• १३ साउन २०८१, आइतबार

यादव र भट्टराई अलग हुने सहमति

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १७ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच एउटै पार्टीमा नरहने सहमति भएको छ  । त्यसैअनुसार जसपा केन्द्रीय समितिको बैठक यही असार २७ र २८ गते वीरगञ्जमा आयोजना हुने भएको छ । 

दुई दिनसम्म सञ्चालन हुने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, गठबन्धनका विषय, सरकारमा दलको कार्यसम्पादन, प्रतिनिधि र प्रदेश सभा निर्वाचनको तयारी मुख्य कार्यसूची रहनेछ । अलग हुने सहमतिमा हुन लागेको यो बैठक महत्त्वपूर्ण  हुनेछ । 

जसपा नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य युवराज कार्कीले केही दिनयता दुवै नेताबीच भएको छलफलपछि अलग–अलग बाटोबाटै अघि बढ्ने सहमति बनेको जानकारी दिनुभयो । पार्टी एकताको तीन वर्षपछि यादव र भट्टराई पुनः अलग हुने अवस्थामा पुग्नुभएको हो । नेता कार्कीले एउटै पार्टीमा बसेर एक अर्कालाई हिलो छ्याप्नुभन्दा अलगभएर अघि बढ्ने सहमति भएको जानकारी दिनुभयो । भद्र सहमतिमै अलग हुने निष्कर्षमा दुवै जना पुग्नु भएको बताइएको छ ।   

अहिले जसपामा ३३ सदस्यीय कार्यकारिणी र राष्ट्रिय सभाबाहेक २१ सांसद, केन्द्रीय समिति ५०३ सदस्यीय छ । कार्यकारिणी समितिमा भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीका आठ जना नेता हुनुहुन्छ । बहुमत नेता तथा सांसदले यादवलाई साथ दिने सांसद मृगेन्द्रकुमार सिंह यादवले दाबी गर्नुभयो । उहाँका अनुसार अब जसपाबाट भट्टराई अलग भएमा पार्टीको नाम र चुनाव चिह्न भने यादवसँगै रहनेछ । भट्टराईले नयाँ पार्टी खोल्नुपर्नेछ ।

जसपा नेपालबाट महन्थ ठाकुर अलग्गिएर लोसपा गठन गरेको नौ महिनापछि जसपाबाट डा. भट्टराई पनि बहिर्गमनको पथमा देखिनुभएको छ । डा. भट्टराईको पक्षमा जाने सांसदलाई कुनै कारबाही नगरिने यादव पक्षका नेता सिंहले बताउनुभयो । 

अब केही महिना मात्र यो संसद्को कार्यकाल बाँकी रहेकाले को कता जाने भन्ने कुराले खासै अर्थ नराख्ने भएकाले भट्टराईसँग जाने सांसदको पद खारेज गर्न सभामुखलाई पत्र नलेख्ने सहमति भएको सिंहले बताउनुभयो । डा. भट्टराईको पक्षमा लाग्ने भनेर अहिलेसम्म कुनै पनि सांसद तथा जसपा नेताले सार्वजनिक रूपमा घोषणा भने गरेका छैनन् । यादवले नेतृत्व गरेको सङ्घीय समाजवादी फोरम र भट्टराईको नयाँ शक्ति पार्टीबीच २०७६ वैशाखमा एकता भएको थियो । एकतापछि सङ्घीय समाजवादी पार्टी बनेको थियो । सङ्घीय समाजवादी पार्टी र ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीबीच २०७७ वैशाखमा एकता भएर जसपा बनेको थियो ।