• ७ चैत २०८२, शनिबार

शिक्षामा आध्यात्मिक चेतना

blog

समकालीन समाजमा बढ्दो नैतिक सङ्कट, सामाजिक विघटन, मानसिक तनाव र मूल्य–सङ्कटले शिक्षा केवल बौद्धिक विकासमा सीमित भएको छ । त्यसैले परम जीवन तन्त्र र आध्यात्मिक चेतना जस्ता अवधारणा शिक्षा प्रणालीका लागि अत्यन्त सान्दर्भिक बन्दै गएका छन् । यी अवधारणाले शिक्षा प्रक्रियालाई ज्ञान हस्तान्तरणभन्दा माथि उठेर आत्मबोध, नैतिकताका साथै सामाजिक जिम्मेवारी र उत्तरदायित्वतर्फ डो¥याउँछ ।

पूर्वीय दर्शन विशेषतः आदि शङ्कराचार्यद्वारा प्रतिपादित अद्वैत वेदान्तले मानव जीवनको मूल आधार चेतना हो भन्ने विचार प्रस्तुत गर्छ । यदि जीवनको आधार चेतना हो भने शिक्षा पनि चेतनाको विकाससँग प्रत्यक्ष सम्बन्धित हुनु पर्छ । यही दृष्टिले शिक्षामा परम जीवन तन्त्र र आध्यात्मिक चेतनाको समावेश समकालीन समयको महत्वपूर्ण आवश्यकता बनेको छ ।

आध्यात्मिक चेतना र शिक्षा

व्यक्ति आफ्नो अस्तित्व, उद्देश्य र मूल्यप्रति सचेत÷सजग हुनु आध्यात्मिक चेतना हो । यो धार्मिक कर्मकाण्डसँग मात्र सीमित नभएर आत्मचिन्तन, नैतिकता, करुणा, सेवा र समभाव जस्ता मानवीय गुणहरूको विकाससँग सम्बन्धित रहन्छ । शिक्षा प्रणाली बौद्धिक विकासमा मात्र सीमित रहेमा त्यसले व्यक्तिको समग्र विकास गर्न सक्दैन । प्लेटोले शिक्षालाई आत्माको स्मरण प्रक्रिया मानेका थिए । उनका अनुसार सत्य शाश्वत र अपरिवर्तनीय हुन्छ र शिक्षा त्यो सत्यको पुनस्र्मरण गर्ने माध्यम हो । मानव जीवन बौद्धिक, भावनात्मक, सामाजिक र आध्यात्मिक आयामहरूको समन्वयबाट निर्मित भएको हुन्छ । यसले जीवनका गहिरा मूल्यहरू बुझ्न र आत्मनियन्त्रण विकास गर्न सहयोग पु¥याउँछ, जसको प्रभाव जीवनका विभिन्न आयाममा देख्न सकिन्छ । 

नैतिक विकास : शिक्षा प्रणालीको मूल उद्देश्य ज्ञान प्रदान गर्नु मात्र नभई विद्यार्थीमा सही–गलतको विवेक विकसित गराउनु पनि हो । जब व्यक्ति आध्यात्मिक रूपमा सचेत हुन्छ, उसले आफ्नो कार्यको नैतिक परिणामबारे गहिरो रूपमा सोच्न थाल्छ । नैतिकता सामाजिक नियमको पालन साथै आत्मचेतनाको अभिव्यक्ति हो । आध्यात्मिक चेतनाले व्यक्तिलाई सहिष्णुता, करुणा, सत्यनिष्ठा र इमानदारी जस्ता मूल्यहरू आत्मसात् गर्न अभिप्रेरित गर्छ । विद्यार्थीले आफ्नो अध्ययनलाई परीक्षा उत्तीर्ण गर्ने माध्यमका रूपमा मात्र नहेरी समाजप्रति उसको जिम्मेवारी र उत्तरदायित्वका रूपमा बुझ्न थाल्यो भने उसको अध्ययनको उद्देश्य अझ गहिराइमा पुग्छ । यसरी आध्यात्मिक चेतनाले शिक्षा प्रणालीलाई मूल्यकेन्द्रित बनाउने आधार प्रदान गर्छ ।

आत्मअनुशासन : आध्यात्मिक चेतनाले व्यक्तिमा आत्मनियन्त्रण र अनुशासनको विकास गराउँछ । प्लेटोले शिक्षालाई आत्माको स्मरण प्रक्रिया मानेका थिए । उनका अनुसार सत्य शाश्वत र अपरिवर्तनीय हुन्छ र शिक्षा त्यो सत्यको पुनस्र्मरण गर्ने माध्यम हो । आधुनिक जीवनशैलीमा व्यक्ति अनेक आकर्षण, तनाव र विचलनहरूको सिकार बनिरहेको छ । यस्तो अवस्थामा सजगता, ध्यान र आत्मचिन्तनको अभ्यासले व्यक्तिलाई आन्तरिक सन्तुलन कायम गर्न मद्दत गर्छ । शिक्षा प्रक्रियामा आत्मअनुशासन अति आवश्यक विषय हो । सिकाइ निरन्तर अभ्यास र धैर्यको परिणाम हो । विद्यार्थीले समय व्यवस्थापन, एकाग्रता र आत्मनियन्त्रण विकास गर्न सकेन भने ज्ञान प्राप्ति कठिन हुन्छ । आध्यात्मिक चेतनाले यी गुण स्वाभाविक रूपमा विकासित गराउँछ । आत्म अनुशासनले शिक्षालाई बाह्य नियन्त्रणबाट आन्तरिक प्रेरणामा आधारित प्रक्रियामा रूपान्तरण गर्छ ।

समाजप्रति उत्तरदायी : आध्यात्मिक चेतनाको अर्को महìवपूर्ण प्रभाव सामाजिक चेतनाको विकास हो । जब व्यक्ति आफ्नो अस्तित्वलाई व्यक्तिगत हितमा सीमित नगरी व्यापक समाजसँग जोडेर हेर्न थाल्छ, तब उसमा सामाजिक उत्तरदायित्वको भावना विकासित हुन्छ । शिक्षाको उद्देश्य व्यक्तिगत सफलता हासिल गर्नु मात्र नभई समाजको समग्र विकासमा योगदान पु¥याउनु पनि हो । आध्यात्मिक चेतनाले व्यक्तिलाई सहकार्य, सेवा भाव र सामाजिक न्यायप्रति सचेत हुन प्रेरित गर्छ । विद्यार्थीले आफ्नो ज्ञानलाई समाजको समस्या समाधानका लागि उपयोग गर्ने दृष्टिकोण राख्छ भने शिक्षा वास्तविक अर्थमा समाज रूपान्तरणको साधन बन्न सक्दछ । खप्तडबाबा भन्नु हुन्छ, “युवामा अनुशासन, नैतिकता, कर्तव्यपरायणता तथा शिष्टता आदि दिव्य गुणहरू समावेश हुन सकून् र आफूलाई एउटा आदर्श र चरित्रवान् नागरिक सिद्ध गर्न सकून् ।’’

मानसिक सन्तुलन : आजको प्रतिस्पर्धात्मक र प्रविधिमुखी जीवनशैलीले मानिसलाई मानसिक रूपमा अत्यधिक दबाबमा राखेको छ । विद्यार्थीहरूमा परीक्षा, भविष्यको चिन्ता र सामाजिक अपेक्षाका कारण तनाव बढिरहेको छ । आध्यात्मिक अभ्यासले मानसिक सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्छ । सकारात्मक सोचले व्यक्तिको मनलाई शान्त र केन्द्रित बनाउँछ । एकाग्रता बढाउँछ । भावनात्मक स्थिरता विकास गर्छ र मानसिक स्वास्थ्य सुदृढ बनाउँछ । शिक्षा प्रक्रियामा मानसिक सन्तुलन कायम हुँदा विद्यार्थीले सिकाइलाई सकारात्मक रूपमा ग्रहण गर्न सक्छ । अध्ययनमा रुचि बढाउनुका साथै जीवनप्रति सकारात्मक दृष्टिकोण विकास गर्न सघाउँछ ।

तसर्थ आध्यात्मिक चेतनाले व्यक्तिको व्यवहार, सोच र सामाजिक सम्बन्धलाई सकारात्मक दिशातर्फ उन्मुख गराउँछ । व्यक्तिको समग्र व्यक्तित्व विकास गर्न सहयोग पु¥याउँछ । शिक्षा प्रणालीले दक्ष जनशक्ति उत्पादन गर्नुका साथै नैतिक, जिम्मेवार र सचेत नागरिक निर्माण गर्ने आधार तय गर्छ । समग्रमा भन्दा आध्यात्मिक चेतना शिक्षा प्रणालीको मानवतावादी पक्ष सुदृढ बनाउने महत्वपूर्ण तत्व हो ।

परम जीवन तन्त्र 

‘परम जीवन तन्त्र’ जीवन सञ्चालन गर्ने सर्वोच्च चेतनात्मक संरचना हो । यसले जीवनलाई भौतिक अस्तित्वको रूपमा मात्र बुझ्ने नभई चेतना र आध्यात्मिक यथार्थको रूपमा बुझ्ने दृष्टिकोण राख्छ । जीवन विज्ञानले ज्ञानयोग, कर्मयोग, भक्तियोग, परमयोग र ध्यानयोगको समष्टिगत नै परम जीवन तन्त्र हो भन्दछ, जसले रोजाइ÷लक्ष्य, लक्ष्य प्राप्तिमा एकाकार, संयम तथा सजग र सक्रिय कर्म अनि पूर्णता अथवा लक्ष्य प्राप्ति (सिद्धि) लाई जीवनको केन्द्र विन्दुमा राखेको हुन्छ । 

अद्वैत वेदान्तले ब्रह्म नै परम सत्य हो र सम्पूर्ण जगत् त्यसैको अभिव्यक्ति हो, भन्छ भने व्यक्तिको आत्मा पनि त्यही ब्रह्मको अंश हो । यस दृष्टिले जीवनको अन्तिम उद्देश्य आत्मज्ञान वा आत्मबोध हो । शिक्षा त्यही आत्मबोधतर्फ उन्मुख हुने प्रक्रिया हो, जसले जीवनका तीन प्रमुख अवस्था (अविद्या, विद्या र ब्रह्मज्ञान) लाई स्पष्ट पार्छ । शिक्षा प्रणालीको मूल उद्देश्य पनि यही प्रक्रिया सहज बनाउनु हो । अज्ञानबाट ज्ञानतर्फ र ज्ञानबाट आत्मबोधतर्फको यात्रा तय गर्नु हो ।

शिक्षामा प्रयोग 

परम जीवन तन्त्रको अवधारणा जीवनलाई केवल भौतिक वा बाह्य संरचनामा सीमित नगरी सजगता, चेतना, मूल्य र आत्मबोधसँग जोडेर बुझ्ने दृष्टिकोण हो । शिक्षा प्रणालीले यस अवधारणालाई आत्मसात् गर्न सके शिक्षण–सिकाइ प्रक्रिया मात्र नभई सम्पूर्ण शैक्षिक संरचना नै रूपान्तरण हुन सक्छ । परम जीवन तन्त्रको आधारमा शिक्षा जानकारी हस्तान्तरण गर्ने माध्यमका साथै मानव चेतनाको विकास गर्ने प्रक्रिया बन्न सक्छ । यस प्रसङ्गमा निम्न पक्ष विशेष महत्वपूर्ण देखिन्छन् ।

मूल्य–केन्द्रित पाठ्यक्रम : परम जीवन तन्त्रमा आधारित शिक्षा प्रणालीले पाठ्यक्रमलाई ज्ञान सामग्रीको सूचीका रूपमा मात्र नहेरी मानव मूल्यहरूको विकास गर्ने माध्यमका रूपमा व्याख्या गर्छ । यस दृष्टिकोणमा पाठ्यक्रममा नैतिक शिक्षा, दर्शन, ध्यान, आत्मचिन्तन तथा जीवन कौशलसम्बन्धी विषयहरू समावेश गरिन्छ । यस्ता विषयले विद्यार्थीलाई जीवनका गहिराइ बुझ्ने अवसर दिन्छ । ‘मानव जीवनको उद्देश्य’, ‘सही निर्णय लिने तरिका,’ ‘समाजप्रतिको उत्तरदायित्व बोध’ जस्ता विषयमा सोच्न प्रेरित गर्छ । मूल्यकेन्द्रित पाठ्यक्रमले शिक्षालाई सूचना सङ्कलनको माध्यमबाट माथि उठाएर जीवनबोध र चरित्र निर्माणको आधार तयार गराउँछ ।

संवादात्मक शिक्षण पद्धति : परम जीवन तन्त्रको दृष्टिले शिक्षा/ज्ञान स्थिर वस्तु होइन; यो निरन्तर खोज, जिज्ञासा र संवादको प्रक्रियाबाट विकसित हुन्छ । त्यसैले शिक्षण पद्धति पनि संवादात्मक हुनु पर्छ । संवादले शिक्षण पद्धतिमा शिक्षक र विद्यार्थीबिच विचार आदानप्रदान हुन्छ, प्रश्न उठाइन्छ, विभिन्न दृष्टिकोणहरू प्रस्तुत गरिन्छ र आलोचनात्मक चिन्तनलाई प्रोत्साहन गरिन्छ । यसले विद्यार्थीलाई निष्क्रिय श्रोता बनाउने होइन, सक्रिय सहभागी बनाउने काम गर्छ । यस्तो शिक्षण पद्धतिले अनुसन्धानमुखी सोच, सिर्जनशीलता र समस्या समाधान गर्ने क्षमता विकास गर्न मद्दत गर्छ । जब विद्यार्थीले स्वतन्त्र रूपमा प्रश्न गर्न र उत्तर खोज्न सिक्छ, तब शिक्षा वास्तविक अर्थमा चेतना विकासको माध्यम बन्छ ।

शिक्षकको भूमिका : परम जीवन तन्त्रमा आधारित शिक्षा प्रणालीमा शिक्षकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । शिक्षक केवल पाठ्यपुस्तकको जानकारी दिने व्यक्ति मात्र होइन उनी विद्यार्थीको बौद्धिक, नैतिक र आध्यात्मिक विकासका मार्गदर्शक हुन् । शिक्षकले आफ्नो व्यवहार, दृष्टिकोण र मूल्यद्वारा विद्यार्थीलाई प्रेरित गर्न सक्छन् । जब शिक्षक स्वयम् नैतिक, अनुशासित र चिन्तनशील हुन्छन्, तब उनीहरू विद्यार्थीका लागि आदर्श बन्न सक्छन् । यस सन्दर्भमा शिक्षकलाई ज्ञानदाताभन्दा पनि ‘प्रेरक’ र ‘सहयात्री’ का रूपमा बुझ्न सकिन्छ, जसले विद्यार्थीलाई आत्म अन्वेषण र आत्म विकासतर्फ उन्मुख गराउँछ ।

विद्यार्थीको समग्र विकास : परम जीवन तन्त्रमा आधारित शिक्षा प्रणालीको मुख्य उद्देश्य विद्यार्थीको समग्र व्यक्तित्व विकास हो । यसमा केवल बौद्धिक क्षमता मात्र होइन, भावनात्मक, सामाजिक र आध्यात्मिक आयामलाई पनि समान महìव दिइन्छ । समग्र विकासको अवधारणाले विद्यार्थीलाई जीवनका विविध पक्षहरूसँग सन्तुलित रूपमा सामना गर्न सक्षम बनाउँछ । बौद्धिक विकासले ज्ञान र विश्लेषण क्षमता प्रदान गर्छ; भावनात्मक विकासले सहानुभूति र संवेदनशीलता बढाउँछ; सामाजिक विकासले सहकार्य र उत्तरदायित्वको भावना विकास गर्छ र आध्यात्मिक विकासले आत्मबोध तथा आन्तरिक शान्ति प्रदान गर्छ । समग्र विकासमा आधारित शिक्षा प्रणालीले पेसागत रूपमा दक्ष, जिम्मेवार, नैतिक र सचेत नागरिक निर्माण गर्न योगदान पु¥याउँछ ।

तसर्थ परम जीवनतन्त्रको प्रयोगले शिक्षा प्रणालीलाई बाह्य संरचना र परिणामकेन्द्रित दृष्टिकोणबाट माथि उठाएर चेतनाकेन्द्रित दृष्टिकोणतर्फ उन्मुख गराउँछ । मूल्यकेन्द्रित पाठ्यक्रम, संवादात्मक शिक्षण पद्धति, प्रेरणादायी शिक्षक र विद्यार्थीको समग्र विकासमार्फत व्यक्तिलाई आत्मबोध, नैतिकता र सामाजिक उत्तरदायित्वतर्फ उन्मुख गराउँदै समाजको दीर्घकालीन रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न मार्ग प्रशस्त गर्छ ।

यसको आवश्यकता 

विश्व तीव्र परिवर्तित, प्रविधिगत विकास र विश्वव्यापी प्रतिस्पर्धाको चरणमा छ । यसले शिक्षा प्रणालीलाई पनि व्यापक रूपमा प्रभावित पारेको छ । आजको सामाजिक यथार्थले देखाएको छ बौद्धिक विकासले मात्र मानव जीवनका जटिल समस्या समाधान गर्न पर्याप्त हुँदैन । यही कारणले आधुनिक शिक्षाशास्त्रमा ‘माइन्डफुलनेस’ र मूल्यकेन्द्रित शिक्षा जस्ता अवधारणा व्यापक रूपमा चर्चा र अभ्यासमा आउन थालेका छन् । 

समग्र शिक्षाले विद्यार्थीको बौद्धिक विकाससँगै भावनात्मक, सामाजिक र आध्यात्मिक आयामलाई पनि समान महत्व दिनुपर्ने विचार प्रस्तुत गर्छ । यस दृष्टिकोणमा शिक्षा केवल ज्ञान आर्जन गर्ने माध्यम नभई व्यक्तिको सम्पूर्ण व्यक्तित्व विकास गर्ने प्रव्रिmया हो । जब विद्यार्थीले आफूलाई समाज, प्रकृति र व्यापक मानवतासँग जोडिएको अस्तित्वका रूपमा बुझ्न थाल्छ, तब शिक्षाले वास्तविक अर्थमा जीवनकेन्द्रित रूप ग्रहण गर्छ ।

‘माइन्डफुलनेस’ शिक्षा वर्तमान समयको महत्वपूर्ण अभ्यासका रूपमा विकसित हुँदै गएको छ । ध्यान, सजगता, एकाग्रता तथा अभ्यासमार्फत विद्यार्थीलाई वर्तमान क्षणप्रति सचेत बनाउने प्रयास गरिन्छ । यसले मानसिक तनाव कम गर्न, भावनात्मक स्थिरता विकास गर्न र एकाग्रता बढाउन सहयोग पु¥याउँछ । आजको प्रतिस्पर्धात्मक शिक्षा प्रणालीमा विद्यार्थीहरूले भोग्ने मानसिक दबाबलाई ध्यानमा राख्दा यस्तो अभ्यास अत्यन्त उपयोगी देखिन्छ ।

मूल्यकेन्द्रित शिक्षा पनि समकालीन शिक्षा प्रणालीको महत्वपूर्ण आवश्यकता बनेको छ । नैतिकता, सहिष्णुता, सहकार्य, करुणा र सामाजिक उत्तरदायित्व जस्ता मूल्यहरू बिनाशिक्षा अधुरो रहन्छ । आधुनिक समाजमा देखिएको नैतिक सङ्कट, सामाजिक असमानता र हिंसात्मक प्रवृत्तिहरूले शिक्षा प्रणालीमा सुदृढ गर्नुपर्ने आवश्यकता स्पष्ट रूपमा देखा परेको छ । आधुनिक शिक्षा प्रणाली पनि बौद्धिक उपलब्धि मात्र पर्याप्त छैन भन्ने निष्कर्षमा पुगेको छ । शिक्षा प्रक्रियामा आन्तरिक चेतना, आत्म अनुशासन र नैतिक मूल्यहरूको विकास आवश्यक भएको कुरा विश्वव्यापी रूपमा स्वीकारिएको छ । 

नेपाल जस्तो देशमा यसको सान्दर्भिकता अझ बढी देखिन्छ । नेपाल बहुसांस्कृतिक, बहुभाषिक र आध्यात्मिक परम्पराले समृद्ध समाज हो । यहाँ वैदिक, बौद्ध र अन्य आध्यात्मिक परम्पराहरूले मानव जीवनलाई चेतना र मूल्यको दृष्टिले बुझ्ने परम्परा विकास भएका छन् । यस्तो सांस्कृतिक परिवेशमा शिक्षा प्रणालीले आध्यात्मिक चेतना र मूल्यपरक दृष्टिकोणलाई समावेश गर्न सकेमा शिक्षाले समाजको सांस्कृतिक र नैतिक आधारलाई अझ सुदृढ बनाउन सक्छ । यही सन्दर्भमा परम जीवन तन्त्र र आध्यात्मिक चेतना जस्ता अवधारणा शिक्षालाई गहिरो दार्शनिक आधार प्रदान गर्ने माध्यम बन्न सक्छन् ।

अन्त्यमा

शिक्षा मानव समाज रूपान्तरणको सबैभन्दा प्रभावकारी साधन हो । समसामयिक सन्दर्भमा शिक्षामा परम जीवन तन्त्र र आध्यात्मिक चेतनाको समावेश केवल दार्शनिक वा सैद्धान्तिक अवधारणा मात्र नभई शिक्षा प्रणालीलाई समग्र, सन्तुलित र मानवीय बनाउन आवश्यक दिशानिर्देश पनि हो । यस्तो दृष्टिकोणले विद्यार्थीलाई केवल ज्ञानसम्पन्न मात्र होइन, सचेत, जिम्मेवार र मूल्यवान् नागरिक बन्ने आधार प्रदान गर्न सक्छ । जब शिक्षा र चेतनाबिच सन्तुलन कायम हुन्छ, तब मात्र समाजमा दीर्घकालीन शान्ति, समृद्धि र मानवताको विकास सम्भव हुन्छ ।