खजुरा समाचारदाता
खजुरा, चैत ७ गते । बाँकेको नेपालगन्जमा नयाँ होटेल थपिएको छ । नेपालगन्जको धम्बोझीमा १५ करोड रुपियाँको लगानीमा नयाँ दुईतारे होटेल ‘होटेल कान्तिपुर प्लाजा’ शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
नेपालगन्जको धम्बोझी चोकमा अत्याधुनिक सेवासुविधायुक्त ‘होटेल कान्तिपुर प्लाजा’ सञ्चालनमा ल्याइएको सञ्चालक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।
नेपालगन्ज आउने व्यावसायिक प्रतिनिधि, आन्तरिक तथा बाह्य पर्यटक एवं विशिष्ट पाहुनालाई स्तरीय आतिथ्य प्रदान गर्ने उद्देश्यले दुईतारे मापदण्ड अनुरूप यो होटेल तयार गरिएको युवा उद्यमी एवं सञ्चालक कँडेलले बताउनुभयो ।
उहाँका अनुसार होटेलमा कुल २७ वटा सुविधासम्पन्न कोठा छन्, जसमा विलासी अनुभवका लागि दुई वटा विशेष स्विट रुम उपलब्ध छन् । सबै कोठामा एसी र चौबिसै घण्टा तातोपानीको व्यवस्था हुनुका साथै पाहुनाको सहजताका लागि आठ जना अट्ने अत्याधुनिक लिफ्ट जडान गरिएको छ ।
इसेवालगायतका विभिन्न डिजिटल प्लेटफर्मबाट सहजै कोठा बुकिङ गर्न सकिने व्यवस्था मिलाइएको छ । सभा/सेमिनारका लागि होटेलमा ६० जना क्षमताको आधुनिक सभा हल, ५० जना क्षमताको स्तरीय रेस्टुरेन्ट र ३० सिट क्षमताको क्याफे सञ्चालनमा रहेको सञ्चालक कँडेलले जानकारी दिनुभयो ।