राममणि दाहाल
मकवानपुर, चैत ७ गते । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर १ धनसानी गोलेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले विशाल केसीले दिएको जाहेरीमा ३७ वर्षीया गोलेलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
वैदेशिक रोजगार ठगीसम्बन्धी कसुर मुद्दामा जारी भएको पक्राउ पुर्जी बमोजिम निजलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँमा पठाइने तयारी भएको उहाँको भनाइ छ । साथै निजबाट विदेश पठाइदिन्छु भनि ठगिनु भएको कोही हुनुहुन्छ भने वैदेशिक रोजगार विभागमा सम्पर्क गर्न जानसमेत जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुरोध गरेको छ ।
यसैबिच, इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुर मनहरी गाउँपालिका वडा नं. ७ मनकामना सामुदायिक वनस्थित रुपाचुरी–मनहरी कच्ची सडक खण्डबाट एक जनालाई लागुऔषध अफिमसहित पक्राउ गरेको छ ।
उक्त बाटोमा शङ्कास्पद रूपमा हिडिरहेका मनहरी गाउँपालिका वडा नं. ६ रुपाचुरीका ३२ वर्षीय देवचन्द्र घलानलाई खानतलासी गर्दा निजको साथबाट प्रतिबन्धित लागुऔषध अफिम जस्तो देखिने पदार्थ तीन ओटा पोकामा तीन किलो ४७८ ग्राम फेला परेको प्रहरीले जनाएको छ । निज घलानलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको छ ।