केदार तिमल्सिना
बनेपा, चैत ७ गते । वर्षाका कारण अवरुद्ध भएको बीपी राजमार्ग शनिबार बिहान सुचारु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बिहान साढे ३ बजे अवरुद्ध बनेको राजमार्ग बिहान ९ः३० बजेदेखि सुचारु भएको हो।
प्रहरी नायब उपरीक्षक रबिन बिष्टले रोसी खोलामा पानीको बहाव कम भए र बाढीले क्षति पुर्याएको स्थानमा सडक मर्मत गरेपछि यातायात पुनः सञ्चालनमा आएको बताउनुभयो। सडक मर्मतपछि राजमार्गमा साना तथा ठूला सवारी साधनहरू सुचारु रूपमा चलेको उनले जानकारी दिनुभयो।
प्रहरीले तत्काल राजमार्ग सुचारु भए तापनि मौसमको प्रतिकुलता रहँदा सावधानीपूर्वक यात्रा गर्न सबैलाई आग्रह गरेको छ। शुक्रबार साँझ परेको वर्षाका कारण विपी राजमार्गको चारसयबेशी, गिम्दी, दाउन्ने र कालढुङ्गा क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
गत वर्षको बाढीले बीपी राजमार्गको भकुण्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक खण्ड क्षति भएको थियो। क्षतिग्रस्त सडकको पुनर्निर्माण काम जारी छ। हाल चौकीडाँडेदेखि नेपालथोकसम्म अस्थायी डाइभर्सन निर्माण गरी रोसी खोलैखोलामा सवारी सञ्चालन गरिएको छ।
अस्थायी उपायका कारण सामान्य वर्षामा समेत राजमार्ग अवरुद्ध हुने जोखिम कायमै रहेको प्रहरीले जनाएको छ।