पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, असोज ११ गते । पश्चिम नवलपरासीमा जेनजी प्रदर्शनका आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेका १४ जना धरौटीमा रिहा भएका छन् । उनीहरुलाई आपराधिक उपद्रव (आगो लगाएको) मुद्दा दर्ता गरी जिल्ला अदालतको आदेशअनुसार छाडिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बर्दघाटका एक चिकित्सकसहित ११ जना र सुनवलका तीन जनाविरुद्ध मुद्दा दायर गरिएको हो । सबैलाई जनही ६० हजार रुपियाँ धरौटी बुझाएपछि आफन्तको जिम्मा (हाजिर जमानी)मा छाडिएको हो । प्रहरीले कानुनअनुसारको प्रक्रियामार्फत धरौटीमा रिहा गरिएको जनाएको छ ।
उनीहरुलाई प्रहरीले अदालतको म्याद थप गरेर हिरासतमा राख्दै अनुसन्धान गरिरहेको थियो । घटनामा संलग्न समूहले जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ भित्र रहेका नेताहरू र जनप्रतिनिधिका निजी सम्पत्तिमा सर्वाधिक आगजनी तथा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
मुलुकी अपराध संहिता २०७४ र फौजदारी कार्यविधि संहिता २०७४ अनुसार अनुसन्धानका क्रममा हिरासतमा रहेका व्यक्तिलाई धरौटी वा जमानीमा छाड्न सकिने प्रावधान छ । सोही आधारमा उनीहरुलाई छाडिएको हो ।
उनीहरुमाथि दर्ता भएको मुद्दा भने अदालतमै रहनेछ । ऐनअनुसार कसैको घर वा सम्पत्तिमा आगजनी वा विस्फोटक पदार्थ प्रयोग गरी उपद्रव गरे पाँच वर्षसम्म कैद र पचास हजार रुपियाँसम्म जरिवानाको सजाय हुने व्यवस्था छ ।