• ७ चैत २०८२, शनिबार

पश्चिम सुर्खेतलाई पूर्वाधार सम्पन्न बनाउने लक्ष्य

blog

ललित बसेल

सुर्खेत, चैत ७ गते । देशभर लहर आइरहँदा कर्णालीमा पछि परेको राष्ट्रिय स्वतन्त्र पार्टीको कर्णालीमा खाता खोल्नुभएका उहाँले संसदीय यात्राको पहिलो अनुभवमै आफ्नो पुरानो दलका उम्मेदवारलाई भारी मतान्तरले पराजित गर्नुभयो । यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुर्खेत क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजयी बन्नुभएका रमेशकुमार सापकोटाले नेपाली कांग्रेसका नारायणकुमार कोइरालालाई १४ हजारभन्दा बढी मतले पराजित गर्नुभयो । उहाँले निर्वाचनमा ३० हजार ८३२ मत प्राप्त गर्नुभएको छ । 

नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरु गर्नुभएका सापकोटाले नेपाली कांग्रेस वीरेन्द्रनगर नगर सचिवको कार्यभार समालिरहेकै बेला दुई वर्षअघि राजीनामा दिएर रास्वपा प्रवेश गर्नुभएको थियो । हाल रास्वपा सुर्खेतको नेतृत्व गरिरहनुभएका उहाँ पेसाले यातायात व्यवसायी हुनुहुन्छ । छरिएर रहेका यातायात व्यवसाय र व्यवसायीलाई व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका  निर्वाह गर्नुभएका उहाँ सुर्खेत काँक्रेविहार यातायात प्रालिको अध्यक्ष हुँदै अहिले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कर्णाली प्रदेशको संयोजकको जिम्मेवारीमा हुनुहुन्छ ।

सुर्खेत क्षेत्र नं. २ मा कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका, वराहताल गाउँपालिका र चौकुने गाउँपालिका पर्दछ । आफू निर्वाचित भइसकेपछि उहाँले विशेष गरी पश्चिम सुर्खेतको पञ्चपुरी, वराहताल र चौकुने गाउँपालिकाको विकासका लागि खाका बनाउने तयारी गरेको बताउनुहुन्छ । वीरेन्द्रनगर भौतिक पूर्वाधारका दृष्टिले सम्पन्न भए पनि पश्चिमका पालिकामा अझै राम्रोसँग सडक पूर्वाधार तयार हुन नसकेको हुँदा आफ्नो पाँचबर्से कार्यकालमा ती पालिकालाई पूर्वाधार विकासका दृष्टिले सम्पन्न बनाउने लक्ष्य लिएको उहाँले बताउनुभयो । 

सुर्खेत विमानस्थल विस्तार, दिगो फोहोर व्यवस्थापन, सुर्खेत चक्रपथ, भेरी लिफ्ट खानेपानी तथा विगतका अधुरा योजनालाई पूरा गर्नेतर्फ आफ्नो कदम बढिसकेको उहाँको भनाइ छ । पश्चिम सुर्खेतको शिक्षा, खानेपानी, सडक, सिँचाइ, विद्युत्लगायत क्षेत्रको विकासमा जोड दिइने उहाँले बताउनुभयो । एक वर्षपछि पश्चिम सुर्खेतलाई उज्यालो बनाउने पनि उहाँको चाहना छ । विगतमा बिजुलीका लागि पोल ठड्याइएको बर्सौं भए पनि अहिलेसम्म तार नतानिएको हुँदा अब एक वर्षभित्र पश्चिम सुर्खेतमा विद्युतीकरण गरी उज्यालो बनाउने उहाँले बताउनुभयो । 

यसका साथै सुर्खेतदेखि बर्दिया जोड्ने भुरीगाउँ–तेलपानी सडक र यहाँको भेरी नदीको रानीघाट पुलबारे पनि आफूले चासो दिएको सापकोटाले बताउनुभयो । रानीघाटको पुल तयार हुनासाथ भुरीगाउँ–तेलपानी सडकको केही अवरोधको काम हटेर सञ्चालनमा ल्याउन सकिने र सुर्खेत थप सडक सञ्जालमा पूर्ण रूपमा जोडिने उहाँको भनाइ छ । पश्चिम सुर्खेतका धेरै जसो बासिन्दा मौसमी रोजगारका लागि भारत (कालापहाड) जाने चलन छ । पश्चिममा खेतीयोग्य जग्गा प्रशस्त भए पनि सिँचाइको अभाव छ । त्यसैले सिँचाइको व्यवस्था गरी कालापहाड जाने जनशक्तिलाई घरमै काम गरी रोजगारमा ल्याउने योजना पनि आफूले बनाएको सापकोटाले बताउनुभयो । 

अन्य राजनीतिक दलसँग सहयोग, समन्वय र सहाकार्य गर्दै अघि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । पार्टीले चुनावअघि सार्वजनिक गरेको वाचापत्र अनुसार नै आफूले काम गर्ने भन्दै उहाँले आउने चुनौती र कठिनाइलाई समन्वय र सहकार्यका साथ समाधान गर्ने पक्षमा आफू रहेको सापकोटाले बताउनुभयो । 

सुर्खेत कर्णाली प्रदेशको राजधानी भएका कारण पनि यहाँको विकास र समृद्धि अन्यका लागि नमुनायोग्य हुनु पर्दछ । रास्वपाले अगाडि सारेका भ्रष्टाचार अन्त्य, सुशासन अभिवृद्धि, सेवा प्रवाहमा सहजता ल्याउने कामलाई उहाँले अगाडि सारेको बताउनुभयो । विगतमा आफूले जे राम्रा कुरा सिकेको छ, त्यसलाई अगाडि बढाउने, थाहा नपाएका र नजानेका कुरालाई सिक्दै सुर्खेतको विकासका लागि समन्वय गरेर जाने प्रतिबद्धता जनाउनुभएको छ ।