• ८ असोज २०८२, बुधबार

‘कांग्रेसमाथिको हमला सामान्य मान्न सकिन्न’

blog

छलफल गर्दै कांग्रेस नेताहरु ।

अविनाश चौधरी

धनगढी, असोज ७ गते । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशका नेताहरुले जेनजी आन्दोलनको क्रममा कांग्रेसमाथि भएको हमलालाई सामान्य मान्न नसकिने निष्कर्ष निकालेका छन् । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसमेत रहनु भएका कमलबहादुर शाहको संयोजनमा आज भएको छलफलमा उनीहरुले कांग्रेसको मनोबल गिराउने अभिप्रायले पार्टी सभापतिदेखि लिएर कांग्रेस नेता र पार्टी कार्यालयमा हमला गरिएको ठहर गरेका हुन । 

लोकतन्त्र र स्थायित्वलाई कमजोर पार्न खोज्ने शक्तिले हमला गरेको छलफलमा शाहले जिकिर गर्नुभयो । कांग्रेसको मनोबल गिराउने उद्देश्यले पार्टी सभापतिमाथि आक्रमण गरिएको उहाँको भनाइ छ । जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ डा. आरजु राणा देउवामाथि कुटपिट भएको थियो । 

यो आक्रमणको पछाडि कांग्रेसलाई कमजोर बनाउन खोज्दै आएको शक्तिको हात रहेको नेताहरुको भनाइ छ । उनीहरुले यस किसिमको अवस्थामा कांग्रेसको सुझबुझ एकता आवश्यक रहेको औंल्याएका छन् ।   

छलफलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट, नृपबहादुर वड, राष्ट्रिय सभा सदस्य नारायण मिश्र, नारायणदत्त भट्ट, कांग्रेस सुदूरपश्चिम प्रदेशका कार्यबाहक सभापति लोकराज अवस्थी लगायतको उपस्थिति थियो ।