• ११ असोज २०८२, शनिबार

पालिका जोड्ने सडकमा असी करोड

blog

कर्णाली प्रदेश सरकारले निर्माण गरेको पालिका जोड्ने सडक ।

बुलबुले समाचारदाता

सुर्खेत, असोज ११ गते  । अझैसम्म पनि कर्णालीका केही स्थानीय तहको केन्द्रसम्म सडकको सहज पहुँच पुग्न सकेको छैन । पालिका आफ्नै पहलमा ट्र्याक खोलिए पनि स्तरोन्नति हुन नसक्दा नियमित सवारीसाधन सञ्चालन हुन सक्ने अवस्थामा नरहेको गुनासो भइरहेको छ । यही अवस्थालाई ध्यानमा राख्दै कर्णाली प्रदेश सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना अन्तर्गत स्थानीय तहको केन्द्र जोड्ने सडक निर्माणलाई जोड दिइएको छ । 

गत आर्थिक वर्षबाट कार्यान्वयनमा आएको कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिइएको हो । ट्र्याक खोलिएका र कालोपत्रे हुन नसकेका सडकलाई कर्णाली प्रदेश सरकारले स्तरोन्नति गर्दै छ । वीरेन्द्र नगरको चक्रपथसहित १० वटा सडक निर्माण गर्न लागिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता एवं सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीले बताउनुभयो । चालु आवमा सडक निर्माण गर्नका लागि ८० करोड ५० लाख बजेट विनियोजन गरिएको छ । यो वर्ष प्रदेशभर पालिका जोड्ने नौ सडकलाई प्राथमिकतामा राखिएको छ । जसमा डुङ्गेश्वर–डाँडापराजुल सडक, गल्फागाड–थाडाँकाटे–अदानचुली सडक, महावै गाउँपालिका कालीकोटको केन्द्र जोड्ने सडक, छार्काताङसोङ गाउँपालिका डोल्पाको केन्द्र जोड्ने सडक, लालीघाट–कोटवाडा–कुमालगाउँ सडक, तारापानी–सोरुकोट सडक, जुम्ला–खलङ्गा–लासी सडक, वडावन–सानाखोला सडक, गङ्गटे–आरन्टुडा–ढाँडखेत सडक स्तरोन्नति गर्न लागिएको हो । 

यसै वर्ष सुर्खेत रिङरोड सडक स्तरोन्नतिको कामलाई समेत अघि बढाउन लागिएको छ । सहज रूपमा सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले पालिका जोड्ने सडक प्राथमिकतामा राखिएको प्रदेश सरकारले जनाएको छ ।