कहिलेकाहीँ सूचना पनि नराम्रोसँग जानकारीबाट ओझेल पर्ने गर्छन् । धेरै मानिसले सामान्य मानिरहेको सूचना पनि आफूलाई अनौठो हुन पुग्छ । मैले यस्ता घटना जीवनमा धेरै भोगेको छु । कतिपय सामान्य लाग्ने कुरा पनि आफूले नजान्दा अरूले खिसी गरेका भनाइ पनि खाएको छु । यस्ता कुराले मलाई खासै असर भने पार्दैन । किनकि नजानिञ्जेल मूर्ख भइने हो, जानेपछि सामान्य भइन्छ ।
बानेश्वरस्थित रत्न पुस्तकालय बानेश्वर महादेवस्थान मन्दिर परिसरमा अवस्थित रहेछ, जहाँ रत्न राज्य मावि रहेको छ । मलाई यो कुरा थाहा थिएन । म त्यो पुस्तकालय अगाडिको बानेश्वरको त्यो बाटो हिँड्ने गरेको २०३५ सालदेखि हो । अर्थात् जब म कानुन विषयको स्नातक तहमा अध्ययन गर्न झापाबाट काठमाडौँ आएँ त्यही बेलादेखि नै त्यो बाटो हिँडेको हुँ । त्यस विद्यालयमा मेरा एक जना भतिजले पनि चार पाँच वर्ष अध्ययन गरेका हुन् । त्यति हुँदा पनि त्यो महादेवथान मन्दिर हाताभित्र कहिल्यै पसिएको रहेनछ । सो मन्दिर परिसरभित्रै नपसेपछि मन्दिरको परिसरभित्र रहेको त्यस पुस्तकालयमा कसरी पुगियोस् र ? न मेरो आवश्यकताले त्यता डो¥यायो न त मभित्रको रुचि र संयोगले नै । सम्भवतः आफ्नो गन्तव्य भन्दा दायाँबायाँ नलाग्ने आफ्नो एकोहोरो स्वभाव पनि त्यसको कारक भएको हुन सक्छ ।
यो पुस्तकालय विसं २०१९ मा स्थापना भएको रहेछ । त्यहाँ म पुग्ने संयोग त्यो पुस्तकालय स्थापना भएको ६३ वर्षपछि मात्र जुर्न पुगेछ । सो पुस्तकालयका अध्यक्ष शशिविक्रम राणालाई म पहिलेदेखि नै चिन्दथेँ । उहाँले कर्मचारी सञ्चयकोषमा लामै समय जागिर खानु भयो । मैले पनि सो संस्थामा दुई महिना भन्दा कम अवधि जागिर खाएको थिएँ । हाम्रा बिच एउटै संस्थामा जागिर खाएको त्यो सम्बन्ध त थियो नै । त्यसका अतिरिक्त एक पटक मैले उहाँको वकिल बनेर अदालतमा उहाँको प्रतिनिधित्व गरी उहाँलाई सफलता दिलाएको सम्बन्ध पनि थियो । यी कुनै सम्बन्धले पनि मलाई कहिल्यै त्यो पुस्तकालयमा तानेका थिएनन् । अनि उहाँ अहिले त्यस पुस्तकालयको व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ भन्ने पनि मलाई थाहा थिएन ।
संयोग नै भन्नु प¥यो– त्यस पुस्तकालयको वार्षिक मुखपत्र ‘पूजा’ पत्रिकाले स्वरसम्राट नारायण गोपालको विशेषाङ्क प्रकाशन गर्ने निधो गरेको रहेछ । त्यस विशेषाङ्कमा नारायण गोपाल बारेको एउटा आलेख तयार पार्न त्यो सूचना थाहा पाउने र मेरा साहित्यिक सिर्जनाहरू पढ्ने संयोग पाउनु भएका साहित्यकार जीवनाथ धमलाले उत्प्रेरित गर्नुभयो । उहाँको उत्प्रेरणालाई कदर गर्दै मैले पनि एउटा आलेख तयार पारेँ । त्यो आलेख प्रकाशनका लागि पठाउने सिलसिलामा मात्र थाहा भयो कि–त्यो कामको संयोजन शशिविक्रम राणाले गर्नुभएको रहेछ ।
त्यो आलेख शशिविक्रम राणाले दिनुभएको इमेल ठेगानामा पठाएपछि उहाँसँग मेरो अलि बाक्लो सम्पर्क हुन थाल्यो । हाम्राबिच साहित्यिक गतिविधिको सूचना आदानप्रदान पनि हुन थाल्यो । आफ्नो आलेखसमेत समाविष्ट रहेको नारायण गोपाल विशेषाङ्क मेरो हात परेपछि त्यसमा समावेश गरिएका अन्य सर्जकका सिर्जना प्रायः सबै अध्ययन गरेर नारायण गोपालका बारेमा फेरि एउटा नयाँ आलेख पनि तयार पारेर प्रकाशनार्थ भारतको आसामबाट प्रकाशन हुने पत्रिकामा पठाएँ । यो कुरा शशिविक्रम राणालाई पनि सुनाएको थिएँ ।
यसै क्रममा उहाँले एक दिन मलाई सो पुस्तकालय अवलोकन गर्ने आग्रह गर्दै खुला मितिको निम्तो दिनुभएको थियो । आफ्नो कार्यव्यस्तताले गर्दा निम्तो पाउनेबित्तिकै जान नपाए पनि केही समय पछि (२०८२ साल माघ ६ गते ) त्यो साइत जुर्न पुग्यो । त्यस दिन मैले आफू त्यस पुस्तकालयमा आउँदै गरेको खबर गरेँ । त्यहाँ पुगेपछि रत्नराज्य विद्यालयको प्रवेशद्वार खोलेर भित्र पस्दाभित्र खेलिरहेका ससाना नानीहरूको ध्यान हामीमाथि पर्न गयो । मैले तीमध्येका एक जनालाई त्यो पुस्तकालयका बारेमा सोधेँ । उनले सहजै बाटो देखाइदिए । उनले देखाएको बाटो लागेर अलि ठाडो जस्तो लाग्ने भ¥याङ बिस्तारै चढ्दै उक्लन लागेँ । त्यस भवनको माथिल्लो तलामा पुस्तकालय रहेछ । त्यहाँ पुस्तक सँगसँगै महìवपूर्ण अवसर र घटनालाई प्रदर्शित गर्ने तस्बिर पनि सङ्कलन गरेर सजाइएका रहेछन् ।
पुस्तकालयको एक छेउमा राखिएको ठुलो टेबुल भरी पुस्तक र पत्रपत्रिका राखिएका थिए । त्यही टेबुलमा एक्लै बसेर केही सामग्री पढ्दै शशिविक्रम राणा मेरो आगमनको प्रतीक्षा गरिरहनुभएको रहेछ । पुस्तकालयको अवलोकन गर्न बोलाइएको हुनाले मैले आफूले प्रकाशन गरेका पाँच वटा पुस्तकहरू (बुबा शोककाव्य, अन्तर्य आत्मकथा, अमेरिका यात्राका डोबहरू नियात्रा, अन्तर्मनका क्षितिजहरू फुटकर कविता सङ्ग्रह र अलोहा नियात्रा) र मउपर लेखिएका तीन वटा पत्रिका पुस्तकालयलाई उपहार दिन बोकेर पुगेको हुन्छु ।
यस आमन्त्रणभित्र म त्यस पुस्तकालयको आजीवन सदस्यता बन्नुपर्ने आग्रह पनि थियो । उहाँको त्यस आग्रहलाई सम्बोधन गर्नु पनि थियो मैले । उहाँलाई पुस्तकालयमा देखेपछि हामीले एक अर्कालाई अभिवादन ग¥यौँ । अनि एकछिन् भलाकुसारी पनि ग¥यौँ । त्यसपछि उहाँले पुस्तकालयको आजीवन सदस्य बनाएको रसिद दिनुभयो अनि मैले त्यसबापतको रकम दाखिल गरेपछि आजीवन सदस्यको औपचारिकता पूरा भयो । मभन्दा पहिले नै आजीवन सदस्यता लिने परिचित र अपरिचित महानुभाव धेरै जना हुनुहुँदो रहेछ । त्यसपछि उहाँले पुस्तकालय र त्यहाँ उपलब्ध पुस्तकहरूको बारेमा बताउनु भयो । पुस्तक दिने दातालाई आभारपत्र पनि दिने प्रणाली बसाएको हुनाले मैले पनि त्यो सौभाग्य प्राप्त गरेँ । त्यसपछि उहाँले मलाई श्री रत्न पुस्तकालयबाट प्रकाशित बानेश्वर महादेवस्थानसम्बन्धी पुस्तक, जमरा अङ्क ३०, २०८२, पूजा अङ्क ३३ वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी विशेषाङ्क २०८०, पूजा अङ्क ३४ राष्ट्रकवि माधवप्रसाद घिमिरे विशेषाङ्क २०८१, पूजा अङ्क ३५ स्वरसम्राट नारायण गोपाल विशेषाङ्क २०८२ तथा अरूले प्रकाशन गरेका सुनिता स्मृति सङ्ग्रह, २०८० र डा. लोकेन्द्रप्रसाद पौडेलले लेख्नु भएको ‘गञ्जागोल’ कविता सङ्ग्रह २०८२ समेत दिनुभयो । ती पुस्तक पाइरहँदा मलाई ती पुस्तकहरू पढेर कहिले सिध्याउनु होला भन्ने हुटहुटी लागिरहेको थियो । हामीले यी सुखद संयोगहरूलाई स्मृतिमा साँच्नका लागि दुई जना सँगै बसेर केही तस्बिर पनि खिच्यौँ ।
उहाँ चौध वर्षको उमेरदेखि त्यस पुस्तकालयमा आबद्ध हुँदै अहिले अध्यक्ष हुनुभएको लामो पृष्ठभूमि सुनाउनुभयो । एउटा धुलाम्मे कोठाबाट सुरुवात भएको पुस्तकालयलाई अहिलेको स्थानमा ल्याउने समयका बिचका आरोहअवरोहको कथा छोटकरीमा सुनाउनु भयो । धेरै व्यक्तिका धेरै प्रकारका योगदान सङ्गृहीत भएर त्यस पुस्तकालयको समुन्नति भएको रहेछ । राजनीतिक पूर्वाग्रहको बिउ जताततै रोपिएर दूषित बन्दै गएको समाजमा राजनीतिक तटस्थताको वृक्ष बनाउन खोजिएको रहेछ त्यस पुस्तकालयलाई । शशिविक्रम राणाको उदात्त सामाजिक भाव र अनवरत लगाव देखेर म प्रभावित भएँ । मलाई उहाँ हरहमेसा पुस्तकालयकै समुन्नतिमा दत्तचित्त रहेको महसुस भयो ।
पुस्तकालयको बाहिपट्टि स्थापना गरिएका महाकवि लक्ष्मीप्रसाद देवकोटा, साहित्यकारहरू चित्तधर हृदय, धरणीधर कोइराला, सत्यमोहन जोशी, विष्णुदेवी वाइबा ( पारिजात ), भूपी शेरचन, पहलमानसिंह सिंह स्वाँर, इतिहास शिरोमणि बाबुराम आचार्य जस्ता होनहार व्यक्तिका शालिकहरू राखिएका रहेछन् । ती महान् व्यक्तित्वहरूको शालिक देखेर उत्पन्न हुने उहाँहरूको संस्मरणले पुस्तकालय नै सुशोभित भएको महसुस भयो मलाई । धार्मिक विचारका मानिसलाई त्यहाँ प्रतिस्थापन गरिएको महादेवथान मन्दिरले आध्यत्मिकताको सन्देश पनि सँगसँगै दिइरहेको देखिन्छ । व्यस्त सडकको छेउमा अवस्थित भइकन पनि शान्त वातावरणमा उभिएको लाग्ने त्यो पुस्तकालय अध्येताहरूको प्रतीक्षा गरिरहेको छ । कालक्रम बित्तै जाँदा हामी पनि एक दिन यो धरतीमा रहने छैनौँ । त्यो पुस्तकालय खोल्ने र यसलाई समृद्ध पार्ने कतिपय व्यक्ति आज हुनुहुन्न । तैपनि उहाँहरू त्यहाँ समेटिएका अभिलेखमा जोडिएर स्मृतिमा समेटिनु भएको छ । यो आलेख पनि स्मृतिको पर्दामा कतै समेटिएला भनेर तयार गरिएको हो । यस्ता पुस्तकालय हामी अन्यत्र पनि बनाउन सक्छौँ । त्यसका लागि केवल रत्न पुस्तकालयको जस्तै त्याग र प्रतिबद्धता चाहिन्छ ।
यस पुस्तकालयमा विभिन्न समयमा विभिन्न क्षेत्रका मुर्धन्य व्यक्तित्वहरूले भ्रमण गर्नु भएको रहेछ । भ्रमणका क्रममा उहाँहरूले मन्तव्य पनि लेख्नुभएको रहेछ । त्यो देखेर मैले पनि आफ्ना मनका कुराहरू आगन्तुक पुस्तिकामा समेटे । मैले भन्दा अगाडि त्यहाँ लेखिएका मन्तव्य आफैँ इतिहास भएर मुस्कुराइरहेका थिए । पुस्तक अध्ययन संस्कृतिलाई बढावा दिन पुस्तकालयमा उपस्थित भएर ज्ञान आर्जन गर्ने विद्यार्थीलाई पुरस्कृत गर्ने सुरुवाती कर्मले पुस्तकालयले अझ समृद्धि हासिल गर्ने छ र भविष्यमा यो पुस्तकालय वास्तवमै एउटा ज्ञानको पुञ्ज बन्ने छ भन्ने अपेक्षा लिएर त्यहाँबाट बिदा भएँ । शशिविक्रम राणाले न्यानो बिदाइ गर्नु गयो । त्यहाँबाट म बिदा भएर हिँडे पनि मेरो मनले ती क्षण र त्यो पुस्तकालय अझै झलझल्ती सम्झिरहेको छ ।