नेपालमा हालसम्म १७ वटा कौशिक गोत्री थर रहेको पाइन्छ । कौशिक गोत्री महर्षि विश्वामित्रका सन्तान खप्तडी बस्नेत हुन् । खप्तडी बस्नेतहरूको इतिहास चन्द्रवंशी राजा कुशसँग जोडिएको छ । प्रजापतिका पुत्र कुश र कुशनाभ थिए । कुशनाभका पुत्र गाधी थिए । विश्वप्रसिद्ध मानिएका क्षेत्रीय कुलका विश्वामित्र ऋषि उनै गाधीका पुत्र थिए । विश्वामित्र ऋषिले कोशी नदीको किनारमा तपस्या गरेर बसेका कारण उनी कौशिक भए भन्ने कुरा पौराणिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ ।
विश्वामित्र कुलका एक सन्तान राहुल नेपालको पश्चिममा पर्ने खप्तडक्षेत्रमा आई तत्कालीन खस राज्यको बागडोर समालेको कुरा इतिहासमा उल्लेख पाइन्छ । तिनै खप्तडका राजा राहुल बस्नेतहरूका पुर्खा हुन् । कुलपूजामा इष्टदेवका रूपमा खप्पर मस्ट मान्ने परम्पराको सुरुवात यिनै राजा राहुलका कान्छा छोरा भोटुवीरले गरेका थिए । उनका छोरा ऐमान थिए ।
भोटुवीरका सन्तानहरू खप्तडबाट लमजुङ हुँदै गोर्खा आएका थिए । खप्तडबाट गोरखा आएका तिनै खप्तडी बस्नेतहरूले राजा पृथ्वीनारायण शाहको एकीकरण अभियानमा साथ दिएका थिए । गोरखा र त्यस आसपासमा खप्तडी बस्नेतहरूको उल्लेख्य बसोबास हुनाले तत्कालीन सेनामा खप्तडी बस्न्यातको सङ्ख्या उल्लेख्य रहेको प्रमाणित हुन्छ । पृथ्वीनारायण शाहको एकीकरणका क्रममा राज्य विस्तार गर्दै पूर्वतिर जाँदा उनीसँगै गएका खप्तडी बस्नेतहरूले त्यतैतिर बसोबास गरे ।
पृथ्वीनारायण शाहले आफ्नो दिव्य उपदेशमा ‘बस्न्यातको तरबार र पाँडेको ढाल’ भनेबाट पनि नेपाल निर्माणमा खप्तडी बस्न्यातहरूको ठुलो योगदान रहेको कुरा प्रस्ट हुन्छ । खप्तडी बस्न्यातहरू खप्तडबाट डोटी, बझाङ, गोरखा हुँदै काठमाडौँ आएका र काठमाडौँबाट लिखुखोला पुगी लिखुखोलाबाट क्रमशः पूर्वतिर र पश्चिमतर्फ बसाइँ सरेको इतिहास पाइन्छ ।
द्रव्य शाह लिगलिग कोटको दौडमा दौडिएर विजयी भई घलेहरूको राजा हुँदा उनका गोठमा बस्दाका साथीहरू वंशुराजसिंह बस्न्यात र भूपालमानसिंह बस्न्यातले द्रव्य शाहलाई दुई हातमा खड्ग दिई राजगद्दीमा विराजमान गराएका थिए । वंशुराजका छोरा पुन्नरीका नरी र किन्नरी दुई भाइ छोरा थिए । किन्नरीका एउटा छोरा ऐरामसिंह बस्न्यात राजा द्रव्य शाहको सेवामा गोरखामै बसे । किन्नरीका अन्य छोराहरूसहित नरी र किन्नरी पूर्व बाम्ती लिखुखोलामा गएर बसोबास गर्न पुगे ।
बसाइँसराइका क्रममा खप्तडी बस्नेतहरू ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ पुगेका थिए । राजा रणबहादुर शाह नाबालक हुँदा बहादुर शाह र राजेन्द्रलक्ष्मीदेवी शाहले शासनको बागडोर आफ्ना हातमा लिँदा नेपालको सिमाना पूर्वमा टिष्टा नदीसम्म पुग्दा सामसिंह बस्नेत कमान्डर थिए (झापा छलफल २०८१) । यसै क्रममा केही बस्नेत हालको भारतको सिक्किम, पाकयोङ, गाङतोक, दार्जिलिङ, सिलिगुडी, आसाम, मेघालयसम्म बसोबास गरी उतै घरजम गरेको इतिहास पाइन्छ ।
बस्नेतको भावार्थ र उपाधि
बस्नेत शब्दको अर्थलाई सिंहावलोकन गर्दा ‘बस’ को अर्थ बस्ती बसाल्ने, (भूमिको मालिक वा भूमिपति); ‘न्याय’ को अर्थ न्यायकर्ता (अति सर्वोच्च न्यायाधीश) र ‘तह’ को अर्थ तत्पुरुष (सबैभन्दा ठुलो व्यक्ति शासक) भन्ने अर्थ लाग्छ । सामान्य भाषामा बस्नेतको अर्थ कुनै पनि ठाउँमा बस्ती बसाली, त्यस ठाउँको समाजमा न्याय दिन सक्ने व्यक्ति भन्ने बुझिन्छ ।
इतिहासकार पूर्णप्रकाश यात्रीका अनुसार उहिले जनतालाई नयाँ बस्ती बसाएर राख्ने गरिन्थ्यो । प्रत्येक बस्तीमा झैझगडा तथा अन्य मुद्दामामिलामा न्याय गर्न मान्छे राखिन्थ्यो, जसलाई बस्न्यार्थी भनिन्थ्यो । यही शब्द बस्न्यायिता, बस्न्यात अथवा बस्नेतमा अपभ्रंशित भयो ।
१३ औँ शताब्दीमा काशीबाट आएका चन्द्रवंशीय राजपुतले खस प्रदेशमा रहेको खप्तडमा आफ्नो राज्य स्थापना गरेका थिए । सोही वंशका राजा बलदेवसिंहका पनाति, राजा सङ्ग्रामसिंहका नाति राजा अजयसिंहका चार भाइ छोरा थिए । सङ्ग्रामसिंह खप्तडमा जन्मेकाले सङ्ग्राम खप्तडी नाम रहन गयो । सङ्ग्रामसिंहका छोरा राजा राहुलका चार जना छोरा थिए । जेठा बुढाथोकी, माहिला विष्ट, साहिँला खड्का, कान्छा अजय खप्तडी । अजयका बलवीर, सिंहवीर, नन्दु र अम्विरस भोटुवीर चार भाइ छोरा थिए । वैशाखको चण्डीपूर्णिमाका दिन भोटुवीरको जन्म भएको थियो । तिनै अजयसिंहका कान्छा छोरा भोटुवीरसिंहलाई बस्न्यात उपाधि दिइएको थियो । खप्तडमा बस्ने भएकाले खप्तडी बस्न्यात थर रहन गयो । बस्न्यात लेख्नुअगाडि खप्तडी बस्न्यातहरूका पूर्वजले सिंह, सेन, चल्ल, देव जस्ता जाति बुझाउने शब्द प्रयोग गरेको इतिहास पाइन्छ ।
कुलपूजाको प्रचलन
खप्तडी बस्न्यातका पुर्खा भोटुवीरसिंह आठ वर्षको उमेरमा दाजुहरूसँग दाउरा काट्न खप्तड तालको पश्चिमतर्फ रहेको घाँसे भिर ढडान्मा गएका थिए । दाउरा बिटो बाँध्न बाँसको टुप्पो काट्ने क्रममा बाँसको टुप्पो शिरमा आएर गाडियो । सहन नसकी अलापविलाप गर्दै गर्दा आठ दशकपहिला गुफामा विलय भएका भीमसेनको प्रतीक कामधेनु गाई आएर गाईको शिरबाट अग्निको ज्वाला प्रकट भएर भोटुवीरको शिरमा प्रवेश ग¥यो । ज्वाला प्रवेश गरेपछि बाँसको टुप्पो निक्ल्यो र उनी होसमा आए । त्यसपछि उनको शरीर काम्न थाल्यो । काम्दै ‘हेर ! म खप्तडीको कुल खप्परमष्ट हुँ’ भन्दै नाच्दै ताल परिक्रमा गर्न थाले । त्यसपछि विरपटाङ्गिनीमा गएर जेठो दाजु बलवीरलाई धुप हाल्न आग्रह गरे । तीन दिनसम्म बकेर (कैरन गरेर) चौथो दिन चण्डीपुर्णेको अघिल्लो चतुर्दशीका दिन गोठधुप गर्न लगाए । पाताङ्गो, खड्ग, त्रिशूल लिई साँझपख खप्तड गुफामा गएर भित्र प्रवेश गरी तीन वर्षसम्म तपस्या गरी, तपस्या पूरा भएपछि भगवान् शिवबाट घाड, चमर प्रदान गरिएको थियो । त्यसपछि वीरपटाङ्गिनीमा गएर बहिनी चेलीलाई आह्वान गरियो । १२ भान्जालाई अघि लगाई खप्तड ताल परिक्रमा गरी आआफ्ना धारा सृष्टि गरी नुहाइधुवाइ गर्ने काम गरे । बाजागाजासहित सिकारीलाई वीर पटाङ्गिनी गोठमा भाइबन्धु भेला गरी खप्तड तालको पूर्वपट्टि गाधीघर बनाइदिए । देवताका प्रतीक दियो, झारी, कलश जुटाई पहिलो देवाली वीरपटाङ्गिनीमा गरियो । त्यो कुलपूजा चण्डीपूर्णिमाको चतुर्दशीमा १० वर्षसम्म लगातार गरियो । यसरी अम्बिरस भोटुवीरले सृष्टि गरेको कुलदेवता खप्परमष्टलाई खप्तडी बस्न्यातले निरन्तरता दिँदै आइरहेका छन् ।
कुलपूजा र जोखाना
देवाली कुलपूजा सम्पन्न गर्दा कुलको देवताले सबै वृन्दलाई रक्षा गर्ने, बालीनाली राम्रो हुने, गाईवस्तु तथा पशुपालनमा राम्रो हुने, बेलामा वर्षा हुने, पेसा व्यवसायमा फलिफाप हुने, देशविदेश जाँदा पनि राम्रो हुने, गाउँमा शान्ति र सद्भाव कायम रहने, गरिबी हट्ने, विभिन्न प्राकृतिक प्रकोपहरूले दुःख नदिने, अनिष्ट नहुने, खप्परमष्ट, भान्जावराहा, विन्ध्यवासिनी, कैलाशिनी, जालपादेवी, रुमालिनी जस्ता देवदेवीहरूले कुलको रक्षा गर्ने लोकविश्वास रहिआएको छ । त्यसै गरी वायुले वृन्दभाइहरूलाई दुःख नदिने विश्वास गरिन्छ । त्यसैले प्रायः प्रत्येक तीन÷तीन वर्षमा वैशाख पूर्णिमा चतुर्दशीका दिन देवाली कुलपूजा गर्ने परम्परा चलेको पाइन्छ ।
त्यसै गरी मूलघरमा देउता थन्क्याएपछि कुलवंशभित्र कसैले जोखाना हेराउन सक्ने हुन्छ । धामीले कुलवंशभित्रका सबै कुरा बताइदिने गर्छन् । देउताले बताए अनुसार गर्दा धेरैको घरपरिवारमा सुख, शान्ति, एकता, मेलमिलाप भएको छ; आर्थिक सुधारका साथै पेसा व्यवसाय राम्रो भएको पाइन्छ भन्ने विश्वास छ ।
देवालीपूजाका सामग्री
निगालो, झल्लरी छाता, शङ्ख, घन्ट, डमरु, दियो, पञ्चपात्रो, कलश, गाईको गोबर, गाईको दुध, घिउ, रातोमाटो, लावा, रातो र सेतो कपडा, अबिर, केसरी, धुप, बत्ती, जौ, तिल, अक्षता, कुश, फलफूल, धुपौरो, सौभाग्यका सामान, पहँेलो कपडा, नरिवल, पान, सुपारी, आँपो चाँपो, पिपलको पात, बाबियो, डोरी, पैयुँका हरिया पातसँगका काँचा हाँगा, रुद्री र यज्ञ पूजाका सामान, धान, चामल, टपरी, दुना, समिदा र तोरणहरू ।
देवालीपूजाको प्रक्रिया
खप्तडी बस्नेतहरूको कुलपूजा वैशाखको चण्डीपूर्णिमा र मङ्सिरको धान्नेपूर्णिमामा हुने गरेको छ । कुलपूजा हुने दिनको एक दिनअगाडि साँझ कुलदेवता निकालिने देवघर (मूलघर) मा कुलभित्रका सबै दाजुभाइले दियो लिएर जान्छन् । ती सबै दियो शङ्ख, घन्ट, डमरुको ध्वनिका साथ धुपबत्ती बालिन्छ । यसलाई दियो जगाउने भनिन्छ । दियो बालिसकेपछि देवताको आराधना गरिन्छ । यो कार्य पुरोहित पण्डितद्वारा सम्पन्न गरिन्छ । सोही समयमा मूल धामीद्वारा धामी बसेर भोलिपल्ट देवता निकाल्ने साइत जुराइन्छ । समय निर्धारण गरिन्छ । कुलदेवताको पूजाका लागि कुलका प्रत्येक घरबाट चामल, फलफूल, भेटी, कपडा, दुध, दही, घिउ, तेल आदि पूजा सामग्री लगिन्छ । भोलिपल्ट पूजाको दिन मूल धामीले जुराएको साइतमा कुलका सबै दाजुभाइ जम्मा भएर धार्मिक विधिविधानका साथ मूलघरबाट शङ्ख, घन्ट, डमरुको ध्वनिका साथ बाजागाजासहित देवता निकालिन्छ र कुलदेवताको थान (मन्दिर) मा लगिन्छ । देवताको औतारधारी धामी काम्दै काम्दै मन्दिरमा जान्छन् । देवताको थानमा पुगेर पहिले देवताको पूजा गरिन्छ । दिनभरि नै पूजाआजाका साथ हवन गरिन्छ । बलिपूजाको पालो छ भने बोकाहरूलाई पालैपालो बलि दिएर पूजा गरिन्छ । पूजाआजा सबै सकिएपश्चात् प्रसादका रूपमा पकाइएको खिर, पुरी, तरकारी, अचार ग्रहण गरेर बेलुका पुनः शङ्ख, घण्ट, डमरुको ध्वनिका साथ बाजागाजासहित देव अवतारधारी धामी काम्दै मूलघरमा पुगेपछि पूजा समापन गरिन्छ
शिक्षा र महत्व
खप्तडी बस्नेत देवाली कुलायन पूजाले विविध महत्व बोकेको पाइन्छ । स्थलगत क्षेत्रभ्रमण र अवलोकनबाट देवाली कुलपूजा गर्दा सामाजिक क्रियाकलापका साथै सांस्कृतिक, आर्थिक, धार्मिक क्रियाकलापहरू सम्पादन गरेको पाइएको छ । त्यसै गरी प्रवर्धनात्मक, संरक्षणात्मक, हस्तान्तरण र पुस्तान्तरणका क्रियाकलाप, शैक्षिक ज्ञान, सिप, कलासँग जोडिएका क्रियाकलाप हुने गरेका छन् ।
देवाली कुलपूजाका विभिन्न गतिविधिले संस्कार, संस्कृति र नैतिक आचरण सिकाउने गर्छन् । साँचो बोल्ने, झुटो नबोल्ने, समाजमा सहयोगी बन्ने, अरूको दुःखमा समवेदना प्रकट गर्ने, कुलका विभिन्न धामीलाई आदर गर्ने, धामीको निर्देशन र कैरन अनुसार काम गर्ने, मूलघरलाई आदर गर्ने, कुलदेउतालाई मान्ने जस्ता क्रियाकलाप धार्मिक र नैतिक आचरणभित्र पर्छन् । आफ्ना कुलवंशमा कमजोर आर्थिक अवस्था भएमा सहयोग गरी उठाउने, धार्मिक अनुष्ठान, बेला बेलामा पूजापाठ आयोजना गर्ने, क्षमापूजा गर्ने, सामूहिक सान्सारी पूजा गर्ने, धर्मशास्त्र अनुसारका कर्मकाण्ड र आचरण निर्वाह गर्ने जस्ता व्रिmयाकलाप धार्मिक शिक्षा अन्तर्गत पर्छन् ।
पुर्खाहरूले सयौँ, हजारौँ वर्ष लगाएर लामो अभ्यास र निरन्तर प्रयासपछि मात्र कुनै पनि संस्कार र संस्कृतिको विकास गर्न सफल भएको इतिहास पाइन्छ । वनक्षेत्रमा देवाली कुलपूजा गर्दा स्याउला, पात प्रयोग गर्ने चलन रहेको र हालका दिनमा पनि मन्दिर थान निर्माण गर्दा वनको स्याउला, पात ल्याएर पूजा गर्ने संस्कार छ । भेटघाट हुँदा सानालाई माया गर्ने र ठुलालाई मान गर्ने संस्कार छ । पानी, माटो, हावा, सूर्य, चन्द्रमा, आकाश, वनजङ्गल प्रकृतिमैत्री पूजा गर्ने संस्कार छ । दसैँ, तिहार, सङ्व्रmान्ति, फागुपूर्णिमा, गोठपूजा, न्वागीपूजा, चुल्हापूजा, सिकारीपूजा, कुलपूजा, लक्ष्मीपूजा, सरस्वतीपूजा, महाकालीपूजा, कैलाशिनी, जालपादेवी, रुमालिनी, विन्ध्यवासिनी देवीहरूको पूजा गर्ने संस्कार रहेको छ । यी पूजा तथा चाडपर्वबाट देवालीपूजा पुर्खाको पालाबाटै प्रवर्धन हुँदै संरक्षण हुँदै आएका र एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै आएका सांस्कृतिक सम्पदालाई नयाँ पुस्ताले निरन्तरता दिनु आवश्यक देखिन्छ ।
सामाजिक रूपमा हेर्दा देवालीपूजाले खप्तडी बस्नेत कुलवंश र परिवारहरूलाई जोडेको पाइन्छ । आफ्ना नजिकको पायक पर्ने देवालीपूजा गर्ने थानमा देवालीपूजाको दिन सबै वृन्दजन भेला हुने गर्छन् । साना साना बालबच्चादेखि महिला, पुरुष, बुढापाका सबै भेला हुने गर्छन् । विवाह भइसकेका छोरी, ज्वाइँ र भान्जाभान्जीको समेत उपस्थिति रहेको हुन्छ । यस कुलपूजाको भेलाले उनीहरूबिच भेटघाट मात्र जुराउँदैन; दुःख, सुख, भलाकुसारी गर्ने, छोराछोरी तथा बालबालिकाबिच चिनापर्ची गराउने, आफूभन्दा ठुलालाई कसरी मानसम्मान गर्ने साथै आफन्तहरूबिच सबल सम्बन्ध निर्माण गर्नमा ठुलो भूमिका खेल्ने गर्छ । त्यसैले देवालीपूजालाई आफन्तहरूबिचमा जोड्ने सेतुको रूपमा लिन सकिन्छ ।
त्यसै गरी बस्नेतको देवाली कुलपूजाले बस्नेत–बस्नेतबिच सद्भाव अभिवृद्धि गर्छ । आफ्नो कुलवंश र वृन्दहरूलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गर्छ । समुदायभित्रका आफ्ना बस्नेत कुलवंश र वृन्दहरूबिच एकता र सम्बन्ध मजबुत बनाउँछ । समुदायभित्रको साझा सवाल, मुद्दा र विषयवस्तुमा सबैको एकता र स्वीकार्यता विकास गराउँछ । कुलवंशका वृन्दभाइबिच सद्भाव र सकारात्मक सोचको विकास गराउँछ ।
देवाली कुलपूजा सामूहिक कुलवंशको पूजा हो । पूजामा बुहारी, विवाह नगरेकी छोरी, धामी, पुजारीको अलग अलग कार्य विभाजन गरिन्छ । यो पूजा सम्पन्न गर्न मेडो र बोका खरिद गर्ने, आवश्यक पूजा सामग्री जुटाउने र सङ्कलन गर्ने, मन्दिर थानवरिपरि सरसफाइ गर्ने, आर्थिक जुटाउने तथा कोष तयार गर्ने, रेखदेख गर्ने र नेतृत्व गर्ने, पूजा व्यवस्थापन नेतृत्व, आउनापाहुना स्वागत गर्ने, धामी परिचालन गर्ने, मूलघर दियो, कलशलगायतका सामग्री सरसफाइ गर्ने, पकाउने तुल्याउने काम गर्ने, पूजा दिन युवा स्वयंसेवक परिचालन गर्ने जस्ता आवश्यकता अनुसार सबै कार्य विभाजन अघिल्लो हप्ता नै गरिन्छ । कुलवंशका व्यक्तित्वहरूले आफ्नो दायित्व अनुसार कार्य विभाजनमा परेको कामलाई निःस्वार्थ वहन गर्ने र कुलपूजा फत्ते गर्नमा सहयोग गर्ने गर्छन् । कार्य विभाजनले कुलपूजा सम्पन्न गर्नमा दायित्व मात्र वहन हुँदैन, यसले त भविष्यमा नेतृत्व विकास गर्ने र व्यक्तित्व विकासमा समेत टेवा पुग्छ । यो स्वयंसेवक दायित्व भए पनि कालान्तरमा ठुलो नेतृत्व र दायित्व वहन गर्नमा समेत मद्दत गर्छ ।
कुलदेवताका मन्दिरहरू प्रायः रुखको फेदमा बनाइएको हुन्छ । यसको सङ्केत प्रकृतिको संरक्षण गर्नु पर्छ भन्ने हो । सोही मन्दिरवरिपरि ध्वजापताका टाँगिएका हुन्छन्, जसले मानिसमा धार्मिक आस्था जागृत गराउँछ । त्यस ठाउँमा रुखबिरुवा मास्नु हुँदैन भन्ने धारणा बस्छ । यसले पर्यावरणको संरक्षण गर्छ । जलाशय तथा विभिन्न प्रजातिका चराचुरुङ्गी, जलचरहरूको संरक्षणमा टेवा पुग्छ । जैविक विविधताको संरक्षण हुन्छ । त्यसै गरी मन्दिर थान क्षेत्रभित्र वर, पिपल, समीको रुख लगाउने चलन पाइन्छ । यस्ता रुखले गर्मीमा शीतल र छाया मात्र दिँदैनन्; चराचुरुङ्गीका लागि बस्ने घर र खाने फल पनि प्रदान गर्छन् । देउरालीमा वर, पिपल रोप्ने, रुखको फेदमा चौतारा निर्माण गर्ने, रुखबिरुवा रोप्ने, हुर्केका रुखबिरुवा नकाट्ने जस्ता क्रियाकलाप पर्यावरण संरक्षण र दिगो विकासमा केन्द्रित छन् । खोलानाला पूजा गर्ने, रुखबिरुवालाई पूजा गर्ने, अनावश्यक बोटविरुवा नकाट्ने र वनजङ्गलको संरक्षणमा सहयोग गर्ने कार्य प्रकृतिमैत्री र दिगो विकास सरोकारका गतिविधिहरू हुन् ।
त्यति मात्र होइन, कूलपूजाको आर्थिक व्यवस्थापनमा बन्धुहरूबाट सङ्कलन गरिएको रकम बैङ्क खाता खोलेर बैङ्कमा जम्मा गरिने र निश्चित ब्याजमा कुलभित्रका बन्धुहरूलाई व्यापार व्यवसायका निम्ति आवश्यक पर्दा सहयोग गर्ने गरिएको पाइन्छ । यसरी देवाली कुलपूजाले खप्तडी बस्नेतहरूबिच सामाजिक, सांस्कृतिक, धार्मिक भावना अभिवृद्धि त गर्छ नै; यसका साथै पुर्खाको मौलिक ज्ञान, समुदायको अस्तित्व, इतिहास, पहिचान सरोकार सम्पदाहरूको संरक्षण, प्रवर्धन, हस्तान्तरण र पुस्तान्तरणमा भूमिका खेल्दै नेपाली सम्पदाहरूको संरक्षणका साथै सहअस्तित्व र सबैको सम्पदालाई कदर गर्ने वातावरण सिर्जना गर्छ ।