मुक्तिनाथ समाचारदाता
मुक्तिनाथ (मुस्ताङ), चैत ७ गते । हिन्दु तथा बौद्धमार्गीको महत्त्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिरमा तीर्थालुको सुविधालाई लक्ष्य गरी मर्मत तथा सुविधा थप्न ढिलाइ भएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. १ मा अवस्थित मन्दिरमा पूर्वाधार थपका लागि मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन अनुसार पुरातत्त्व विभागमा प्रस्ताव गरिएको लामो समय बितिसक्दासमेत अनुमति नदिइएकाले काम हुन नसकेको हो ।
बर्सेनि लाखौँ हिन्दु तथा बौद्ध धर्मावलम्बी पुग्ने मन्दिरको १०८ धारामा उचाइ बढाउने, कपडा परिवर्तन गर्ने स्थान, शौचालय निर्माण, विशिष्ट व्यक्तिका लागि कक्ष, मन्दिरमा प्रवेश र बाहिरिने बाटो विस्तार, पर्खाल निर्माण, बर्सात र हिमपातको समयमा ओत लाग्ने घर, बगैँचा, गुम्बा मर्मत, मन्दिरको माथिल्लो क्षेत्रको संरक्षणलगायतका प्रस्ताव गरिए पनि अनुमति नपाएकाले रोकिएको वारागुङ मुक्तिक्षेत्रका वडाध्यक्ष एवं मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष प्रमेश गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिरको बाहिरी क्षेत्रमा पर्याप्त संरचना नहुँदा तीर्थालुलाई असहज भइरहेको छ ।
पुरातत्व विभागबाट स्वीकृति दिइएको छैन, स्वीकृति पाएलगत्तै काम अगाडि बढाउँछाैँ ।” मन्दिरमा एकै पटक ५० हजार तीर्थालुले दर्शन गर्ने आवश्यक संरचना बनाउन समितिले निरन्तर पहल गरिरहेको छ । करिब नौ करोड रुपियाँको लागत बराबरको संरचना थप्न प्रस्ताव गरिएको छ ।
मन्दिरपछाडि रहेका धारामा स्नान गर्ने क्रममा तीर्थालुको टाउको र निधारमा चोट लाग्ने समस्यालाई समाधान गर्न धाराको उचाइ बढाउनेसहितका संरचनाका लागि साधारण सभाबाटै निर्णय गरिएको कोषाध्यक्ष गुरुङले बताउनुभयो । पुरातात्त्विक तथा धार्मिक क्षेत्रमा नयाँ संरचना थप तथा पुनर्निर्माणको काम गर्दा पुरातत्त्व विभागसँगको अनुमतिबिना काम गर्न पाइँदैन । प्रमुख जिल्ला अधिकारी अजिता शर्मा अध्यक्ष रहेको समितिमा सरकारी निकाय, स्थानीय गाउँपालिकाका अध्यक्षसहितका जनप्रतिनिधिको टोलीले पुरातत्त्व विभागमा समेत पुगेर प्र्रस्तावित योजनाको डिजाइनलाई स्वीकृति दिन अनुरोध गरेको छ ।
विभागबाट अनुमति आएलगत्तै निर्माणको काम तीव्र रूपमा अघि बढाउने मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जमिनमाथि र जमिनमुनि रहेका ऐतिहासिक संरचनामा कुनै असर नगर्ने तथा पुरातात्त्विक र ऐतिहासिक महत्त्वको स्वरूपलाई समेत परिवर्तन हुन नदिने गरी संरचना थप गरिने प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।
मन्दिरको महिमालाई कायम राख्ने गरी संरचना बनाउन वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, जिल्ला समन्वय समिति, सहरी विकास तथा भवन डिभिजन कार्यालयसहितको सहभागितामा पूर्वाधार निर्माण उपसमितिसमेत बनाइएको छ । मन्दिरबाहिर र भित्र राखिएका पाँच वटा दानपेटिका एवं नगद रसिद काटेर गरिएको दान सङ्कलन गरी मन्दिरपरिसरमा १०८ धारा र कुण्डमा तीन हजार १४० वर्ग फिट ढुङ्गा बिछ्याइएको छ । दुई सय लिटर क्षमताको शुद्ध तातोपानी पिउन मिल्ने विद्युतीय पानी भण्डार र स्नान स्थल सुरक्षित बनाउन घेराबार निर्माण गरिएको छ । कागबेनी, दामोदरकुण्डलगायतका क्षेत्रमा समेत भौतिक संरचना बनाउन सहयोग गरिएको छ ।
विसं २०६३ मा समिति गठन भएपछि मन्दिरको विकास, संरक्षण, व्यवस्थापन र भक्तजनले दान गरेको रकम सही सदुपयोग भइरहेको छ । यहाँ नेपाली तथा विदेशी तीर्थालु र तेस्रो मुलुकबाट आउने पर्यटक गरी वार्षिक करिब आठ लाख व्यक्तिको आगमन रहेको छ । मन्दिरमा नेपालीपछि सबैभन्दा धेरै भारतीय तीर्थालु आउने गरेको तथ्याङ्कले देखाउँछ ।