• ११ असोज २०८२, शनिबार

संवाद संस्कृति : चौतारीदेखि डिजिटलसम्म

blog

संवाद केवल विचार आदानप्रदान होइन । यो समाज निर्माणको मेरुदण्ड हो । समाजमा संवादको अभ्यास व्यक्तिगत कुराकानीभन्दा बाहिर निस्केर सामाजिक चेतना निर्माणको आधार बन्छ । कुनै समय चौतारी, पाटीपौवा, फल्चा, मैरो, चिया पसल वा सार्वजनिक स्थल विचार र बहस जन्माउनुका साथै जीवन्त बनाउने थलो थिए । अहिले समय बदलिएको छ । हामी डिजिटल संसारमा संवाद, बहस र विचार निर्माण गरिरहेका छौँ । पहिले सार्वजनिक स्थलमा अहिलेको जस्तो ‘कन्टेन्ट’ बनाइदैनन्थ्यो न विचारहरू ‘सेल्फ ब्रान्डिङ’ को होडमा थुपारिन्थे । त्यहाँ सबैको आवाज समेटिएको हुन्थ्यो, गाली थिएन । मत हुन्थ्यो, विरोधको हिंसा थिएन । 

चौतारीदेखि फल्चासम्मको संवाद 

नेपाली संवाद संस्कृतिको उत्कृष्ट उदाहरण चौतारी नै हो, जो गाउँभरिका मानिस भेला भएर छलफल गर्ने, दुःख सुखका कुरा गर्ने र नाचगान अनि मनोरञ्जन गर्ने स्थान हो । छायादार वृक्ष पिपल, वर आदि लगाइएको र बस्नका लागि ढुङ्गा तथा इँटाको गारो लगाएर चौतारी बनाइएको हुन्छ । यो सार्वजनिक स्थल हो । नेपाली सामाजिक संरचनाको एउटा मौलिक र सार्वभौमिक उच्चतम अभ्यासका रूपमा चौतारीलाई लिइन्छ । यात्रा गर्दा प्रत्येक मोडमा एउटा चौतारी भेटिन्थ्यो । चौतारी केवल विश्रामको स्थान होइन, सामाजिक मुद्दा छलफल हुने ‘लोक नीति निर्माण केन्द्र’ थियो । कृषक, गोठाला, शिक्षक, घरमूली, वृद्धवृद्धा साँझपख चौतारीमा भेला हुन्थे । दिनभर खेतमा बिताएको अनुभव त्यहीँ साटिन्थे । विकासका योजनाको प्रभावकारितादेखि लिएर गाउँको कुलो मर्मत, स्कुलको अवस्था, चुनावको चर्चा, घरदेखि समुदायका समस्या सबै चौतारीमै छलफल हुन्थे । कहिलेकाहीँ त यही छलफलमा जनप्रतिनिधिको कामको समीक्षा र आलोचना पनि हुन्थे । यही चौतारीमा गाउँलेले नेता छान्ने वा बदल्ने विचारको बीजारोपणसमेत हुने गर्थे । यो संवाद बन्द (क्लोज्ड) होइन खुला (ओपन) थियो । यहाँ सार्वजनिक, सहभागितामूलक र सहिष्णु वातावरण हुन्थ्यो । यहाँ अहिलेको जस्तो ‘लाइभ स्ट्रिम’ थिएन तर ‘लाइभ अनुभूति’ थियो । त्यहाँ रेकर्ड हुँदैनथ्यो तर सम्झना बनेर सबै कुरा मानसपटलमा बस्थे । यहाँ ‘ह्यासट्याग ट्रेन्डिङ’ थिएन तर मौन साक्षीका रूपमा रुख, बाटो र बुढापाका थिए । चौतारीले नागरिकका आशा, पीडा, सरोकार र विचारलाई स्थान दिन्थ्यो । यसलाई आजको भाषामा ‘ग्रासरुट पब्लिक स्पेयर’ भन्न सकिन्छ ।

हिँड्दाहिँड्दै थकाइ लाग्यो भने एकैछिन बसेर सुस्ताउने ठाउँ हो, फल्चा । घामले पोल्यो, पानी प¥यो वा हावाहुरी चलेमा ओत लाग्ने ठाउँ हो, फल्चा । बुढापाकाको बसिबियाँलो गर्ने ठाउँ हो, फल्चा । सामाजिक विषयमा छलफल र निर्णय गर्दा भेला हुने ठाउँ हो, फल्चा । भजनकीर्तन गर्ने ठाउँ हो, फल्चा । एउटा पुस्ताबाट अर्को पुस्तामा संस्कृति हस्तान्तरण वा पुस्तान्तरण गर्ने ठाउँ हो, फल्चा । केही र कोही नहुनेको आश्रयस्थल पनि हो, फल्चा । यति धेरै प्रयोजनका लागि उपयुक्त फल्चा संस्कृतिले निकै ठुलो सामाजिक र सांस्कृतिक महìव बोकेको छ । नेवार समुदायमा फल्चा केवल विश्रामको स्थल होइन, संस्कृति संरक्षण र पुस्तान्तरणको महìवपूर्ण माध्यम पनि होे ।

जर्मनीका इतिहासकार, अनुसन्धानकर्ता र लेखक वुल्फग्याङ कोर्नले आफ्नो पुस्तक ‘दी ट्रेडिसनल आर्किटेक्चर अफ दी काठमान्डु भ्याली १९७६’ मा लिच्छविकालदेखि नै पाटीपौवा यात्रुहरूको विश्रामस्थल मात्र नभई ज्ञान, शिक्षा र सामुदायिक संवादको थलो भएको उल्लेख गरेका छन् । इतिहासकारका अनुसार पाटनका राजा योगनरेन्द्र मल्लले फल्चामा बसेर जनताको कुरा सुनेर निर्णय गर्ने चलन थियो भनेका छन् । उनले प्रयोग गर्ने मण्ड फल्चा (सोह्रखुट्टे पाटी) अहिले पनि पाटन दरबार क्षेत्रमा संरक्षण गरिएको छ । त्यही फल्चामा बसेर अहिले पनि रातो मत्स्येन्द्रनाथको रथयात्राको साइत निकाल्ने परम्परा जीवित छ । इतिहासविद्हरूले १६/१७ औँ शताब्दीदेखि फल्चा निर्माण हुने गरेको अनुमान गर्छन् । भक्तपुर सूर्यमढीको फल्चा नेपाल संवत् ७५१ मा विषमसिंह दर्शनधारीले बनाएको अभिलेख छ । काठमाडौँ, ललितपुर र भक्तपुरका सयौँ फल्चा अझै पनि सांस्कृतिक सम्पदाका रूपमा बाँकी छन् । 

यसै गरी पाटीपौवा वा धर्मशाला निर्माण नेपालको परोपकार परम्परा हो । लिच्छविकालदेखि नै बटुवा, गोठाला वा खेतालालाई घामपानीबाट जोगाउन, यात्रुलाई ओत दिन, धार्मिक यात्रुलाई बस्न सहज बनाउन पाटीपौवा निर्माण गरिन्थे । कतिपय ठाउँमा यिनै संरचनामा पाठशाला र पुस्तकालयसमेत सञ्चालन हुन्थे । चौतारी, फल्चा वा पाटीपौवा केवल संरचना थिएनन् । यी सामाजिक संवाद, शिक्षादीक्षा, संस्कृति र परोपकारका जीवित आधारशिला समेत हुन् ।

पिपलबोटदेखि चिया पसलको यात्रा

चौतारीभन्दा फरक तर त्यसको निरन्तरताका रूपमा सहरी जनजीवनमा संवादका वैकल्पिक थलोका रूपमा चिया पसल, पिपलबोट, पुस्तकालय विकसित भए । विशेषतः नयाँ सडकको पिपलबोट काठमाडौँको सहरी बौद्धिकता र जनचेतनाको केन्द्र बन्यो । पिपलबोटमा राजनीतिक विचार, कविता, समालोचना र राष्ट्रबोधको विमर्श हुन्थ्यो । नेपालमा जनताको सार्वजनिक उपस्थितिको पहिलो पुस्ताको सहरी संस्करण थियो, पिपलबोट । राणाकालीन नियन्त्रणपछि विचार आदानप्रदान थलो बनेको थियो, पिपलबोट । साहित्यकार, पत्रकार, नेता, कार्यकर्ता सबैका लागि यो खुला बहस र प्रस्तुतिको चौतारी थियो ।

पिपलबोट जस्तै अर्को चर्चित सार्वजनिक संवाद स्थल लक्ष्मी दिदीको चिया पसल पनि हो । जहाँ हरेक शनिबार कांग्रेस नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) कार्यकर्तासँग चिया खाँदै विचार आदानप्रदान गर्नुहुन्थ्यो । यो ठाउँ कुनै औपचारिक कार्यालय थिएन तर दलको नीति, सरकारको आलोचना र सामाजिक विषयमा विमर्श हुने सार्वजनिक संवादको थलो थियो । लक्ष्मी दिदीको चिया पसल एक उदाहरण मात्रै हो । सहर होस् वा गाउँमा खुलेका चिया पसल संवादका विन्दु बने । विशेषतः २०४६ सालपछि बहुदलीय व्यवस्था पुनस्र्थापनासँगै खुला राजनीतिक बहस पुनः चिया पसलमा फर्किएको थियो । ती चिया पसलमा चियासँगै सरकारका घोषणापत्र, प्राकृतिक विपत्तिका समाचार, अपराधका गुनासा र राजनीतिक दलको समीक्षा पिइन्थे । 

डिजिटल संवादको युग

समयसँगै यी थलामा हुने संवादका रूप फेरिन थाल्यो । समाजमा आउने परिवर्तनले अर्को शक्तिशाली युगको सङ्केत गरिरहेको छ, त्यो डिजिटल संवादको युग हो । डिजिटल व्रmान्तिले सञ्चारको स्वरूपमा आमूल परिवर्तन ल्याएको छ । सूचना प्रवाहको गति तीव्र भएको छ । चौतारीमा हुने प्रत्यक्ष बहस, टुटीमा हुने साझा चिन्ता, चिया पसलमा हुने आलोचनात्मक विमर्श यी सबै अब फेसबुक स्टेटस, ट्विटर, थ्रेड वा टिकटक भिडियोमा रूपान्तरित भएका छन् । पछिल्लो समय संवादको गुणस्तर गहिरिनुको सट्टा सतहमा अड्किएको छ ।

सन् १९८९ मा जुरगेन हाबरमासले आफ्नो प्रसिद्ध पुस्तक ‘दी स्ट्रक्चरल ट्रान्सफर्मेसन अफ दी पब्लिक स्पेयर’ मा ‘पब्लिक स्पेयर’ (सार्वजनिक क्षेत्र) को अवधारणा प्रतिपादन गरे । उनले दिएको ‘पब्लिक स्पेयर’ को अवधारणा समाजमा नागरिक एकापसमा स्वतन्त्र रूपमा छलफल गर्ने, विचार आदानप्रदान गर्ने र सार्वजनिक राय बनाउने खुला स्थानलाई जनाउँछ । १८ औँ शताब्दी युरोपमा कफी हाउस, साहित्यिक सलोन र पत्रपत्रिकाबाट यसको सुरुवात भएको मानिन्छ । यसले लोकतन्त्रलाई मजबुत बनाउँछ, राज्य वा बजारको दबाबबिनै मानिसले तर्क र प्रमाणका आधारमा बहस गर्ने अवसर पाउँछन् तर हाबरमासले भने झैँ पछि यो कमजोर हुँदै गयो । ठुला सञ्चार माध्यम, व्यावसायिक स्वार्थ र राजनीतिक हस्तक्षेपका कारण नागरिकको आलोचनात्मक बहसभन्दा बढी सूचना उपभोग र प्रचार प्रभाव बढ्यो । उनले देखाएको आदर्श ‘पब्लिक स्पेयर’ अझै पनि लोकतन्त्रका लागि महìवपूर्ण छ, जहाँ सबै नागरिकलाई पहुँच, सहभागिता र स्वतन्त्र अभिव्यक्तिको अवसर हुन्छ । नेपाली समाजमा चौतारी, फल्चा, पाटी, चिया पसल र पिपलबोट हाबरमासले भनेका सार्वजनिक क्षेत्र अर्थात् ‘पब्लिक स्पेयर’ को जीवन्त स्वरूप हुन् । 

यस्तै मार्सल म्याकलुहानले प्रतिपादन गरको ‘ग्लोबल भिलेज’ को अवधारणाले प्रविधिले संसारलाई एउटै गाउँ झैँ नजिक ल्याएको देखाउँछ । यो अवधारणाले डिजिटल संवादलाई चौतारी वा फल्चाको आधुनिक रूप भएको प्रमाणित गर्न सहयोग गर्छ । त्यस्तै म्यानुएल कास्टेल्सको ‘नेटवर्क सोसाइटी’ को विचारले संवाद अब नेटवर्कमार्फत सञ्चालित हुन्छ भन्ने देखाउँछ । फुकोको ‘डिस्कोर्स’ सिद्धान्तले शक्ति र संवादबिचको सम्बन्धलाई प्रस्ट्याउँछ, जसले सार्वजनिक राय र सत्य निर्माणमा कसको आवाज हाबी हुन्छ भन्ने प्रश्न उठाउँछ ।

आजको डिजिटल युगमा यो सार्वजनिक क्षेत्रमा सङ्कट उत्पन्न भएको छ । सामाजिक सञ्जालले एकातर्फ वाक स्वतन्त्रताको विस्तार ग‍¥यो तर अर्कोतर्फ उत्तरदायित्वको अभ्यास हराउँदै गएको छ । हिजो जसले चौतारीमा गहिरो स्वरमा गम्भीर विषय उठाउँथ्यो, आज उसले भाइरल हुन ‘कन्टेन्ट’ बनाउनु पर्छ भन्ने वातावरण सिर्जना गरेको छ । यो रूपान्तरणले सार्वजनिक संवादको उद्देश्यलाई नै प्रभावित बनाएको छ ।

डिजिटल संवादको सबैभन्दा गम्भीर चुनौतीका रूपमा ‘इको चम्बर’ देखिएको छ । अहिले डिजिटल स्पेसमा मानिस केवल आफ्नै सोचसँग मेल खाने विचार, सूचना र मत मात्रै सुन्छन् । सामाजिक सञ्जालको एल्गोरिदमले बारम्बार त्यही पोस्ट देखाउँछ जुन पहिले नै मन परेको हुन्छ । यसले फरक मत सुन्ने संस्कारलाई हराउँदै लगेको छ । फलस्वरूप लोकतान्त्रिक संवाद कमजोर भएर गएको छ । असहमति र आलोचनाको ठाउँमा ‘क्यान्सल’ र ‘ट्रोल’ को संस्कार बढ्दो छ । संवाद अब विचारको आदानप्रदान होइन ‘इको चम्बर’ को कारक बन्न थालेको छ । 

डिजिटल माध्यमको व्यापकता र सामाजिक सञ्जालको सर्वसुलभ पहुँचले नेपाली समाजमा संवादको परिभाषा परिवर्तन गरिदिएको छ । अब बहसको थलो चौतारी होइन, फेसबुक वाल होस् आलोचनाको मञ्च फल्चा होइन, फेसबुक वा टिकटक लाइभ हो तर यसले केवल प्रविधिको विकास मात्र होइन, सामाजिक मूल्य र चेतनामा पनि प्रश्न उब्जाएको छ ।

हिजो चौतारीमा हुने बहसले समाजमा हुने निर्णयमा योगदान पु‍-याउँथे । फल्चामा हुने विमर्शले शासनसत्तालाई प्रश्न गर्थे । नयाँ सडकको पिपलबोटमा हुने छलफलले नीति निर्माणलाई प्रभावित गर्थे तर आज भाइरल बन्ने प्रतिस्पर्धामा तथ्यभन्दा आक्रोश बाँड्ने काम भइरहेको छ । यस्तो अवस्थामा पत्रकारिता, शिक्षा र सरकारी नीतिगत पहल महìवपूर्ण हुन्छन् । पत्रकारिताले जिम्मेवार संवाद संस्कृतिलाई संरक्षण गर्नु पर्छ । शिक्षा प्रणालीले डिजिटल आचरणलाई समावेश गर्नु पर्छ । सरकारले चौतारी जस्तै डिजिटल चौतारी निर्माण गरी उत्तरदायित्वसहितको संवाद सुनिश्चित गर्नु पर्छ । नयाँ चौतारी भौतिक वा डिजिटल जुनसुकै होस् । त्यसमा संवेदना, मर्यादा, बहुलता र उत्तरदायित्वको जग बस्नु पर्छ । सार्वजनिक संवाद लोकतन्त्रको मेरुदण्ड हो । जब समाजमा संवाद हराउँछ नागरिक सहभागिता कमजोर हुन्छ । लोकतन्त्र ‘हल्लातन्त्र’ मा बदलिन्छ ।

हिजो हामीले चौतारीमा दिन बिताउँथ्यौँ, आज हामी स्व्रिmन अगाडि रात बिताउँछौँ । चौतारीले समाज जोडथ्यो । स्व्रिmनले आज समाज विभाजित गरिरहेको छ । बेला यही हो, हामीले इको चेम्बर तोडेर नयाँ चौतारीको परिकल्पना गर्ने । सामाजिक संवादको चौतारी डिजिटल होस् वा भौतिक त्यहाँ सामाजिक संवेदना, सांस्कृतिक निरन्तरता, बहुलता र उत्तरदायित्वको अभ्यास हुनु पर्छ । समाज तब मात्र समृद्ध हुन्छ, जब त्यहाँ संवाद हुन्छ र त्यो संवाद सुन्ने संस्कार पनि कायम हुनु पर्छ । साथै अब डिजिटल युगमा चौतारीको नयाँ रूप निर्माण गर्नु आवश्यक छ । सरकार वा स्थानीय तहले नागरिक बहसका लागि सुरक्षित डिजिटल प्लेटफर्म बनाउन सक्छन् । विद्यालय र विश्वविद्यालयमा ‘डिजिटल लिट्रेसी र ‘फ्याट चेकिङ’ को अभ्यास अनिवार्य गर्नु पर्छ । पत्रकारिता र नागरिक समाजले जिम्मेवार डिजिटल संवादलाई प्रोत्साहन गर्नु पर्छ । यसरी भौतिक चौतारी जस्तै डिजिटल चौतारी पनि संवेदना, बहुलता, मर्यादा र उत्तरदायित्वमा आधारित हुनु पर्छ ।