको छ। सडक अत्यधिक चिप्लो हुनु र लेदो माटोका कारण सवारी साधनहरू बिच सडकमै अड्किने समस्या बढेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सडकको अवस्था कमजोर भएको र लेदो माटोले टायरको ग्रिप कम भएपछि सवारी साधनहरू उकालोमा चढ्न सक्दैनन् वा बिच सडकमा अड्किन्छन्। यसका कारण सामान्य दूरी पार गर्न पनि यात्रुहरूलाई घण्टौँ समय लागिरहेको छ।

दाउन्नेको उकालो र ओरालोमा भारी माल बोकेका ट्रक र अन्य मालवाहक सवारी अड्किँदा लामो समयसम्म सडक अवरुद्ध हुने गरेको छ। यसबाट साना सवारी, बिरामी बोकेका एम्बुलेन्स र अन्य अत्यावश्यक सेवा प्रभावित भएका छन्।

सडक पूर्ण रूपमा अवरुद्ध नभए तापनि सवारी साधनहरू सामान्य गतिमा मात्र सञ्चालन भइरहेका छन्।

यसैबीच, नारायणघाट–बुटवल सडक आयोजनाको पश्चिम खण्डमा पर्ने दाउन्ने क्षेत्रमा राति मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। पश्चिम खण्ड कार्यालयले आइतबारसम्म हरेक दिन बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी साधन चलाउन प्रतिबन्ध लगाएको छ।

आयोजनाले सडकको अवस्था सुधार नभएसम्म र दुर्घटनाको जोखिम कम गर्न यो कदम चालेको बताएको छ। वर्षाको समयमा दाउन्नेको उकालो र ओरालोमा मालवाहक सवारी अड्किँदा घण्टौँसम्म जाम हुने र साना सवारी तथा एम्बुलेन्स सेवा प्रभावित हुने गरेको छ।