• ७ चैत २०८२, शनिबार

बेमौसमी वर्षाले बैतडीका किसान उत्साहित

blog

केशवराज भट्ट
वासुलिङ, बैतडी, चैत ७ गते ।
लामो समयदेखि परेको खडेरीपछि भएको हिउँदे (बेमौसमी) वर्षाले बैतडीका किसानमा उत्साह थपिएको छ । समयमा वर्षा नहुँदा बाली सुक्ने चिन्तामा रहेका किसानले वर्षासँगै राहत महसुस गर्न थालेका छन् ।

विशेषगरी गहुँ, जौ, आलु, लसुन, प्याज तथा विभिन्न हिउँदे फलफूल र तरकारी बालीका लागि यस वर्षाले उल्लेखनीय फाइदा पुगेको छ । लामो समयसम्म पानी नपर्दा पाखोबारीमा लगाइएका बाली सुक्न थालेका बेला वर्षा भएपछि किसानमा खुसी छाएको सुर्नया गाउँपालिका–२ का किसान देवसिंह ऐरीले बताउनुभयो ।

उहाँका अनुसार लामो समयसम्म वर्षा नहुँदा बाली सुक्ने अवस्थामा पुगेको थियो । “वर्षा भएपछि हामी किसान निकै खुसी भएका छौँ, अब गहुँलगायतका बाली सप्रिने आशा बढेको छ,” उहाँले भन्नुभयो ।

खेतबारीमा चिस्यान अभावका कारण ओइलिन थालेका बाली वर्षापछि पुनः हरियाली देखिन थालेका छन् । यसले उत्पादन वृद्धि हुने अपेक्षा किसानले गरेका छन् । सिँचाइ सुविधा नपुगेका क्षेत्रका किसानका लागि यो वर्षा झन् राहत बनेको छ ।

स्थानीय किसान नरेन्द्र विष्टका अनुसार वर्षाअघि माटो अत्यधिक सुक्खा हुँदा बालीको वृद्धि प्रक्रिया प्रभावित भएको थियो । तर वर्षाले माटोमा आवश्यक चिस्यान उपलब्ध गराएपछि बालीको वृद्धि पुनः सक्रिय भएको छ । यसले उत्पादनसँगै बालीको गुणस्तरमा समेत सुधार आउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

यसैबीच, कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीका अनुसार टमाटर, काक्रो, कद्दु, भेडेखुर्सानी, अदुवा लगायतका तरकारी लगाउने समयमा पानी परेकाले किसानलाई थप सहज भएको छ । “बसन्त ऋतुसँगै परेको यो वर्षा समग्र बालीनाली तथा फलफूलका लागि उपयोगी देखिएको छ,” उहाँले भन्नुभयो ।