• १३ वैशाख २०८१, बिहिबार

‘फिर्ता भएका मन्त्री बैठकमा आएनन्’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १६  गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारबाट फिर्ता भएका अधिकांश मन्त्री पार्टीको बैठकमै नआएको बताउनुभएको छ । उहाँले सुरुमै पार्टीले मन्त्रीको नाम सिफारिस गर्दा छ महिनाका लागि मात्रै हो भनेर पठाए पनि मन्त्रीले समय सकिएपछि फिर्ता बोलाएको सुन्न नै नचाहेको बताउनुभयो । 

एकीकृत समाजवादी सुदूरपश्चिम समन्वय कमिटीले बुधबार आयोजना गरेको नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले फिर्ता बोलाएपछि प्रेम आलेबाहेक अरूले सार्वजनिक रूपमा छ महिनाका लागि मात्रै सरकारमा गएको भन्न नसकेको बताउनुभयो ।

उहाँले सरकारमा सहभागी भएका सबै मन्त्रीले आफूलाई छ महिनाका लागि मात्रै सरकारमा पठाएको हो भनेको सुन्न मन भएको बताउनुभयो । पार्टी अध्यक्ष नेपालले मन्त्रीबाट फिर्ता भएदेखि अधिकांश मन्त्री पार्टीको बैठकमा समेत सहभागी नभएको गुनासो गर्दै फिर्ता भएका मन्त्रीले आफू र नेताहरूसँग बोलचालसमेत नगरेको बताउनुभयो । 

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले पार्टीले गरेको निर्णय एक मिनेटमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री कुँवरले आफूलाई भोलि नै मन्त्रीबाट फिर्ता बोलायो भने आफू मन्त्रीबाट फिर्ता हुन तयार रहेको बताउनुभयो । उहाँले आफूलाई पार्टीले मन्त्री नै बनाएकाले जुन दिन फिर्ता बोलायो त्यसै दिन फिर्ता हुने बताउनुभयो । उहाँले आफू मन्त्री भएर पार्टीको शिर झुकाउने कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।