• ८ असोज २०८२, बुधबार

दशैंलक्षित सुपथ मुल्यको पसल सञ्चालनमा

blog

दशैंको अवसरमा सञ्चालनमा ल्याइएको सुपथ मूल्यका पसल ।

स्मिता अर्जेल

मकवानपुरगढी, असोज ७ गते । मकवानपुर उद्योग वाणिज्य संघले दशैंलाई लक्षित गरी सुपथ तथा सस्तो मूल्यको खाद्यान्न पसल सञ्चालनमा ल्याएको छ । संघको आइतबार बसेको बैठकले असोज ७ गतेदेखि ११ गतेसम्म सो पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।  

संघले सुपथ बजारको मंगलबार उदघाटन गरेको छ । हेटौंडा –२ स्थित पल्पसा सदनको प्राङ्गणमा राखिएको सुपथ बजारमा १५ वटा स्टल राखिएको छ । जहाँ उपभोक्ताले दैनिक उपभोग्य सामग्रीहरू किन्न सक्ने छन् । स्टलमा चिनी, नुन, तेल, साबुन, सर्फ, चिउरा, फुरनदाना, दालमोठ, भुजिया, जिरा, धनियाँ, मसला, चियापत्ती, पिठोजस्ता आवश्यक सामग्रीहरू उपलब्ध छन् । 

संघका कार्यकारी निर्देशक सुजन सुवेदीका अनुसार, उपभोक्ताले बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म थोक (डिलर) मूल्यमै सामान खरिद गर्न सक्नेछन् । साथै, ११ गतेसम्मको कारोबार र मागको आधारमा बजारलाई थप केही दिनसम्म निरन्तरता दिने सम्भावना रहेको छ ।

दशैंको मुखमा हुने कालोबजारीलाई नियन्त्रण गर्न र उपभोक्तालाई सहज वातावरणको सिर्जना गर्ने उद्देश्यले सुपथ बजार सञ्चालनमा ल्याइएको संघका पदाधिकारीहरुको भनाइ छ ।  

अधिकृत बिक्रेता व्यवसायी संघ मकवानपुरको संयोजनमा सञ्चालन भएको यस बजारमा दुग्ध विकास संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनका सामग्रीहरू पनि बिक्री गरिनेछन् । संघले हालको विषम आर्थिक परिस्थितिमा उपभोक्तालाई राहत दिने  उद्देश्यले यो बजार सञ्चालन गर्न लागेको जनाएको छ ।