• १३ साउन २०८१, आइतबार

चौँतीस जिससमा कांग्रेस

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १७ गते । देशका ७७ जिल्लामध्ये ७६ जिल्ला समन्वय समितिको नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले ३४ जिससमा प्रमुख जितेको छ । नेकपा (एमाले) २० वटा जिल्लामा प्रमुख जितेको छ । बाजुराको बूढीगङ्गा नगरपालिकामा भने स्थानीय तहको पुनः निर्वाचन गर्नुपर्ने भएकाले जिससको निर्वाचन हुन सकेको छैन । 

नेकपा (माओवादी केन्द्र)ले १०, नेकपा (एकीकृत समाजवादी)ले छ र जनता सामाजवादी पार्टीले तीनवटा जिससमा जित हासिल गरेको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र एक/एक जिससमा प्रमुख जितेको जिल्ला समन्वय समिति महासङ्घ नेपालले जनाएको छ ।

महासङ्घका कार्यकारी महासचिव कृष्णचन्द्र न्यौपानेले बाजुराबाहेक सबै जिल्लामा जिससको निर्वाचन भएको बताउनुभयो । उहाँका अनुसार जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुखसहित बढीमा नौ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । जिल्ला समन्वय समितिको निर्वाचनका लागि जिल्लाभित्रका पालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने व्यवस्था छ । 

न्यौपानेका अनुसार निर्वाचनसँगै जिससलाई संविधान र कानुनले तोकिएको काम गर्ने बाटो खुलेको बताउनुभयो । संविधानले जिल्ला समन्वय समितिलाई सङ्घ, प्रदेश, स्थानीय तह र जिल्लाका अन्य विषयगत कार्यालयहरूसँग समन्वय, सन्तुलित विकासका लागि आवश्यक सहजीकरण, समन्वय र अनुगमन गरी मूल्याङ्कन गर्ने अधिकार प्रदान गरेको छ ।