• ११ असोज २०८२, शनिबार

सप्तरीमा एक महिला मृत फेला

blog

देवराम  यादव
सप्तरी, असोज ११ गते ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका १ स्थित खोला किनारमा एक महिला मृत फेला परेकी छन् ।  शुक्रबार घाँस काट्न जानुभएको स्थानीय अन्दाजी ५६ वर्षीया घुर्नीदेवी साह मृत फेला पर्नुभएको हो । चुरेबन नजिकैको खोलाको डिलमा घाँस काट्दै गरेको बेला बेहोस भई ढलेपछि साहको मृत्यु भएको स्थानीय रामी यादवले बताउनुभयो ।  

साहको शव देखेपछि स्थानीयले दिउँसो २ः३० बजे खबर गरेपछि घटना स्थलमा पुग्दा उहाँको मृत्यु भइसकेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घास काट्न जानुभएको साह अत्याधिक गर्मी सहन नसकी बेहोस भई ढल्दा मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनास्थलमा स्थानीय मुचुल्कासहितको कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायणसिह पठाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।