• १३ वैशाख २०८१, बिहिबार

सञ्चार क्षेत्रमा सुरक्षित कार्यस्थलका लागि निर्देशिका बन्दै

blog

मिडिया एड्भोकेसी ग्रुप (म्याग)द्वारा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की । तस्बिर : कविता थापा

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १६ गते । सञ्चार क्षेत्रको कार्यस्थल सुरक्षित बनाउनेबारे विज्ञहरूबीच छलफल भएको छ । मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले आयोजना गरेको ‘सञ्चार क्षेत्रका लागि सुरक्षित कार्यस्थल’ विषयक राष्ट्रिय गोष्ठीमा त्यसबारे छलफल भएको हो । छलफलका लागि नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष महेन्द्र विष्टले ‘सञ्चार क्षेत्रका लागि सुरक्षित कार्यस्थल’सम्बन्धी निर्देशिकाको अवधारणा प्रस्तुत गर्नुभएको थियो । उक्त निर्देशिकालाई अन्तिम रूप दिएर प्रेस काउन्सिल नेपालले लागू गर्ने जानकारी दिइएको छ ।

गोष्ठी उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार क्षेत्रमा सुरक्षित कार्यस्थलसम्बन्धी निर्देशिकालाई केवल दस्तावेज नबनाई कार्यान्वयन गरेर जान सुझाव दिनुभयो । उहाँले यो दस्तावेज पत्रकारलाई मात्र होइन, सबै नागरिकलाई उदाहरण हुने गरी कार्यान्वयन गरेर जानुपर्ने उल्लेख गर्नुभयो । उहाँले नेपाली पत्रकारितालाई दक्षिण एसियाकै नमुनाका रूपमा खुला, स्वतन्त्र र मर्यादित बनाउन आवश्यक रहेको पनि बताउनुभयो । 

सञ्चारमाध्यमको कार्यकक्ष, कार्यस्थल, समाचार सङ्कलन गर्ने ठाउँमा मात्र सुरक्षित नभई समग्र समाजलाई सुरक्षित बनाउने विषयमा छलफल गर्न उहाँले सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “सञ्चारकर्मी आफू अनुशासित, उत्तरदायी र पारदर्शी हुनसके आफू र समाजलाई पनि हिंसाबाट मुक्त गर्न सक्छौँ ।”मन्त्री कार्कीले विकसित तथा अविकसित देशका समस्या फरक खालका हुने प्रसङ्ग उल्लेख गर्दै सुन्दर देश नेपालको प्राकृतिक स्रोतसाधनको उपयोग गरी समाजप्रति उत्तरदायी नागरिक बनाउन सञ्चारमाध्यमको भूमिका अहं हुने पनि चर्चा गर्नुभयो । 

“नेपाल प्राकृतिक हिसाबले निकै सुन्दर देश हो, प्रकृतिले प्राकृतिक स्रोतसाधन दिएको छ,” मन्त्री कार्कीले थप्नुभयो, “प्राकृतिक सम्पदा प्रयोग गरेर दक्षिण एसियामा आगामी पुस्ता धनी बनाउन जरुरी छ, त्यस कार्यमा सबै लाग्न जरुरी छ ।”सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले कुनै पनि कार्यस्थल सुरक्षित बनाउन सरकारको दायित्व रहेको भए पनि सञ्चार क्षेत्र अरू कार्यस्थलभन्दा फरक र संवेदनशील भएको बताउनुभयो ।

पत्रकारको कार्यस्थल काम गर्ने ठाउँ मात्र नभएर समाचार सङ्कलनका साथै समाचारका स्रोतसम्म पनि पुग्नुपर्ने एक महìवपूर्ण स्थान भएकाले यसलाई फरक प्रकृतिको र संवेदनशील कार्यस्थलका रूपमा लिनुपर्ने धारणा उहाँले राख्नुभयो ।सञ्चार क्षेत्रका लागि सुरक्षित कार्यस्थलसम्बन्धी निर्देशिका कार्यान्वयन गर्ने काम प्रेस काउन्सिल नेपालको भएको र काउन्सिल पनि सरकारकै अङ्ग भएको सचिव डा. अर्यालले बताउनुभयो ।