• ८ असोज २०८२, बुधबार

दक्षिण सुडानमा स्वास्थ्य अभियान सुरु, लाखौंलाई लाभ हुने अपेक्षा

blog

जुबा, दक्षिण सुडान, असोज ८ गते । दक्षिण सुडान सरकारले विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्र बाल कोषको सहकार्यमा चार दिन लामो स्वास्थ्य अभियान सुरु गरेको छ । यस अभियानले करिब दुई करोड एक लाख बालबालिका र एक करोड बीस हजार वयस्कलाई पोलियो र स्किष्टोसोमियासिस भन्ने  रोगबाट जोगाउने लक्ष्य राखेको छ ।

स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूले देशका ४० जिल्लामा घरघर पुगेर पाँच वर्ष मुनिका बालबालिकालाई खोप दिनेछन् । यसै गरी, विद्यालय जाने उमेरका बालबालिका र जोखिममा रहेका समुदायलाई स्किष्टोसोमियासिस रोगको रोकथामका लागि प्राजिक्वान्टेल नामको औषधि वितरण गरिने छ ।

स्वास्थ्य मन्त्री सराह क्लीटो रियलले भन्नुभयो,“हामी सबै अभिभावक र समुदायलाई आफ्ना बालबालिकालाई खोप लगाउन र अभियान सफल बनाउन पूर्णरूपमा सहभागी हुन आग्रह गर्छौं । यस अभियानले स्रोतको सदुपयोग गर्दै दुई वटा प्रमुख रोगलाई एकै पटक नियन्त्रण गर्ने अवसर प्रदान गरेको छ ।”

पोलियो भाइरसजन्य रोग हो जसले बालबालिकालाई पक्षाघात जस्ता गम्भीर समस्या निम्त्याउन सक्छ । दक्षिण सुडानका दुर्गम क्षेत्रमा खोप लगाउन कठिनाइका कारण पोलियोका सङ्क्रमण बढिरहेका छन् । स्किष्टोसोमियासिस भने पानीबाट सर्ने परजीवीजन्य रोग हो, जसले शरीरमा सङ्क्रमण गरी स्वास्थ्यमा गम्भीर असर पुर्‍याउँछ ।

स्वास्थ्य मन्त्रालयले यो अभियानले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउन र समुदायमा रोगको चेतना फैलाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ । यसले लामो समयसम्म रोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । दक्षिण सुडानमा स्वास्थ्य सेवा प्रणाली अझै कमजोर रहेको अवस्थामा यस किसिमका अभियानले जनस्वास्थ्यमा ठूलो सुधार ल्याउन सक्छन् । दुई रोगलाई एकसाथ लक्षित गरी गरिएको यस अभियानले समय र स्रोत दुवैको सदुपयोग गरेको स्वास्थ्य विज्ञले बताएका छन् । रासस/सिन्ह्वा