• ७ चैत २०८२, शनिबार

स्याङ्जामा एसइई परीक्षा केन्द्र घटे

blog

अर्जुन काफ्ले
स्याङ्जा, चैत ७ गते ।
यही चैत १९ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि यस वर्ष स्याङ्जामा तीनवटा परीक्षा केन्द्र घटाइएको छ ।

विद्यार्थी सङ्ख्या घटेसँगै २४ वटा केन्द्रबाट घटाएर २१ कायम गरिएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख विश्वराज आचार्यले जानकारी दिनुभयो ।

गत वर्ष चार हजार ९९२ जना विद्यार्थी सहभागी रहेकामा यस वर्ष ७१७ जना घटेपछि केन्द्र घटाउनुपरेको हो । यस पटक पुतलीबजारको सरस्वती मावि, वालिङको बालसिद्ध मावि र सरस्वती माविका केन्द्र हटाइएको छ ।

विद्यार्थी सङ्ख्या मात्रका आधारमा केन्द्र निर्धारण गरिएको भए अझै घटाउनुपर्ने अवस्था रहने भए पनि प्रत्येक पालिकामा कम्तीमा एक केन्द्र राख्ने नीतिका कारण केही बढी केन्द्र राख्नुपरेको आचार्यले बताउनुभयो ।

यस वर्ष फेदिखोला, आँधीखोला, अर्जुन चौपारी, हरिनास र विरुवामा एक-एक, कालीगण्डकी, भीरकोट, चापाकोट र गल्याङमा दुई–दुई, पुतलीबजारमा तीन र वालिङमा पाँच वटा केन्द्र कायम गरिएको छ ।

यस पटक स्याङ्जामा नियमिततर्फ तीन हजार २२१ र ग्रेड वृद्धितर्फ एक हजार ५४ गरी कुल ४ हजार २७५ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । सहभागीमध्ये दुई हजार १०१ छात्रा र २ हजार १७४ छात्र रहेका छन् ।

परीक्षार्थीमध्ये छ प्राविधिक विद्यालयका ११६ तथा चार धार्मिक विद्यालयका १६ विद्यार्थी रहेका छन् । कर्मचारी व्यवस्थापनको टुङ्गो नलागे पनि केन्द्राध्यक्ष भने सम्बन्धित विद्यालयका प्रधानाध्यापक रहने आचार्यले जानकारी दिनुभयो ।