• ७ चैत २०८२, शनिबार

१८ डी सिनेमा सञ्चालन

blog

कास्की समाचारदाता

कास्की, चैत ७ गते । साहसिक गतिविधिका लागि प्रसिद्ध पोखरामा अब मनोरञ्जनका लागि थप नयाँ आयाम थपिएको छ । फ्लाई नेपाल इन्टरटेनमेन्टले पोखरामा शुक्रबारदेखि १८ डी सिनेमा सञ्चालनमा ल्याएको छ । नेपालमै पहिलो पटक सुरु गरेको यस फ्लाई नेपालले पोखराको डिज्नील्यान्ड लेकसाइडमा सञ्चालनमा ल्याएको हो । 

महानायक राजेश हमालले सिनेमाको औपचारिक उद्घाटन गर्नुभएको छ । हमालले सिनेमाको सहर पोखराले फरक शैलीको अनुभव गर्न पाउने बताउनुभयो । “पोखरा आफैँमा सुन्दर सहर हो । यहाँ धेरै सिनेमा सुटिङ हुने गर्छन् । सिनेमाको बिजनेसको हिसाबले पनि पोखरालाई मान्ने गरिन्छ । यो सिनेमा मात्र नभएर एउटा नयाँ संसारको यात्रा हो,” उहाँले भन्नुभयो । 

फ्लाई नेपाल इन्टरटेनमेन्टका प्रमुख राम थापाले काठमाडौँमा सफलतापूर्वक सञ्चालनपछि दर्शकको अत्यधिक माया र सकारात्मक प्रतिक्रियाले पोखरामा विस्तार गरिएको बताउनुभयो । काठमाडौँको भन्दा प्रविधिमा राम्रो रहेको उहाँले सुनाउनुभयो । उच्च प्रविधि र सिर्जनात्मक कथालाई संयोजन गर्दै आमदर्शकलाई नयाँ किसिमको मनोरञ्जनको अनुभव प्रदान गर्नु फ्लाई ओभरको लक्ष्य रहेको उहाँको भनाइ छ । “यो सिनेमाका धेरै विशेषता छन् । १० देखि ३० मिनेटसम्म रोमाञ्चक फिल्मको अनुभव गर्न सकिन्छ । कुनै चस्मा वा हेडसेटबिना प्रत्यक्ष अनुभूति लिनका लागि सबै उमेर समूहलाई उपयुक्त हुन्छ,” उहाँले भन्नुभयो । यस सिनेमामार्फत १७ वटा फरक फरक कथात्मक संसारमा प्रवेश गर्न सकिने उहाँले भन्नुभयो । 

फ्लाई नेपाल इन्टरटेनमेन्टका निर्देशक हिमाल थापाले साहसिक गतिविधिको सहर पोखरामा सिनेमाको अनुभव अझै फराकिलो बन्ने बताउनुभयो । “अब पोखरेली दर्शकले साहसिकता केवल बाहिरी संसारमा मात्र नभई भित्री अनुभूतिमा पनि पाइन्छ,” उहाँले भन्नुभयो ।